थाहा संवाद

प्रदेश ७ मा उद्योग र पर्यटनका प्रशस्त सम्भा‍वना छन् : मन्त्री भट्ट
SHARES

साउन ९, २०७५

    प्रदेश ७ मा नौ जिल्ला छन्। तीमध्ये कैलाली र कंचनपुर तराई क्षेत्रमा पर्छन्। डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, बझाङ, अछाम र बाजुरा सात जिल्ला पहाडी क्षेत्रमा रहेका छन्। यस प्रदेशमा संभावनासँगै समस्या पनि यतिकै छन्।

    प्रदेश ७ अर्थात् सुदूरपश्चिममा थुप्रै पर्यटकीय क्षेत्र छन्। पर्यकटीय क्षेत्रका दृष्टिकोणले हेर्ने हो भने यस प्रदेशमा संभावनाका ढोका प्रशस्त छन्। देश संघीयतामा जानुअघि सुदूरपश्चिमलाई राज्यले हेर्ने दृष्टिका कारण यस क्षेत्रका पर्यटकीय क्षेत्रहरू सधैँ ओझेलमा परे। त्यसको असर अझै छ। राज्यका विभेदका कारण पछौटेपन, विकटता, जातीय तथा लैंगिक विभेद, गरिबी, अशिक्षा र अभावले ग्रस्त क्षेत्रको रूपमा यहाँको परिचय बन्यो।

    शुक्लाफाँटा, खप्तड, अपी हिमाल, सैपाल हिमाल, शैलेश्वरी, उग्रतारा, त्रिपुरा सुन्दरी, बैजनाथलगायतका पर्यटकीय क्षेत्रहरू यहाँ छन्। संघीयता कार्यान्वयनसँगै प्रदेश सरकार पनि बनेको छ। प्रदेश ७ सरकारले पर्यटन प्रवर्द्धनका के कस्ता प्रयास गरेको छ? यसै विषयमा प्रदेश ७ की उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टसँग थाहाखबरका प्रकाश पार्कीले गरेको कुराकानी प्रस्तुत छ।

    तपाईं मन्त्री भएको चार महिना बढी भएको छ। यो चार महिनाको अवधिमा केके गर्नुभयो?

    प्रदेशको नयाँ संरचनाअनुसारको पहिलो सरकार भएको हुनाले कार्यालयीय व्यवस्थापनामा लाग्यौँ। संसद र क्याविनेट बैठकमा विशेष गरेर ध्यान केन्द्रित भयो। नयाँ सुरुवात गर्नुपर्ने भएको हुनाले सबै कुरालाई व्यवस्थित गरी लैजानुपर्ने हुँदा यो चार महिना यिनै कामहरूमा बित्यो। साथै बजेट माग र विनियोजन गर्ने कामहरूमा पनि लागियो। बजेट पनि सदनबाट पास भइसकेको छ। त्यो बजेटका लागि पनि हामीले धेरै दिन त्यसमा समय खर्च गर्यौं।

    जनताको हितमा कसरी काम गर्दै हुनुहुन्छ?      

    तीन तहको सरकार, जुन संविधानले व्यवस्था गरेको छ, संघीय, प्रदेश र स्थानीय सरकार। जनताको सरकार गाउँमा छ। सिंहदरबारको अधिकार गाउँमा आयो भन्ने सबै मानिसको मानसपटलमा गएको छ। सिंहदरबार गाउँगाउँमा आएको पनि छ।

    गाउँगाउँमा काम भइरहेका छन्। अधिकारप्राप्त गाउँपालिका र नगरपालिका भएका छन् अनि प्रदेशमा पनि सिंहदरबार जानुभन्दा प्रदेश नजिक हुन्छ भनेर जनताको जो इच्छा आकांक्षा थियो, यही आधारमा अहिले प्रदेशको पनि सरकार छ।

    प्रदेशको सकारले भोलि कानुन निर्माणमा सहयोग पुर्‍याउँछ, स्थानीय तहको। पुलको काम गर्छ प्रदेश सरकारले अनि संघीय सरकारसँग समन्वय गरेर जान्छ। स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्छ। यसरी अघि बढ्नका लागि यी तीनवटा तहको सरकार जनताका लागि आशालाग्दो विषय हो भन्ने मलाई लाग्छ।

    संघीय र स्थानीय तहका सरकारसँग समन्वय कसरी गरिराख्नुभएको छ?

    अहिले धेरै खालको समन्वय त भइसकेको छैन। हुनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेकाले एक खालको समन्वय नै भन्नुपर्छ। संघीय सरकारले प्रदेश सरकारको कानुन बनाउनका लागि मोडेल कानुनहरू पठाएको छ।

    जनतालाई सहज हुने जनमैत्री कानुनका लागि कसरी सजिलो हुन्छ भनेर प्रदेश सरकारले बनाउन खोज्छ। त्यही मोडेल कानुनहरूको आधारमा

    रहेर प्रदेशसँग नबाझिनेगरी स्थानीय तहले कानुन बनाउने अवसर जुटेको छ हामीलाई। त्यो कानुन बनाउने र जनताको विकासका लागि यो प्रदेशको विकासका निम्ति बजेट माग गर्ने कुरामा हाम्रो समन्वय भइरहेको छ। यो प्रदेशमा यति बजेट चाहियो, यो काम गर्न सक्ने अवस्था छ, अवसर छ, हामीलाई बजेट चाहियो भनेर समन्वय र सहकार्य गरिरहेका छौँ।

    प्रदेश सरकारले उद्योग, पर्यटन र वनमा के कस्तो र कसरी बजेट निर्माण गरेको छ?

    हामीले धेरै राम्रो बजेट ल्याएका छौँ। प्रदेश सरकारले ल्याएको बजेट संविधानले परिकल्पना गरेको, अबको समाजलाई समृद्धिको यात्रामा कसरी अगाडि बढाउने, यो समाजलाई उन्नति र प्रगतिमा कसरी लैजाने, यो प्रदेशका युवाहरूलाई रोजगारीसँग कसरी जोड्ने र यो प्रदेशमा इतिहास बोकेका मान्छेहरूको नामसँग जोडेर हाम्रो विकासलाई कसरी अगाडि बढाउने भनेर तय गरिएको छ। हामीले किसान आन्दोलनका नेता भीमदत्त पन्तको नामलाई जोडेर बजेट विनियोजन गरेका छौँ। जेष्ठ शहीद दशरथ चन्दको नाम जोडेर पनि बजेट निर्माण गरेका छौँ।

    यस्तै एसियाकै पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानीको नामसँग महिला सशक्तीकरणमा बजेट छुट्टाएका छौँ। कुनै ठाउँमा बाटो बनाउनुपर्‍यो भने भीमदत्तलाई सम्झेर बनाएर लैजाने सोचेका छौँ। कुनै ठाउँमा पाटीपौवा बनाउनुपर्‍यो भने दशरथ चन्दलाई जोडेर लैजाने। यस्ता खालका जनमुखी बजेट अनि ऐतिहासिक बजेट, प्रदेश सरकारले भोलिको परिकल्पना गरी ल्याएको छ। सीमित स्रोत साधन भए पनि जनताको गाउँठाउँसम्म पुर्‍याउने गरी बजेट विनियोजन भएको छ।

    प्रदेश ७ मा पर्यटनका सम्भावनाहरू के कस्ता छन्?

    प्रदेश ७ मा पर्यटनका धेरै नै सम्भावनाहरू छन्। हाम्रो यो प्रदेश भनेको धार्मिक पर्यापर्यटनको हिसाबले महत्त्वपूर्ण प्रदेश हो। देवीदेउताको भूमि पनि हो यो प्रदेश। सबै प्रदेशभन्दा भिन्न प्रदेश हो। देवीदेउताको भूमि। सातवटा देवीदेउताहरूका बहिनी यहाँ बस्छन् भन्ने किम्बोदन्ती छ। शिवले हिँड्ने बाटो डोटी हुँदै कैलाश पर्वत जाने, मानसरोवर जाने बाटो हो भन्ने हामीले धार्मिक पुराणहरूमा सुन्न पाउँछौँ।

    यहाँ धेरै भटमास उत्पादन हुन्छ तर हामी भटमासलाई बेचेर सोविन खान्छौँ। त्यसैले यस विषयमा पनि मैले अध्ययन गरिरहेकी छु। हामी फलफूल बाहिर देशबाट ल्याएर धेरै दिनपछिको जुस खाँदै छौँ, यहीँको फलफूललाई प्रशोधन गरेर जुस बनाउने कुरामा पनि म अध्ययन गरिरहेकी छु।

    त्यो भएको हुनाले धार्मिक पर्यटनको राम्रो अवस्था छ। यहाँ थुप्रै अवसर छन्। पर्यटनको हिसाबले पनि यो प्रदेशमा अवसर अवसर छन्। शुक्लाफाँटामा बाह्रसिंगा हेर्न गयौँ भने मान्छेको मन त्यसै चंचल भएर आउँछ।

    अपी हिमाल, सैपाल हिमाल, डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरा सुन्दरी, अछामको बैजनाथलगायतका देवीदेउताका भूमिहरू यहाँ छन्। भारतको हरिद्वारभन्दा हाम्रो डडेल्धुराको परशुराममा (गगनान) छ। शिवजीले नुहाएर कैलाश पर्वत जानुभएको हो भन्ने किंवदन्ती छ। खप्तड अनि रामारोशन पनि हाम्रै प्रदेशमा छन्।

    रामारोशन १२ वटा बन्ड र १८ वटा खण्ड भएको ठाउँ छ। यस्तो सुन्दर प्रदेशमा यो बजेटले धेरै कुरा समेट्न नसके पनि यसले त्यो ठाउँको उजागर अवश्य गर्छ। त्यो ठाउँको प्रचार गर्छ। यो प्रदेशको यति ठाउँमा यस्तायस्ता चिज छन् भनेर सबैलाई जानकारी गराउने, त्यो ठाउँको विकास गर्नलाई उत्प्रेरित गर्ने काम प्रदेश सरकारको हुन्छ।

    उद्योग र वनका क्षेत्रमा यहाँ के सम्भावनाहरू देख्नुभएको छ?

    देशका सात प्रदेशमध्ये सबैभन्दा धेरै जंगल हाम्रो प्रदेशमा छ। वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार यहाँ १९ लाख ७७ हजार ३७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ४६ हजार ११० हेक्टर अर्थात् ५७.९६ प्रतिशत जंगल छ। प्रदेश ७ को वन जंगलबाट जनताले पाउने लाभ समान्य रूपमा पाइरहेको मलाई जानकारी छ। हाम्रो यहाँ प्लास्टिकको ढोका मलेसिया र थाइल्यान्डबाट आउँदै छ।

    यो खेर जाने काठलाई सदुपयोग गर्छौं। वन क्षेत्रमा यो प्रदेशमा भएका युवाहरूलाई रोजगारी दिनेगरी काम गर्छौं। यो खेर जाने काठलाई सदुपयोग गर्नका लागि उद्योग संचालन गरेर त्यसको सदुपयोग गर्ने योजना छ।

    त्यो उद्योग यो वर्षमा संचालनमा आउनुपर्छ र त्यो पनि डडेल्धुरा र डोटीको बीचमा कहीँ हुनुपर्छ भन्ने मेरो मान्यता छ। तराईको क्षेत्रबाट पनि नजिक हुने र पहाडी जिल्लाको पनि नजिक पर्ने ठाउँमा उद्योगहरू संचालन गर्न सक्यौँ भने वन क्षेत्रबाट धेरै लाभ पाउन सक्छौँ। कुहिएको काठबाट पनि फाइदा लिन सक्छौँ हामी भोलिका दिनमा।

    प्रदेश ७ मा जडिबुटी उद्योग खोल्न सकिने अवस्था हो। यहाँ धेरै भटमास उत्पादन हुन्छ तर हामी भटमासलाई बेचेर सोविन खान्छौँ। त्यसैले यस विषयमा पनि मैले अध्ययन गरिरहेकी छु। हामी फलफूल बाहिर देशबाट ल्याएर धेरै दिनपछिको जुस खाँदै छौँ, यहीँको फलफूललाई प्रशोधन गरेर जुस बनाउने कुरामा पनि म अध्ययन गरिरहेकी छु।

    हाम्रो प्रदेशमा जल, जमिन, जंगल र खानीहरू पर्याप्त मात्रमा छन्। अरू प्रदेशको भन्दा यो प्रदेशको बारेमा जानकारी गराउन सके यो प्रदेशमा के छैन र? लुवा खानी, तामाखानी छ यहाँ। बैतडीमा लुवा खानी, तामाखानी र सिमेन्ट खानीसमेत छ। अल्लो प्रशोधन गरेर लुगा कपडा यहीँ बनाउन सकिन्छ।

प्रकाश पार्की

प्रकाश पार्की थाहाखबरका डडेल्धुरा संवाददाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]