|

सोलुखुम्बु : यहाँको थुलुङदूधकोसी गाउँपालिकामा पहिलोपटक लक्ष्मी विकास बैंकको शाखा सञ्चालनमा आएको छ। जिल्लाको नगरपालिका पछिको दोस्रो ठूलो गाउँपालिकाको रूपमा रहेको उक्त गाउँपालिकामा मंगलबारबाट लक्ष्मी विकास बैंकले सेवा सुरु गरेको हो। 
नेपाल राष्ट्र बैंकले दिएको सहमतिअनुसार मंगलबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको शाखा प्रबन्धक प्रयास अधिकारीले जानकारी दिए।

साबिक ७ वटा गाविसलाई समेटर बनाइएको उक्त गाउँपालिकामा हालसम्म कुनै पनि बैंक सञ्चालनमा नआउँदा यहाँका स्थानीय आर्थिक कारोबार गर्न दिनभर हिँडेर सदरमुकाम धाउन बाध्य थिए। 'अब एकदिन हिँड्नुपर्ने बाध्यता हट्यो' गाउँ कार्यपालिका सदस्य बुद्धिराज राईले भने, 'एकैदिनमा आर्थिक कारोबार गरेर सहजै घर फर्कन सकिन्छ।'

गाउँपालिकामा बैंकको शाखा स्थापना भएपछि स्थानीयवासी हर्षित भएका छन्। स्थानीय हर्कराज राईले सामान्य योजना सञ्चालनको लागि सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटेको भन्दै खुसी व्यक्त गरे। उनले भने, 'अबचाँहि सिंहदरबार गाउँ- गाउँमा आउने नै हो कि भन्ने विश्वास बढ्यो।'

सोलुखुम्बुको स्थानीय तहमा नयाँ बैंकको शाखा स्थापना हुने गाउँपालिकामध्ये थुलुङदूधकोसी पहिलो गाउँपालिका बनेको छ। सेवा सुचारु गरेको पहिलो दिन मंगलबार तीन दर्जनले खाता खोलेको बैंकले जनाएको छ।

गाउँपालिका अध्यक्ष असीम राई अहिले विदेश भ्रमणमा रहेकाले बैंकको औपचारिक उद्घाटन भने गरिएको छैन। केही दिनमा गाउँपालिका अध्यक्ष विदेशबाट फर्केपछि औपचारिक उद्घाटन हुने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.