विकासमा अवरोध नगर्न दुई विद्यार्थी संगठनको अपिल

|

बाँके : नेपाली कांग्रेसको भ्रातृ संगठन विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विरोध जनाएपछि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको नयाँ शैक्षिक भवन शिलान्यास कार्यक्रम स्थगित भएको छ। शनिबार दिउँसो १२ बजे संघीय संसदका सभामुख कृष्णबहादुर महराले शिलान्यास गर्ने कार्यक्रम तय भएकै बेला नेपाल विद्यार्थी संघले विरोध जनाएपछि शिलान्यास कार्यक्रम स्थगित भएको नेकपा बाँकेका नेता अशोक कोइरालाले जानकारी दिए। 

उनले नेपाली कांग्रेस निकट विद्यार्थीले क्याम्पस प्रमुखविरुद्ध वाल पेन्ट समेत गरेको बताए। विद्यार्थीले विरोध जनाएपछि सभामुख महरा आउन नमानेको उनले बताए।यसैबीच,अनेरास्ववियू र अखिल क्रान्तिकारीले नयाँ शैक्षिक भवन शिलान्यास कार्यक्रम स्थगित भएकोमा ध्यानाकर्षण भएको जनाएका छन्। अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सचिव प्रकाश विक र अखिल क्रान्तिकारीका अध्यक्ष नमराज योगीले संयुक्त विज्ञप्ति जारी गरी विकास, निर्माणको काममा  विरोध नगरी शिलान्यास कार्यक्रममा सहयोग पुर्‍याउनअपिल पनि गरेका छन्।

विद्यार्थी संगठनले भवन शिलान्यासको वातावरण बनाउन क्याम्पस प्रशासनसँग माग गर्दै आगामी दिनमा विकास निर्माणको काममा अवरोध नगर्न नेपाल विद्यार्थी संघसँग अनुरोध गरेका छन्। शनिबार अवरुद्ध भएको भवन शिलान्यास साउन ८ गते हुने अखिल क्रान्तिकारीका अध्यक्ष योगीले जानकारी दिए। शिलान्यासका लागि सभामुखसँग समय तय भइसकेको उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.