विचार

उँधो लागेको नेपालको संस्कृत शिक्षा : के लिएर अाउला क्यानडा गएको टोली?
SHARES

असार ३२, २०७५

    प्रसंग– १

    १५ वर्षअघि वाल्मीककि क्याम्पसमा उत्तरमध्यमा पढ्दैगर्दा काठमाडौंबाट प्रकाशित हुने चर्चित दैनिक पत्रिकामा पंक्तिकारको जीवनकै पहिलो लेख छापियो, संस्कृत र संस्कृत विश्वविद्यालयसम्बन्धी। 

    लेखको सार थियो, साउन २५ गते आदिवासी जनजातिले निकालेको र्‍यालीमा सहभागीले प्रदर्शनीमार्ग आइपुग्दा सडकको ढुंगा टिपेर वाल्मीकि विद्यापीठको बोर्डमा हाने, बाहुनहरूको भाषा पढाइ थलो भन्दै। उनीहरूमा यो किसिमको भ्रम रहनुमा हाम्रा संस्कृत विश्वविद्यालयमा पढाउने गुरुहरूकै कमजोरी त छैन, जसले विश्वविद्यालयलाई अध्ययन अनुसन्धानभन्दा जागिर, पुराणवाचन र राजनीति गर्ने मात्र थलो बनाए।

    त्यो दिन कक्षाबाट निस्कँlदै गर्दा मूलद्वारैमा सो लेखको चर्चा चलिरहेको रहेछ। जीवनमै पहिलोपटक राष्ट्रिय दैनिकमा छोटै भए पनि लेख छापिएर पुलकित बनेको म चाख मानेर सुन्दै थिएँ। थोरैले चिनेका थिए। विद्यापीठका एक गुरु भन्दै थिए, संस्कृतलाई जताततैबाट प्रहार भइरहेका बेला यसरी लेखिनु दुःखद हो।’

    प्रसंग–२

    त्यसै वर्ष होला सायद कुनै काम परेर प्राचार्यकक्षमा पुग्दा शास्त्री पढ्ने सानोसानो काँटीका एक विद्यार्थी कसैलाई तथानाम गाली गर्दैथिए। कोठामा थिए, प्राचार्य। पछि बुझियो, आफूआबद्ध संगठनले राखेको माग पूरा नगरेको भन्दै विद्यार्थी प्राचार्यमाथि खनिइरहेका रहेछन्। हुने नहुने कुरा भन्दा पनि चुप लागिरहेका थिए, प्राचार्य। ‘तिमी भारतको नदीकिनारमा बस्ने पण्डाभन्दा पनि गएगुज्रेका हौ’ भन्दा 'पीएचडी'धारी प्राचार्यवर निरीह भएर ‘हो म त्यही हो’ भन्दै थिए।

    संस्कृतका विद्यार्थी सभ्य हुन्छन्। गुरुलाई देवताझैँ मान्छन्। तिनको श्रद्धा गर्छन् भन्ने धारणा बनाएको पंक्तिकार र केही मित्रको मथिंगल नराम्रोसँग चक्करायो । महाभारतका पात्र एकलव्यलाई सम्झियौँ र ती विद्यार्थीको तुलना गर्यौँ। अनि झस्कियौँ, ओहो हामी विश्वको उत्कृष्ट दर्शन–संस्कृति पढाइ हुने मन्दिरमा पो छौँ। कारण जे भए पनि पछि बुझ्दा प्राचार्य अर्काे दलसँग आबद्ध थिए। शिष्यले गुरुसँग कुरा गरिरहेको थिएन, एउटा दलको कार्यकर्ताले अर्को दलको कार्यकर्तालाई थर्काइरहेको थियो। 

    संस्कृतका विद्यार्थी सभ्य हुन्छन्। गुरुलाई देवताझैँ मान्छन्। तिनको श्रद्धा गर्छन् भन्ने धारणा बनाएको पंक्तिकार र केही मित्रको मथिंगल नराम्रोसँग चक्करायो । महाभारतका पात्र एकलव्यलाई सम्झियौँ र ती विद्यार्थीको तुलना गर्यौँ। अनि झस्कियौँ, ओहो हामी विश्वको उत्कृष्ट दर्शन–संस्कृति पढाइ हुने मन्दिरमा पो छौँ। 

    सन्दर्भ उपकुलपतिको अपमान काण्ड

    अहिले चर्चामा रहेको संस्कृत विश्वविद्यालयका उपकुलपतिको अपमान काण्डसँग जोड्न पनि १५ वर्षअघिका यी दुई प्रसंग झिकिएको हो। क्यानडा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई एकाएक सरकारले झ्यानकुटी पार्दै प्रधानमन्त्री(जो विश्वविद्यालयका कुलपति हुन्) निवास पुर्‍यायो। बालुवाटारमा केहीबेर बन्दी बनायो। जब क्यानडा जाने टोली उड्यो तब छाडियो।

    राजनीतिमा लज्जा भन्ने विषय हुँदैन। अझ नेपालजस्तो मुलुकको सन्दर्भमा जे मन लाग्यो बोले हुन्छ पूरा गरिरहनुपर्दैन। पछि हाँसेर टारिदिए हुन्छ। नभए कुरैले जिते हुन्छ। जे मन लागे गरे हुन्छ जवाफदेही हुनुपर्दैन। कानुनले पनि छुँदैन। विश्वविद्यालयका उपकुलपति जस्तो मान्छेलाई विमानस्थलबाटै उठाउँदा जनमानसमा कस्तो असर पर्ला? विश्वसमुदायले के भन्ला सोच्न आवश्यक ठानेन सरकारले। रोक्नैपरे पनि सभ्य तरिका खोज्न सकिन्थ्यो होला।

    उपकुलपति कसको ?

    उपकुलपतिको भ्रमण रद्द भएपछि र उनलाई प्रहरी लगाएर प्रधानमन्त्री निवास पुर्‍याइएको घटना राम्रो होइन त्यो भनिरहनै पर्दैन। तर यस्तो विषयमा पनि पक्ष र विपक्षमा बहस भइरहेका छन्। कोइरालाले विभिन्न सञ्चार माध्यममा आफूले पहिलेको चलनअनुसार नै कुलपतिलाई जानकारी गराएको अभिव्यक्ति दिए तर शिक्षा मन्त्रालयले विज्ञप्ति निकालेर उपकुलपतिले भ्रमणका लागि जानकारी नै नगराएको दाबी गर्‍यो।

    प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध जनाइरहेको छ। संसदमा युवानेता गगन थापादेखि प्रदीप गिरिसम्मले आपत्ति जनाए। कांग्रेसनिकट विद्यार्थी, शिक्षक र प्राध्यापक संघहरूले पनि विभिन्न कार्यक्रम र सञ्चारमाध्यमबाट यो कार्यको भर्त्सना गरे। यदि उपकुलपति प्रकरण गलत हो भने किन प्रतिपक्षले संसद् र सडक तताउने माध्यम बनायो? सत्तापक्षकाले किन बोलेनन्।

    यता गत बिहीबार नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले संस्कृत विश्वविद्यालयका उपकुलपतिको भ्रमण स्थगन न्यायपूर्ण रहेको बताए। नियुक्ति भएदेखि नै उपकुलपति कोइरालाले विश्वविद्यालयको ऐन नियमविपरीत काम गर्दै आएको भन्दै उनीमाथि छानविनको समेत माग गरे। 

    यतिसम्म कि संस्कृत विश्वविद्यालयकै शिक्षाध्यक्ष प्रा.रमेशप्रसाद ढकालले कोइरालालाई ‘कुलपतिसँग भेटेर क्यानडामा हुने विश्व संस्कृत सम्मेलनका बारेमा जानकारी दिनुहोस्’ भन्दा नमानेको आरोप लगाए। १८ जनामा ६ जनाको मात्रै भिसा आएको र त्यसमा उपकुलपतिको भिसा रद्द भएकाले अनुरोधपछि दोस्रोपटक उनको भिसा आएको उनले बताए दिए। 

    दोषी को?

    संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई यो गतिमा पुर्‍याउनमा दोषी को? राजनीतिक नेतृत्व कि संस्कृतका गुरुवर्ग? राजतन्त्र रहँदा राजा विश्वविद्यालयको कुलपति रहने व्यवस्था थियो । यसैलाई नक्कल गर्दै गणतन्त्रपछि प्रधानमन्त्री कुलपति रहने व्यवस्था गरियो। उच्च शिक्षा तह पढ्दै नपढे पनि प्रधानमन्त्री उपकुलपतिभन्दा माथि हुने भए। यो त भयो राज्यले गरेको व्यवस्था। 

    ऋषिहरूको आदर्श बोकेर हिँड्नुपर्ने संस्कृत विश्वविद्यालयका आचार्य, प्राचार्य र उपकुलपति राजनीतिक दलका झोला बोक्ने बनेकैले यो अवस्था आएको हो। सुन्दा पनि हाँसो लाग्ने, संस्कृतका प्राध्यापक अमुक दलको फलानो नेताको मान्छे। दलको झोला बोकेर दगुर्नेे। कसैको सत्ता जोगाइदिन मतियार भएर हिँड्ने। त्यसमा गर्व गर्ने। नेतालाई खुशी पारेरै पद हासिल गर्ने। अनि कसरी कायम रहोस् गुरुको गरिमा? अनि कसरी टेरुन्, विद्यार्थी–कर्मचारीले। हरे पूर्वीय दर्शनको अधोगति!

    संस्कृत जोगाउन यसका मूल्य मान्यता कामय राख्न एक भएर लाग्नुपर्ने गुरुहरू एकअर्काकै दुश्मन। दलहरूको भागबण्डामा उपकुलपति छान्नुपर्ने अवस्था। अमुक दलको कार्यकर्ता भएपछि मातहतका अरु दलका प्राध्यापक विद्यार्थीको हित हुने काम किन गर्ने? त्यसो भएपछि अरु दलका प्राध्यापक विद्यार्थीले किन मान्ने? सुन्नुभएकै होला, संस्कृत विश्वविद्यालय र आंगिक क्याम्पसहरूमा बेलाबेला ताला लागिरहन्छन्, तर संस्कृतको उत्थानका लागि होइन–तिनै दलका कार्यकर्ताबीचको स्वार्थ बाझिनपुग्दा।

    निरीह कि लालची हामी?

    भारतमा संस्कृतका धेरै विश्वविद्यालय छन् संस्कृतको विकासका लागि त्यहाँ प्राज्ञिक बहस हुन्छन्। अनुसन्धान गरिन्छन्। पुस्तकहरू लेखिन्छन्। उदेकलाग्दो कुरा, नेपालमा रहेको एक विश्वविद्यालय र अा‌ंगिक क्याम्पसमा पढाइ हने पुस्तकहरू भारतबाटै आउँछन्। यहाँका संस्कृत प्राध्यापक तथा पीएचडीधारीहरू राजनीति गर्छन्, अनुसन्धान गर्दैनन्। किताब लेख्दैनन्। संस्कृत विश्वविद्यालयमा अन्य भाषामा पनि 'पीएचडी' गर्न पाइन्छ। 
     
    विश्वविद्यालयमा शास्त्री, पास गरेका जापान र कोरियामा। पढाइको स्तर नभएको कि रोजगार दिन नसकेको हामीले? संस्कृतका प्राध्यापक गुरुहरूले संस्कृत पढाएर आफ्ना छोराछोरी बिगार्न नचाहने। शिष्यहरूले त महत्त्व बुझेनन् वा बाध्यतामा परे, गुरुहरू नै यहाँ सम्मान पाएर बस्नुभन्दा बरु पश्चिमा मुलुकको जुठोपुरो खाएर बस्न पाए उचित हुने भन्दै ‘विदेश जाने प्रोसेस’ मा व्यस्त रहने। नाम लिनुपरेन, विद्यापीठ र विश्वविद्यालयको सरकारी जागिर छाडेर अमेरिकामा भाँडा माझ्न जानेहरूले सामाजिक सञ्जालमा चर्तिकला देखाइरहेकै हुन्छन्। 

    अझै पनि खुट्टा उचालिरहेका थुप्रै पाइन्छन्। अचम्म लाग्छ तिनले के पढे होलान् संस्कृत? आफ्नो जातित्वको गर्व नहुने, संस्कृतिको गर्व नहुने, देश र आमाबाबुप्रतिको कर्तव्य बोध नहुने। गुरुकुलदेखि संस्कृत पढेको सार– जीवनको सबैभन्दा ठूलो लक्ष्य मोजमस्ती गर्नु। आरामदायी जीवन बिताउनु। बस् यति।

    ठूला तपस्वी ऋषिमुनिको जन्म अनि कर्मस्थल। वेद–पुराण आदि रचना भएको स्थान। तर उनैका सन्तान हामी अब संस्कृत सिक्न, पढ्न जर्मनी, अमेरिका र क्यानडा जानुपर्ने कस्तो अवस्था आयो। संस्कृत सम्मेलन पश्चिमा देशले आयोजना हुने। यहाँका विद्वान् गएर सिकेर उनीहरूले भनेबमोजिम यहाँ लागु हुनुपर्ने, धिक्कार हामीहरूलाई।

    तर उनैका सन्तान हामी अब संस्कृत सिक्न, पढ्न जर्मनी, अमेरिका र क्यानडा जानुपर्ने कस्तो अवस्था आयो। संस्कृत सम्मेलन पश्चिमा देशले आयोजना हुने। यहाँका विद्वान् गएर सिकेर उनीहरूले भनेबमोजिम यहाँ लागु हुनुपर्ने, धिक्कार हामीहरूलाई।

    विद्यार्थीलाई झुक्याएर निजी कलेजमा

    प्राइभेट कम्पनीमा काम गर्ने हामीजस्ता श्रमजीवीले कुनै ठाउँमा पार्ट टाइम काम गर्नपाउँदैनौँ। गरे पनि समय मिलाएर 'होल टाइम' गरिरहेको ठाउँमा थाहा नहुनेगरी, उसकाे काममा असर नपर्नेगरी गर्छौँ। तर संस्कृत विश्वविद्यालयका प्राध्यापक, पदाधिकारी निजी कलेजको व्यवस्थापन समितिमा पनि रहेको, शिक्षक भएको सगर्व विज्ञापन गर्छन्, सरकारी सञ्चारमाध्यममै। विद्यार्थीलाई 'यहाँ पढ्न आऊ' भनेर विज्ञापन गर्छन्। संस्कृतका विद्यार्थीको कक्षा छलेर निजीमा पैसा कमाउन दौडिन्छन्। विद्यार्थीका पढाइ बिगारे पुराणवाचन र जजमानकहाँ धाउनेको संख्या पनि उल्लेख्य छ।

    कुनै न कुनै दलको झण्डा बोकेका कारण यिनलाई मुलुकको कानुनले समाउन सक्दैन।  भौतिक कानुनले नसमाए पनि अधर्मको सजाय कुन नरकमा गएर भोग्ने होलान् यिनले? 

    यस्तो पनि खुलासा 

    नेपाल संस्कृत विश्वविद्यालय उच्च उपकुलपति क्यानडा जाँदाजाँदै रोकिनुमा वा उनी अघोषित पक्राउ पर्नुमा भागबण्डा प्रमुख कारण थियो। भागबण्डा अर्थात् क्यानडा जानका लागि दलीय कोटामा विवाद। क्यानडा भ्रमणका लागि सरकारले १० लाख दिएको थियो। पहिले १८ जनाको टोली जाने तय भएको थियो। त्यसबेला उपकुलपतिकै लागि कोटा आएको थिएन। संख्या घट्यो। उपकुलपतिको कोटा आयो।

    स्रोतका अनुसार क्यानडा शयर गर्न चाहने आकांक्षी धेरै थिए । कोहीले त श्रीमती र भाइलाई समेत लैजान बल गरेका थिए। सत्तापक्ष एउटै भए पनि सुविधा लिनका लागि दुई दल बनेर खडा भए। उपकुलपति आबद्ध प्रतिपक्षी दलको स्वार्थ हुने नै भइहाल्यो। उनी किन मान्थे। बहुमतको उन्माद नेताहरूलाई भन्दा कार्यकर्तालाई चढेको छ अचेल। के निहुँ पाऊँ भनेजस्तो भएको! सम्बन्धित निकायमा उजुर गरिदिए। परिणाम जगजाहेरै छ।

    अन्त्यमा,

    'उत्तरमध्यमा हटिसकेको, ११\१२ को पाठ्यक्रम नबनिसकेको अवस्थामा माध्यमिक शिक्षा परीक्षा (एसईई) पार गरेका विद्याश्रमका (संस्कृत मात्र पढ्ने)  विद्यार्थी अन्योलमा छन्। विश्वविद्यालयका पुस्तकालयमा पुस्तक अभावलगायत ब्रगेल्ती समस्या छन्', वाल्मीकि विद्यापीठ काठमाडौंमा प्राध्यापनरत एक गुरुले भने, 'यत्रो रुपैयाँ खर्चेर टोली नै किन जानुपर्थ्यो क्यानडा? जानैपरे एक जनाले प्रतिनिधित्व गरेको भए पनि हुन्थ्यो।' 

    क्यानडाबाट आउने टोलीले नेपालमा संस्कृत भाषाको विकासका लागि के लिएर आउने हुन्, संस्कृत अनुरागीहरू प्रतीक्षामा छन्।   

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]