|

पर्वत : गतअसार १५ गते मेडिकल सुपरिटेन्डेन्ट सरुवा भएपछि दुई सातासम्म स्थायी दरबन्दीको प्रमुख नहुँदा जिल्ला अस्पताल पर्वत प्रशिक्षार्थीको भरमा चलिरहेको छ। अस्पतालमा कार्यरत डाक्टर बुद्धिबहादुर थापाको दुई साताअघि स्वास्थ्य सेवा विभागमा सरुवा भएपछि अहिले अस्पताल प्रशिक्षार्थी डाक्टरको भरमा छ। 

अस्पतालमा अहिले कार्यरत सबै डाक्टर करार दरबन्दीका रहेकाले कुश्मा नगरपालिकाले ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सजिना महर्जनलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको छ। स्थानीय तह कार्यान्वयनपछि जिल्ला अस्पतालको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी कुश्मा नगरपालिकामा आएको थियो। 

अस्पतालमा तत्काल मेडिकल सुपरिटेन्डेन्ट आउन सक्ने सम्भावना नरहेको महर्जनले बताइन्। आठौं तहका डाक्टर सरोज दाहाल यसअघि नै एमडी अध्ययनका लागि बिदा बसेपछि एक मात्रै डाक्टरको भरमा अस्पताल चलेको थियो। 

जिल्ला अस्पतालको व्यवस्थापन र स्तरवृद्धि जिम्मा कुश्मा नगरपालिकाले लिएपछि कार्यरत कर्मचारी अहिले पदीय दायित्वभन्दा पारिवारिक काममा बढी व्यस्त हुने गरेका छन्। अस्पताल अहिले करारका डाक्टर र प्रयोगात्मक अभ्यासमा आएका विद्यार्थीको भरमा चलिरहेको छ। वर्षाको सिजनमा टाइफाइड, ज्वरो, रुघाखोकी, निमोनियाका बिरामी बढी आउने गरेको भए पनि सामान्य विरामीहरू समेत निजी अस्पतालमा उपचार गर्न बाध्य भएका छन्। 

अस्पताल आएपछि सामान्य चेक पनि नगरी पोखरा पठाइने गरेको उपचारका लागि आएका मुडिकुवाका लालबहादुर नेपालीले बताए। वर्षा र गर्मी मौसम भएकाले अहिले अस्पतालमा दैनिक १०० हाराहारी बिरामी आउने गरेका छन्। 

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नभएपछि अन्य कर्मचारीको मनोमानी बढेको गुनासो सेवा ग्रहीले गरेका छन्। अस्पतालमा सञ्चालित पोषणगृह, प्रसूतीगृह, ओपीडी लगायतमा स्थानीय कर्मचारीले बेवास्ता गर्दा सबै व्यवस्थापन अस्तव्यस्त बन्दै गएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.