|

गोरखा : सन्तोष कुँवर र सरु कुँवरको भेट तीन वर्षअघि भएको थियो। शहीद लखन गाउँपालिका–६ घैरुङको अँधेरीमा रहेको मावली आउजाउ गर्दा सरुको त्यहीँ क्षेत्रका सन्तोषसँग भेट भयो। भेटपछि उनीबीच प्रेम झाँगियो। यसलाई उनीहरुको परिवारले स्वीकार गरेको थिएन। तर, परिवारको स्वीकृतिविनै २० महिनाअघि सन्तोषले सरुलाई भगाएर बिहे गरे।

सन्तोष र सरुबीचको प्रेमको प्रतीकको रुपमा आठ महिनाअघि छोरा युनिक जन्मिए। उनीहरूले परिश्रम गरेर भए पनि जीवनलाई खुशी बनाउने प्रयास गर्दै थिए। तर, त्यो प्रयासले मूर्त रूप लिनै पाएन, किनकि सुतेकै अवस्थामा सरु र युनिकलाई बुधबार बिहान खसेको पहिरोले कहिल्यै नफर्किने गरी लिएर गयो। 

सरु आफ्ना छोरासहित साउने संक्रान्ति मनाउन मामाघर गएका थिए। लगातारको वर्षापछि गएको पहिरोमा परी सुरु र युनिकका साथै मामाकी छोरी प्रविनाको मृत्यु भयो। अर्थात् जुन घरले सन्तोष र सरुको मिलन गरायो, त्यही घरले उनीहरुको कहिल्यै नभेट्ने गरी बिछोड गरायो।

‘यही मावली घरले हामीलाई एक बनायो,’ भक्कानिन्दै सन्तोष भने, ‘यही घरले छुटायो।’ उनीहरुको विवाह भएको आउँदो मंसिरमा दुई वर्ष पूरा हुन्छ।

सन्तोष भने गोरखा नगरपालिकाको १० किलोमा मजदुरी गर्दै त्यहीँ बस्दै थिए। उनको श्रीमती र छोरासँग एक साताअघि मात्र भेट भएको थियो। त्यो भेट नै अन्तिम भेट हुन पुग्यो। 

गाउँलेले श्रीमती र छोराको शवमा कफन ओढाए, सन्तोषले मन थाम्न सकेनन्। ‘सानु मलाई लिन छिट्टै आउ है,’ श्रीमती र छोरालाई हेर्दै भने, ‘मेरो बाबा मलाई छोडेर किन गएको।’ 

‘अब मैले कस्का लागि बाँच्ने,’ उनले गहभरि आँशु पार्दै भने, ‘यै बुढीलाई राम्रो लाउन दिउँला, मीठो खुवाउँला। यै छोरोलाई हुर्काई बढाई पढाउँला भनेर म अर्काकोमा काम गर्न बसेको। अब मैले कमाएको कस्लाई हुन्छ?’ 

लुँदीखोलामा अन्त्येष्टि

अँधेरीका कुँवरहरूले अहिलेसम्म शवलाई घाटमा जलाएका छैनन्। तर, बुधबार आठ महिनाको अबोध बालकसँगै सरु र प्रविनाको शवलाई लुँदीखोलाको घाटमा जलाए।

‘हाम्रो खलकमा शव घाटमा लगेर जलाउने चलन छैन। डाँडामा गाड्ने नै हो,’ नवराज कुँवरले भने, ‘पोस्टमार्टम गर्न डाक्टरले घटना स्थलमै आउन सक्दिन भनेको कारणले हामीले तल खोलामा झार्नु पर्‍यो।’ खोलामा झारेको शवलाई फर्काएर लैजान हुन्न भनेपछि खोलामै जलाएको उनले बताए। 

यो पनि हेर्नुहोस्

घर भत्किँदा तीन जनाको मृत्यु, दुई घाइते

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.