|

कञ्चनपुर : इन्टरनेटबाट आधुनिक तरिकाबाट उखु खेती गर्न सिकेपछि बेलौरी नगरपालिका–६ हात्तीबोझाका असारेराम बडायकको आम्दानी तीन गुणाले बढेको छ। परम्परागत तरिकाले उखु खेती गर्दा प्रतिबिघा दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका बडायकले इन्टरनेटबाट आधुनिक तरिकाले उखु रोप्न सिकेपछि उत्पादन वृद्धि भएपछि आम्दानी बढेको हो।

नयाँ प्रविधिको प्रयोग गरी रोपेको उखु खेतीबाट प्रतिबिघा छ लाख रुपैयाँभन्दमा बढी आम्दानी गरेका छन्। परम्परागत तरिकाले खेती गर्दा प्रतिबिघा मुस्किलले तीनदेखि पाँच सय क्विन्टल उखु उत्पादन हुने बडायकले बताए। उनले भने, ‘चिप बड प्रविधिको प्रयोग गरी उखु रोप्न थालेपछि उत्पादन दुई हजार क्विन्टल हुन थालेको छ।’

उखुको आँख्ला मेसिनको सहायताले निकाली प्लाष्टिकको झोलामा विरुवा उत्पादन गर्ने तरिकालाई चिप बड प्रविधि भनिन्छ। परम्परागत तरिकाले उखु खेती गर्दा प्रतिबिघा एक सय क्विन्टलभन्दा बढी बीउ लाग्ने गर्दछ। तर, आधुनिक तरिकाले बिरुवा नर्सरीमा तयार गरी रोप्दा प्रतिबिघा तीन क्विन्टल मात्रै लाग्ने गरेको छ।

बडायकले नयाँ प्रविधिबारे इन्टरनेटमा पाइने भिडियो हेरेको बताए। ‘चार वर्षअघि पहिलो पटक उखुका आँखा निकालेर नर्सरी तयार गर्दा घर परिवारले नै विश्वास गरेनन्।’ उनले भने, ‘खेती बिगार्न थाल्यो भनेर उल्टै गाली गरे, गालीको वास्ता नगरी विरुवा तयार गरी खेतमा रोपी छाडें।’

त्यसरी तयार पारेको बीउ पहिलो पटक परीक्षणका रुपमा उनले दुई कठ्ठामा रोपे। त्यहाँ ११० क्विन्टलभन्दा बढी उत्पादन भयो। थोरै जग्गामा यति बढी उत्पादन भएपछि उनले अहिले चार बिघाभन्दा बढी जग्गामा खेती गरेका छन्।

अहिले बडायकलाई नगरपालिकाले सिँचाइका लागि बोरिङ, स्प्रे मेसिन, विद्युतीय मोटर, पावर टिलर, मिनी टिलर, ट्रे, चिपकटर मेसिन अनुदानमा उपलब्ध गराएको छ। विद्युतीय र डिजल इन्जनबाट सिँचाइ गर्दा बढी खर्च भएपछि उनले सिँचाइका लागि सौर्य उर्जामा आधारित सिँचाइ प्रणाली जडान गरेका छन्।

उखुलाई रोग र किराबाट जोगाउनका लागि एकै पटक ट्रयाक्टरको सहायताले खेतमा स्प्रे गर्ने भारतबाट मेसिन समेत ल्याएका छन्। उखुको बीउमा लाग्ने रकम जोगाएर दुई लाख रुपैयाँ खर्च गरी मेसिन खरिद गरिएको बडायकले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.