|

वीरगन्ज :   प्रदेश-२ को सरकारले मधेस आन्दोलनका घाइतेलाई आर्थिक सहयोग गर्न थालेको छ। गएको असार ११ गते प्रदेश सरकारले गरेको निर्णयअनुसार २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेश सरकारको तर्फबाट मधेस आन्दोलनका क्रममा घाइते भएका पर्साका २ जनालाई उनीहरूको घरैमा पुगी जनही ३⁄३ लाख आर्थिक सहयोग गरेका हुन्। उनले मुख्यमन्त्रीको कार्यालय प्रदेश नम्बर २ जनकपुर धामको बजेट रकम नम्बर २६४११ बाट कट्टा हुने गरी सो रकम उपलब्ध गराएका छन्।

२ नम्बर प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा मधेस आन्दोलनका घाइतेलाई आर्थिक सहयोग गरिएको उनले सो क्रममा बताए। मंगलबार मुख्य मन्त्री गद्दीले पर्साको सखुवा प्रसौनी स्थित महुवन, बलुवाका पानालाल प्रसाद यादव र वीरगन्ज महानगरपालिका वडा नम्बर २८ बलुहीका मुन्सी पटेललाई जनही ३⁄३ लाखको एसीपेयी चेकमार्फत आर्थिक सहयोग हस्तान्तरण गरे। मधेस आन्दोलनका घाइतेको अवस्था हेरी २५ हजार देखि ३ लाखसम्म दिने गरेको निर्णयअनुसार पर्साका पूर्ण घाइतेलाई जनही ३⁄३ लाख प्रदान गरिएको उनको भनाइ छ।

यादवले ०७२ भदौ १४ गते राधेमाईमा घाइते भएका र मन्सी पटेल संविधान जारी भएको दिन अथवा असोज ३ गते माइस्थानमा घाइते भएको उनीहरूले बताए। यादवको दाहिने खुट्टा र पटेलको ढाडमा समस्या रहेकोले उनीहरु हिँडडुल गर्न सक्ने अवस्था छैनन्।

घाइते भएपछि यादवले काठमाडौंको बीएनडबी र दिल्लीको एमस् अस्पताललगायतमा गरी ४३ लाख खर्च गरिसेको र पटेलको पनि विभिन्न सहयोगीहरूले दिएको समेत गरी झन्डै २५ लाखभन्दा बढी खर्च गरिसकेको बताए। अहिलेसम्म यादवलाई सखुवा प्रसौनी गाविसले ५ लाख र नेपाल सरकारले ३ लाख तथा मंगलबार २ नम्बर प्रदेश सरकारले ३ लाग गरी ११ लाख आर्थिक सहयोग मिलेको बताए।

त्यसैगरी, पटेलले भने एकवर्ष नियमित अस्पताल बस्ने क्रममा विभिन्न सहयोगीहरू र मंगलबारसहित झन्डै १२ लाख जति नै सहयोग मिलेको उनका सहयोगी प्रकाश थारूले बताए। डेड महिनामा आफूले नै झण्डै ७ लाख जति जोहो गरेर उपलब्ध गराई दिएको उनको भनाइ छ।

घाइते दुवैले काठमाण्डौ र इण्डियाका विभिन्न अस्पताल चाहारीसकेको तर ठीक हुन नसकेको तर्क गरेका छन्। आफूहरू बेड परेपछि आफ्ना बालबच्चा र परिवार पाल्न तथा निरन्तर उपचारमा खर्च गर्न आफ्नो तर्फबाट हुने जति सबै गरिसकेको उनीहरुको तर्क छ।

यता, मंगलबार नै मुख्यमन्त्री गद्दीले यो वर्षातमा आएको बाडीबाट पर्सामा ज्यान गुमाएका पर्सागढी ८ का सुरेन्द्र महतो, प्रतिमा राम र वीरगन्ज महानगरपालिका वडा नम्बर २७ का आलोक यादवका परिवारलाई पनि जनही ५० हजारका दरले आर्थिक सहयोग गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.