|

एक विदेशी नारीले पारिजातलाई भेट्न खोजिन्,  जसको चासो योगमायाका हजुरवाणीलाई बुझ्न दोभाषेको काम गरिदिन अनुरोध गर्नु थियो, ती थिइन बारबरा मिरिक। विदेशी महिला  थिइन् उनी। पारिजातलाई तत्कालीन पंचायती शासकको निगरानी थियो साथै अस्वस्थ पनि थिइन्।

योगमायाका १०२ वटा हजुरवाणी पारिजातलाई  बुझाएकी थिइन्। आफू नेपाली भाषा नबुझ्ने हुनाले सहयोगका लागि पारिजातका पुगेकी थिइन्। यही पारिजातले चाहेको भए योगमायासम्बन्धी हजुरवाणी धेरै पहिले नै प्रकाशित भइसक्थ्यो। लेखिकाले यानिकी उपन्यासकारले आफ्ना भावनालाई भन्दा अनुसन्धानात्मक रूपमा स्थानीयस्तरमै पुगेर पहाड, खोलानाला, तराईका भाग आफैँ भ्रमण गरी व्यक्तिविशेषसँग अन्तर्वार्ता लिइएको पुस्तकमा उल्लेखित पात्रका सन्तानलाई भरेको डकुमेन्ट्री हजुरवाणीका लिपिहरूले पुष्टि गर्छन्।

योगमायालाई जैसिनी भन्ने आरोप लागेको तर पुस्तक वाचन पढ्दै जाँदा उनी जैसिनी होइनन् भन्न सकिन्छ। विधवाले व्राह्मणसँग विवाह गरेमा जैसिनी हुन्छ भन्ने प्रथा थियो र छ पनि।

बालविवाह प्रताडित, घरेलु हिंसाबाट १४ वर्षकी अबोध बालिका श्रीमान र सासूबाट शोषित र पीडित भएर रातीहुँदो घर छोडेर भागी माइतीको शरणमा हिँड्छिन्। अति नै जातभात विभेद जस्ता कुराले जकडेको समाज थियो त्यो। माइतीको शरणमा आएकी छोरीलाई उल्टै दुत्कारेर 'अरुणमा फालहालेर मरेकी भए हुन्थ्यो' भनियो तर सहयोग पाइनन्। दु:खको कुरा यस देशको इतिहासमा यस्तै महत्त्वपूर्ण कुराहरू पोखराले सेती लुकाएको जस्तै लुकाइदिएको छ।

अहिले उनै योगमायाबारे उपन्यास आएको छ- योगमाया। नीलम कार्की निहारिकाले लेखेको उक्त उपन्यासबारे केही कुरा उल्खेख गरिएको छ यस लेखमा।

उपन्यासकी मुख्य पात्र ठूलीहजुरको कथा गंगाबाट सुरु हुन्छ,  आसाम पुगेकी दिदीले दु:ख पाएको र दोस्रो विवाहबाट एक छोरी भई विधवामा परिणत भएको खबर आउँछ। भाइबुहारीले श्रीमानलाई करकापले भारतको आसाम पठाउँछिन् तर उनी दिदी ल्याएर कसरी राख्ने होला भन्ने चिन्तामा डुब्छिन्। उही आफन्त, टोल छिमेकी, जातभात इत्यादि। लामो समयको पर्खाइमा दिदी लिएर आइपुग्छन्। सबैमा कौतूहल जागेको पाइन्छ तर भाइबुहारी गंगालाई प्रश्नको वर्षा हुन थाल्छ। जैसिनीलाई ल्याएर समाजलाई भाँडभैलो गर्ने भए भन्ने आरोप लाग्छ। महिलालाई पर्दा जति वर्ष भए पनि आपद र सहनै नसक्ने हालतमा पुगेपछि माइती सम्झनु र माइतीले आश्रय दिनु यो सामाजिक मान्यतालाई प्रश्रय दिएको पाइन्छ। अहिलेका सन्ततिलाई गाउँले जीवन शैलीबारे यस पुस्तकले धेरै ज्ञान प्रदान गरेको छ। जस्तो रिठ्ठोले लुगा धुँदा धेरै सफा हुने, खरानी र पानीमा लुगा पकाएर मैलो सफा गर्ने, रोटी घरमा ढिकिमै कुटेको पिठो मात्र हुने इत्यादिबारे जानकारी पनि छ।

ठूलीहजुरको जीवन आफ्नै किसिमको थियो। भजनहरू आफैँ रचेर गाउने, कसले के भन्छ भन्ने कुराको पर्वाह नगर्ने। यो कुरा उनको भाइलाई चित्त नबुझेको पाइन्छ। कतिपय सन्दर्भमा महिलाको व्यथा महिलाले बुझ्नुका साथै चासो पनि उनीहरूलाई लाग्ने हुँदा आमाजूबुहारी (गंगा) आमाजुको विगत दिनका बारेमा कोट्याएर सोधीखोजी गरी योगमायाको कथा पाठकलाई पस्किने पात्रको रूपमा परिचित भएकी छन्। कतिसम्म हन्डर खाने र त्यसलाई सुल्झाउँदै जाँदाजाँदै एउटी संघर्षशील योद्धाको रूपमा अब जीवनलाई आफैँ मात्र नभई समग्र गाउँ बस्तीमा परिवर्तनका लागि लागिपर्ने अठोट योगमायामा जागेर आउँछ। तर यहाँनिर योगमाया विद्रोही हुँदाहुँदै पनि फेरि आफ्नी छोरीलाई बालविवाह गरिदिन्छिन्, त्यो पनि जैसी भएका कारण विधुर, छोराछोरीको बाबुसँग अनि छोरी सानै उमेरमा विधवाको सेतो धोतीमा इच्छा नभए पनि अपनाउन बाध्य हुन्छिन्।

छोरी जातिले घर छोडेर हिँडेमा बात लगाउने चलन २१औँ शताब्दीमा पनि अझै चलिरहेको छ। छोरी मरे मरोस् तर घर छोडेर माइत बस्न हुँदै हुँदैन भनी बाबुले भनेको हृदयविदारक नै छ। एक्लै परेकी माया (योगमाया)ले बल्ल जीवनसाथी पाउँछिन्। उसबाट छोरीको जन्म हुन्छ, जसको नाम चन्द्रकला हुन्छ। यसरी हुँदै उनको धर्म, कर्म र मानिसको बाँच्न पाउने अधिकार, राणशासनविरुद्धको आवाज, बँधुवा मजदुर, साहुको ऋणमा पुस्तौँ पुस्ता हली बन्नुपर्ने इत्यादिविरुद्ध धर्म र योगलाई जीवन दिन थल्छिन्।

लेखिका आफू पनि स्वास्थ्यकर्मी भएकाले यस विधामा कलम चलाउन चुकेकी छैनन्। पूर्वमा माहामारीको रूपमा फैलिएको बिकराल प्रकोपलाई स्वास्थ्यकर्मीको रूपमा पनि मायालाई प्रस्तुत गरेकी छन्। यसबाट आफ्ना भदै र भदा यानिकी गंगाले विवाह गरेर पठाएकी छोरी र आफ्ना काखमा भएको छोरा गिरी पनि गुमाउँछिन्। कर्मकाण्ड गरेर कमाइ खाने ब्राह्मणहरू विरुद्ध जेहाद छेडिन्, पण्डितलाई गरुडे भनी नाम पनि दिइन्। सबै पण्डितहरू र साहु महाजन उनीविरुद्ध उत्रिएर उनलाई गाउँ निकाला गर्न खोजे तर दिन प्रतिदिन उनको भजन प्रभुवाणी, हजुरवाणी सुन्नेहरूको घुइँचो आँगनमा बढ्न थल्यो र माइतीघरलाई छोडी कुटीको निर्माण गरी बारीको पाटामा बस्न थलिन्। भाइबुहारीको साथ अन्तिमसम्म छुटेन।

राजनीतिक आन्दोलन, राणाशासकका बडाहाकिमहरूको अवरोध, ब्राह्मणको जन्मकैदमा ब्राह्मण हुने, दलित जन्मेको अछुत, छुत अछुत सबै एउटै भन्छामा खान थाले, जुन कुरा गाउँलेहरू र आफन्तमा अपाच्य भएको देखिन्छ।

बिस्तारै टाढा टाढाबाट के महिला, के पुरुष, साँझको भजनमा जम्मा हुन थाले। कुटी पनि बढ्न थाल्यो। अहिले पनि उनले एक महिनासम्म गुप्तबास बसी ध्यान गरेको कृष्ण मन्दिर भोजपुरमा रहेको उनका वाणीहरू कण्ठ भएका भक्त्तिनीहरू छन् भन्ने कुरा लेखिकाले पुस्तक लेख्ने दौरानमा स्थानीयस्तरमानै पुगेर गरेको श्रव्यदृश्यबाट प्रमाणित हुन्छ। उनको पहिलो विवाहका बारेमा पनि खोज गरी कोइरालाकी बुहारी भएको प्रमाणित गरेकी छन्। उनका सौतापट्टिको नातीसम्म भेटेर कुराकानी गरेको पनि उक्त डकुमेन्ट्रीमा राखिएको छ। महिनौँ दिन लगाएर तीर्थ गर्न जाने चलन पनि उल्लेख छ। मुक्तिनाथ, मनकामना, हरिद्वार, वनारस इत्यादि स्थानमा जाने गरेको उल्लेख छ। उनलाई महिलाहरू मात्र नभई पुरुषहरूको पनि साथ प्राप्त भएको पाइन्छ, जस्तो: पण्डित प्रेमनारायण।

वि. सं. १९९० को महाभूकम्पको आपदविपदको पनि उल्लेख गरिएको छ यसमा। राजनीतिक आन्दोलन, राणाशासकका बडाहाकिमहरूको अवरोध, ब्राह्मणको जन्मकैदमा ब्राह्मण हुने, दलित जन्मेको अछुत, छुत अछुत सबै एउटै भन्छामा खान थाले, जुन कुरा गाउँलेहरू र आफन्तमा अपाच्य भएको देखिन्छ।

मलाई मनपरेको हजुरवाणी यहाँ उल्लेख गर्न चाहन्छु। ब्रह्म चिन्ने ब्राह्मण भनी उत्तर गराए ब्राह्मणहरूले सत्य छाड्दा देव डराए! सँगै लैंगिक विभेदको आन्दोलन पनि थाहा नपाउने किसिमले त्यसैमा समावेश हुन गयो। श्राध्द गर्दा पितृ तर्छन् भन्ने भनाइलाई त्यतिखेर नै उनले अन्धविश्वास हो भनी गरूड पुराणमा दान नगरे पितृ तर्दैनन् भनी भन्नु पुरोहितलाई पोस्नु हो भनेकी छन्। तर सय वर्ष अगाडि विद्रोह गरेको भए तापनि अझ पनि ती कुरीतिबाट समाजले मुक्ति पाएको छैन। जस्तोसुकै मै हुँ भन्ने विद्वानका घरमा पनि कोही देहावसान भएमा तेस्रो दिनदेखि गरुड पुराण भन्ने चलन छ। अरूले के भन्लान् भनेर लोकलाजका लागी पनि गर्ने चलन छ। सामाजिक कुरीतिबाट आज वैज्ञानिक युगमा पनि समाज मुक्त हुन सकेको छैन।

कमारा कमारी राख्ने चलनको अन्त्य पनि ठूलीहजुरले नै यानिकी योगमायाबाट नै भएको यस पुस्तकमा उल्लेख छ। त्यो बेला सामाजिक कुरीतिविरुध्द उठेको आवाज (वि. सं. १९८६)लाई कानुनी रूपमा स्थापना गर्न र बनाउन पनि उनको ठूलो देन छ। छुवाछुत, ठूलोसानो जातपात, चक्रवृत्ति ब्याजबाट गरिव घरबारविहीन हुन पुगेको अवस्था, ठूला जातमा पनि जनाना र मर्यानानाबीचको लैंगिक विभेद, सबैले वेद पढ्न पाउनुपर्ने, वेदमा भएका ज्ञानका कुराहरू सबै जात वर्गले बुझ्ने अधिकार भएको इत्यादि उल्लेख छ।

परिवर्तनका लागि गरिएका प्रयासलाई कानुनी मान्यता प्राप्त गर्न राणा सरकारमा पुर्‍याउने र उपत्यकाका नागरिकमा जनचेतना फैलाउन उनको प्रयास भएको पाइएको र पछि सरकारलाई नीतिगत नियम बनाउनका लागि दबाबमूलक आन्दोलन स्वरूप आफैँ ठूलो समूहमा आई पशुपतिनाथमा भएको बज्रघरमा बसी राणा सरकारमा विन्तीपत्र बुझाउने हिम्मत पनि उनैमा थियो। ठूलीहजुरका वाणीमध्ये यो अहिलेको २१औँ शताब्दीमा पनि उत्तिकै सान्दर्भिक प्रचार प्रसारको शैली पनि हो।

माहाराज छन्, दरबार हेर्न आउँदैनन्

दु:खीजनले निजी इन्साफ सिधा पाउँदैनन्,

जागिरबाट लोभी नियाँ हेर्दैनन्,

मर्नुपर्ने शरीर हो विचार गर्दैनन्।

राजनीति पनि राम्रो र सभ्य तरिकाले गर्न सकिन्छ भन्ने सन्देश दिएकी छन् उनले। विरोधीलाई आफ्नो बनाउन पनि सकिन्छ र सक्नुपर्छ भन्ने सन्देश पनि छ। धर्मराज्य स्थापनामा कस्सिएकी ठूलीहजुर मर्न पनि तयार थिइन्। राणाविरूध्दको प्रजातान्त्रिक आन्दोलनको विगुल चारैतिर फैलिन थालिसकेको ठूलीहजुरले उल्लेख गरेको पाइन्छ। गान्धीको सत्याग्रहमा भाग लिएका र अरू जागरुक युवाहरू मिलेर एकजुट भई काम गरेका, काठमाडौंमा महावीर स्कुल पनि खोलेका, फेरि अर्को विन्तीपत्र पनि बुझाउने आँट गरेको पाइएको छ।

साथै शुक्रराज शास्त्रीले ईन्द्रचोकमा कथा वाचनको माध्यमबाट जनचेतना फैलाउने काम गरेको, अन्तिम चेतावनी राणा शासकलाई दिने हिम्मत गर्दै 'साग सिस्नु पिठोफाक, मुठीऔ लातवात, जो जेजे दिनुपर्दछ मनोइच्छा भीक्षा नि यही कार्तिक पूर्णिमाका दिनसम्म दिनू!'

लड्दा लड्दा थाकेर आफ्ना माग पूरा गराउन सबै जनालाई जम्मा गराई के पुरुष, के महिला, कुन जात, कुन वर्ग नभनी सबै एकैचोटि अग्निमा आहुति दिने निश्चित गरी पत्र पठएका पाइन्छ। यहाँ उनको शक्तिको प्रशंसा नगरी हुँदैन जीवनदान दिएर पनि समाजलाई स्वतन्त्र बनाउने इच्छामा सबै एकजुट हुन्छन्।

यही सन्दर्भमा पुस्तकमा उल्लेख गरेअनुसार  काठमाडौंमा महिला आन्दोलनको बीजारोपण स्व. श्री मंगलादेवीबाट हुँदै छ भन्ने कुरा पनि पाहाड, तराईतिर फैलिँदै थियो। योगमाया बेलाबखत पहाडबाट तराई मोरङतिर झरेर कोइराला परिवारसँग भेटघाट गरेको पनि अपुष्ट रूपमा उल्लेख गरिएको छ। हुनत उनी आफैँ पहिला त कोइरालासँग नै विवाह बन्धनमा गाँसिएकी थिइन्। उक्त कुरा लेखिका या उपन्यासकारले लिएको स्थलगत अन्तर्वार्ताबाट पनि पुष्टि हुन्छ। लड्दा लड्दा थाकेर आफ्ना माग पूरा गराउन सबै जनालाई जम्मा गराई के पुरुष, के महिला, कुन जात, कुन वर्ग नभनी सबै एकैचोटि अग्निमा आहुति दिने निश्चित गरी पत्र पठएका पाइन्छ। यहाँ उनको शक्तिको प्रशंसा नगरी हुँदैन जीवनदान दिएर पनि समाजलाई स्वतन्त्र बनाउने इच्छामा सबै एकजुट हुन्छन्।

एउटा वाणी छ- 'जन्म दिए भन्दैमा संहार गर्ने अधिकार हुन्न; सम्हाल्ने हो! त्यसो भा लौ तँ जा म जान्नँ!' एक दुई गर्दै आत्मदाह गर्नेको २०९ पुगिसकेको नामावली तयार भएको हुन्छ। यी कुरा श्री ३ जुध्दशम्शेरलाई रजिष्ट्रर गरी पठाइन्छ। त्यसबेलासम्म आत्मदाह गर्नेको संख्या २४० पुग्छ। एउटी महिलाले गरेको राजनीतिक विद्रोहले ठूलो रूप लिन थालेको पाइन्छ। प्रचार प्रसारका लागि ठूलीहजुरका वाणी छाप्न त्यति टाढाबाट लुकाईछिपाई सीमापारि पुर्‍याई ल्याएका सामग्री पहाडसम्म पुग्दा नपुग्दै जफत गरिएको पनि देखाउन खोजिएको छ उपन्यासमा। लेखिकाले आफूमा भएका गुण र स्वभाव साथै शैक्षिक अनुभवहरूलाई योगमायाको माध्यमबाट प्रस्तुत गरेकी छन् भन्न सकिन्छ।

योगमायाले दृढ निश्चय र अठोट राखिसकेकी थिइन्  कि धर्मराज्य नदिएमा यज्ञमा आहुति दिने, गर्न नदिए जल समाधि लिने। यो नै राणाशासन ढल्ने या अन्त्य हुने बीज रोपियो। सबैलाई नजरबन्द गरियो। यो राजनीतिको संघर्ष चरममा पुगेको थियो। योगमाया र उनका अनुयायीहरू जीवन समर्पणको अन्त्यतिर आइपुगे।

खाल्डो यानिकी उपत्यकाको राजनीतिले उग्र रूप लिन थालेको थियो। धमाधम प्रजातन्त्रप्रेमीहरूलाई घरपकड गर्दै पहिले धर्मभक्तलाई अनि गंगालाल र दशरथ चन्दलाई राती गणेशमान, टंकप्रसाद आचार्य र मुकुन्दनाथ रिमाल भन्ने दुई जना मात्र समाउन बाँकी रहेको समयमा योगमायाको मुखबाट एउटै कुरा आइरहन थालेको पाइन्छ : आगोको बिउ खस्यो, डढेलो लाग्दै छ, अब यसै निभ्ने छैन।

१९९७ कार्तिकमा समाई माघमा राणाविरोधी दुई जनालाई रूखमा झुण्ड्याएर र दुई जनालाई छातीमा गोली ठोकेर मारियो। त्यतिबेला आजन्म काराबासमा परेकाहरू टंकप्रसाद आचार्य, रामहरि शर्मा, गणेशमान सिंह, पुष्करनाथ उप्रेती र अरू धेरै थिए। एक पात्रले भनेका छन्- 'काँतर भएर सय वर्ष बाँच्नुभन्दा देशका लागि वीर भएर मर्नु राम्रो।'

जलसमाधि लिने धर्मिक महत्त्वको तिथि तय गरिएको पाइन्छ- 'हरिसयनी एकादशी अथवा तुलसी रोप्ने दिन। साथै भगवान विष्णुले चार महिना चतुर्मास जलमा बस्ने ! १९९५ सालमा सुरु भएको अभियान १९९८ सालमा गएर पूरा हुनेमा खुसी देखिन्छन्, भक्तिनीहरू। ६६ जनाको जमातले अघिल्लो दिनमा नै तयारी गरिसकेका थिए। समाधि लिनु अगाडि कपाल खौरने, अरुणमा नुहाई चोखो वस्त्र लगाएर तयार भएको र पूजापाठ गरी ठूलीहजुरबाट सबैलाई सम्बोधन गर्दै 'धर्मको खातिर ईश्वरको शरणमा जाँदै छौँ, कति भय नलिनू!' सबैलाई एकै स्वरमा भन्न लगाइयो।

अधर्मको नाश होस्
धर्मको स्थापना होस्।

अधर्मको अन्त हुनेछ
चर्मको उदय हुनेछ।

अन्याय अत्याचार, भ्रष्टाचार, गुलामी सबै कुराको अन्त्य हुनु नै अधर्मको नाश भएको बुझाउँछ। एउटा बुझ्नुपर्ने कुरा के छ भने यहाँ महिला मात्र या ब्राह्मण मात्रै छैनन्, सबै जाति लिंगका महिला, पुरुष र पालनपोषण गर्न कोही नहुनेले आफूसँगै नाबालक बच्चाहरू पनि लिएर जाँदै छन्। अर्को कुरा यस जल समाधिबाट सबैभन्दा ठूलो हुंकार शासक वर्गलाई लक्षित गरेको पाइन्छ। यही सन्दर्भमा पण्डित प्रेमनारायण (पात्र)ले अन्तिम पूजा गरेका बत्तीहरूलाई ढोग्दै भन्छन्- 'सम्पूर्ण भक्तहरूको जीत हुनेछ, धर्मको उदय हुनेछ! सरकार हार्नेछ, मुलुकबाट अधर्म भाग्नेछ !'

यस उपन्यासकी सबैभन्दा सानी योगमायाकी कान्छी भदै दुखुना हुन्। अन्तिममा आफूलाई ६६औँ गनेर लाइनमा हिँड्छिन् उनी। असार महिना, त्यसमाथि अरुण नदीको भेल।

'सत्कर्मले मोक्ष मिल्नेछ। असत्, अधर्मको हार भै एक दिन सत् अर्थात् धर्मको उदय अवश्य हुनेछ, जुग फिर्नेछ, ओम तत् सत्।

इति १९९८ असार हरिसयनी एकादशी!'

यसरी उपन्यासले बिट मार्छ।

उनी महिलाको मात्रै नभई सम्पूर्ण जनता, समाजको प्रतिनिधि पात्र हुन्। उनलाई अहिलेको हाम्रो समाजले कुनै कित्ताकाट गरी यो दर्शन र ऊ दर्शन भन्न नमिल्ने देखिन्छ। उनी यो देशकी राष्ट्रिय विभूति हुन्, हुनेछन्। इतिहासले उनको योगदानको कदर गर्नेछ त्यो दिनमा, जब नेपालबाट यी कुरीतिहरू समाप्त हुनेछन्।

समग्रमा हेर्दा सुरुमा अलिक पट्यारलाग्दो हुन्छ, पढ्दा विस्तारै कौतूहल उत्पन्न हुँदै जान्छ र नछोडुँझैँ हुन्छ। योगमायाले १०० वर्ष अगाडि आफ्ना लागि गरेको लडाइँ र संघर्ष सम्पूर्ण मानवजातिभित्रको असमानता, लैङ्गिक विभेद, धनी र गरिव बीचको खाडल, जातभातका कुरा, सामन्ती आचरण, राजनीतिक दाउपेच, पुरोहितबाट हुने शोषण, कर्मकाण्डको नाममा हुने विकृति आदिबारे उपन्यासमा चर्चा छ। त्यसकारण उनी महिलाको मात्रै नभई सम्पूर्ण जनता, समाजको प्रतिनिधि पात्र हुन्। उनलाई अहिलेको हाम्रो समाजले कुनै कित्ताकाट गरी यो दर्शन र ऊ दर्शन भन्न नमिल्ने देखिन्छ। उनी यो देशकी राष्ट्रिय विभूति हुन्, हुनेछन्। इतिहासले उनको योगदानको कदर गर्नेछ त्यो दिनमा, जब नेपालबाट यी कुरीतिहरू समाप्त हुनेछन्।

लेखिकाको तारिफ नगरी बिट मार्नु उनीमाथि अन्याय गरेको ठहर्नेछ। यसमा भएका सयभन्दा बढी व्यक्तिहरूको नामथर, तिनीहरूको सन्तान सबैको कण्ठ र भूमिका पनि वास्तविक पत्ता लगाई प्रस्तुत गरिएको छ। अघिल्लो वर्ष बाढी र पहिरोको  याममा क्यामेरा बोकेर उक्त स्थानमा पुगी अन्तर्वार्ता लिन पुग्नु, विदेशमा बसेर स्वदेशको माटो चुम्न अग्रसर हुनु, भक्तिनीहरूसँग भेटी हजुरवाणी सुनी संकलनमा ल्याउनु सजिलो काम होइन।  कति ठाउँमा त भाषा नै हामीले बोल्ने भन्दा फरक पनि पाइएको छ, बुझ्न गाह्रो भई दोहोर्‍याएर पनि पढेकी थिएँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.