|

काठमाडौं : अनसनरत डा. गोविन्द केसीलाई सरकाले काठमाडौं ल्याउने क्रममा जुम्लामा सरकारले दमन गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सरकारले संसद छल्ने गरी बैठकलाई आठ दिन पर सारेको पनि आरोप लगाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै जुम्लामा सरकारले गरेको दमनप्रति आपत्ति जनाएका हुन्।

चिकित्सा शिक्षा सुधारका लागि कांग्रेसको सरकारले जारी गरेको अध्यादेशविपरीत विधेयक ल्याउनेतर्फ सरकार लाग्नु र क्रमशः अधिनायकवाद उन्मुख शैली विकसित हुँदै गएका कारण स्थिति जटिल बन्दै गएको कांग्रेसले आरोप लगाएको छ। डा. केसीको जीवन रक्षा गर्नु सबैको दायित्व भए पनि उपचारका लागि काठमाडौं ल्याउने क्रममा जुम्लाको अस्पतालमै प्रहरी प्रवेश गरेर लाठी चार्ज गर्ने, अश्रुग्यास प्रहार गर्ने, अस्पतालको लाखौँको सम्पत्तिमा क्षति पुर्‍याउनेजस्ता सरकारको कार्यलाई दमनकारी भन्दै कांग्रेसले भर्त्सनासमेत गरेको छ।

माग सम्बोधन गर्नुको सट्टा प्रतिनिधिसभा बैठक स्थगित गरेर सरकारले गैरजिम्मेवारीपन देखाएको आरोप पनि लगाएको छ। 'समाधानको खोजी गर्ने थलो संसदलाई छलेर विषयलाई विषयान्तर गर्न सकिने भ्रमबाट मुक्त हुन समेत नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ', विज्ञप्तिमा भनिएको छ। अध्यादेशको हुबहु कार्यान्वयन गर्न सदन र सडकमा नेपाली कांग्रेसको विरोध जारी राख्नेसमेत विज्ञप्तिमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.