|

सोलुखुम्बु : बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र फोर्चे ठाकरी छोलिङ गुम्बाको पुनर्निर्माण सुरू भएको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त गुम्बा पुनर्निर्माणको काम एक वर्षभित्र सक्ने लक्ष्य राखिएको गुम्बा पुनर्निर्माण समितिकी अध्यक्ष दावा ल्हामु शेर्पाले बताइन्।

खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने गुम्बा पुनर्निर्माणका लागि चार करोड रूपैयाँ आवश्यक पर्ने गुम्बा व्यवस्थापन समितिले जनाएको छ। अहिलेसम्म एक करोड ४८ लाख रुपैयाँ संकलन भएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष पेम्बारिता शेर्पाले बताए।  

गुम्बा पुनर्निर्माण हुने भएपछि स्थानीयबासी हर्षित छन्। विगतमा 'अफ सिजन'को समयमा काठमाडौंलगायत अन्यत्र जाने फोर्चेबासीहरु गुम्बाको पुनर्निर्माण सुरु भएपछि गाउँमै बसेका छन्। गुम्बा पुनर्निर्माणका लागि युवादेखि वृद्धवृद्धासमेत जुटेको अध्यक्ष शेर्पाले जानकारी दिए।  

सडक सुविधा नपुगेका कारण पुनर्निर्माणमा कठिनाइ भएको समितिको भनाइ छ। 'निर्माण सामाग्री ढुवानीको एक मात्र विकल्प हेलिकोप्टर हो', गुम्बा पुनर्निर्माण समितिकी अध्यक्ष शेर्पाले भनिन्', 'हेलिकोप्टरमा सामान ल्याउँदा प्रतिकेजी पाँचसय रुपैयाँ पर्छ।' 

२०५२ सालमा बनेको यो गुम्बा धार्मिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिन्छ। सगरमाथा सहितको अन्य हिमाल आरोहणका लागि आउने पर्यटक सोही गुम्बा हुँदै जाने गर्छन्। गुम्बा नाम्चेदेखि माथि पाङ्बोचेको बिचमा फोर्चे ठाकरी छोलिङ पर्छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.