|

बाग्लुङ : काठेखोला गाउँपालिका–७ वडा कार्यालयले वडामा रहेका खरलेछाएका छाना विस्थापन कार्यलाई तीव्रता दिएको छ। गत आर्थिक वर्षमा १४ घरमा घरको छाना विस्थापन गरी जस्तापाताको छाना लगाइएको छ।

वडामा ७२ घरधुरी छन्। जसमध्ये अति विपन्न परिवारलाई जस्तापाता उपलब्ध गराइएको वडाअध्यक्ष प्रेम लामिछानेले बताए। वडाध्यक्ष लामिछानेले चालु आर्थिक वर्षको सुरुका तीन महिनाभित्रै थप ३० घरमा जस्तापाता लगाउने गरी काम अगाडि बढाएको बताए।

‘गत आर्थिक वर्षमा सात लाख रुपैयाँ बजेटको व्यवस्था गरेर खरको छाना विस्थापनको काम थालेका हौ,ं’ लामिछानेले भने, ‘चालु आर्थिक वर्षको सुरुमा नै काम थालिएकाले केही दिनमा नै बाँकी ३० घरमा जस्तापाताको छाना लगाउने काम सकिन्छ।’ परिवारको आर्थिक क्षमताका आधारमा वडा कार्यालयले जस्तापाता खरिद, ढुवानी र आवश्यक कामदारको ज्यालाको समेत व्यवस्था गर्दै आएको छ।

तर, छानो आफैं फेर्न सक्ने क्षमता भएकालाई जस्तापाता र ढुवानी खर्च मात्र दिएको वडा कार्यालयले जनाएको छ। खरको छना  बर्सेनि परिवर्तन गर्नुपर्ने र परिवर्तन नगरे पानी चुहिने समस्या हुने गरेका कारण बिस्थापन गर्न लागिएको वडा सचिव होमनाथ पौडेलले बताए। 

आर्थिक अवस्था कमजोर भएका नागरिकलाई वडा कार्यालयले स्थानीय सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा आवश्यक काठ समेत उपलव्ध गराउँदै आएको छ। ‘कतिपय घरहरुमा स्थानीयको श्रमदान र वन समूहको सहयोगमा काठको व्यवस्था गरेर जस्तापाता लगाउने काम गरेका छौं,’ वडाअध्यक्ष लामिछानेले भने, ‘सबैको सहयोग र साथले खरको छाना विस्थापनको काम कम खर्चमा उपलव्धीमुलक हुने देखिएको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.