पद्मरत्नले भने, 'किताब निकाल्ने तयारीमा छु'

|

काठमाडौं : बुधवबार मध्यदिउँसो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल हातमा केहीथान बुकी, फलफूल, दोसल्ला र आफैँले लेखेका केही पुस्तक बोकेर राष्ट्रकवि माधवप्रसाद घिमिरेकहाँ पुगे। साथमा थिए मन्त्री पत्नी तथा पूर्वसांसद मीरा ध्वजु, नेकपाका नेता सूर्य थापा, र केही पत्रकार।

केही समयअघि भारतको मेदान्त अस्पतालबाट उपचार गराएर आएका राष्ट्रकवि घिमिरे अहिले घरमा बेडरेस्ट गरिरहेका छन्। लाजिम्पाटस्थित राष्ट्रकवि घिमिरेको निवासमा पुग्दा उनले घरको माथिल्लो तलामा मन्त्री पोखरेललाई पर्खिरहेका थिए। मन्त्री पोखरेलले स्वास्थ्य अवस्था बुझ्न आएको भने पनि उनले उपचारपछि अहिले आफू ठीक रहेको बताए। उनले सरकारले आफ्नो उपचारमा सहयोग पुर्‍याएकोमा खुसीसमेत व्यक्त गरे। 'विवेकशील नेताहरू भए भने राम्रो हुनेरहेछ', राष्ट्रकवि घिमिरेले भने, 'मेरो भाग्य हो। मलाई भेट्न मन्त्री आउनुभयो खुसी लागेको छ।'

राष्ट्रकवि घिमिरेको सम्पूर्ण उपचारको बिलभरपाई सरकारलाई बुझाइएको घिमिरेकी छोरी किरण रेग्मीले जानकारी दिइन्। राष्ट्रकवि जस्ता सम्मानित व्यक्तिको उपचार गर्नु राज्यको कर्तव्य भएको भन्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सरकार सधैँ साथमा रहने बताए।

छलफलमा क्रममा राष्ट्रकवि घिमिरेले मन्त्री पोखरेलसँग कानेखुसीसमेत गरे। 'यता आउनुस् त' भनेर उनले मन्त्री पोखरेललाई केहीबेर कानैमा कुरा गरे। र केही लेखिएको कागजको टुक्रा थमाए। मन्त्री पोखरेलले पढे अनि पकेटमा राखे। तर, त्यो कागजमा के थियो? त्यो भने देखाइएन।

राष्ट्रकवि उपचार गराएर घर फर्केपछि स्वास्थ्य अवस्था ठीक रहेको र भारतमा उपचार गराएका डाक्टरसँग नियमित सम्पर्कमा रहेको उनकी छोरी घिमिरेले जानकारी दिइन्। राष्ट्रकवि घिमिरे आगामी असोज ७ गते १०० वर्ष हुँदै छन्। भने उनकी श्रीमती महाकाली भदौमा ८४ पुग्दै छिन्। सोही सन्दर्भमा एकै समय राष्ट्रकविको १०० वर्ष र श्रीमती महाकालीको ८४ मनाउने घिमिरेको परिवारको तयारी छ।

राष्ट्रकवि घिमिरेसँग बिदा मागेर मन्त्री पोखरेल स्वतन्त्र वामपन्थी नेता तथा मानवअधिकारकर्मी पद्ममरत्न तुलाधर, ७८ लाई भेट्न उनकै निवास लाजिम्पाट पुगे। संयोगले राष्ट्रकवि घिमिरे र नेता पद्मरत्न तुलाधरको निवास नजिकै पर्छ।

पद्मरत्नले भने, 'किताब निकाल्ने तयारीमा छु'

नेता पद्मरत्नलाई भेट्न सम्मानपत्र र कोसेलीहरूले पुरै रंगिएको भित्ताहरू नियाल्दै मन्त्री पोखरेल माथिल्लो तलामा पुगे। नेता तुलाधर हिजोआज खुट्टामा आएको समस्याका कारण उपचार गराइरहेका छन्। हिँड्नका लागि हातमा सेतो छडी लिएका पद्मरत्नलाई भेटेर मन्त्री पोखरेलले स्वास्थ्य अवस्थाको जानकारी लिए। नेता तुलाधर र मन्त्री पोखरेलले केहीबेर भलाकुसारी गरे भने विगतका राजनीतिक घटनाक्रम र उतारचढावसमेत याद गरे।

तुलाधरको बारेमा अहिले उनकी छोरी तथा अधिकारकर्मी सुम्निमा तुलाधरले डकुमेन्ट्री बनाउँदै छिन। भने उनको बारेमा नेपाल भाषामा जीवनी तयार हुँदै छ। जसको जिम्मा किरण मानन्धरले लिएका छन्।

अर्को वर्ष पुस्तक तयार हुनेगरी काम भइरहेको मानवअधिकारकर्मी तथा नेता तुलाधरका ज्वाइँ गौरी प्रधानले जानकारी दिए। कुराकानीका क्रममा तुलाधरले विगतमा सूर्य चिह्‍‍न छाप लिएर चुनाव लडेको स्मरण गरे। 'उमेर त खासै भएको होइन। तर, खुट्टाको छाला पातलो भएको कारणले हिँड्न अलिक समस्या भएको छ', उनले भने। सुरुमा नेपाल भाषामा पुस्तक तयार हुने र क्रमशः खस (नेपाली) र अंग्रेजी भाषामा पुस्तक प्रकाशन गरिने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.