|

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको स्थापनाकालदेखि नै काम गरेर इतिहास निर्माणमा योगदान गर्ने योद्धाको खोजी गर्न थालेको छ। पार्टीको इतिहास निर्माण गर्न योगदान गर्ने योद्धाको खोजी गर्दै ‘स्वतन्त्र सेनानी’ घोषणा गर्ने योजनाका साथ कांग्रेस अघि बढेको छ। 

‘लोकतन्त्र सेनानी सम्मान अभिया’ सुरु गरेर कांग्रेसले यस्ता योद्धाहरूलाई सम्मान गर्न सुरु गरेको हो। यो अभियानको संयोजकको भूमिका पार्टी नेता प्रदीप पौडेलले पाएका छन्। उक्त अभियान अन्तर्गत ७७ वटै जिल्लामा रहेर प्रजातन्त्र स्थापनामा योगद्धान गर्ने योद्धालाई सम्मान गर्ने बताइएको छ। 
कांग्रेसको उक्त अभियानलाई कतिपय पुराना कार्यकर्ताहरूले सकारात्मक लिएका छन् भने कतिपयले पार्टी पराजित भएपछि मात्र पुराना नेता सम्झिएको आरोप लगाएका छन्। 

अभियान अन्तर्गत वि.सं. २००३ देखि २०४७ सालसम्म योगदान पुर्‍याएका नेता तथा कार्यकर्तालाई सम्मान गरिनेछ। पार्टी स्थापनाताका देखि २०४७ सालसम्मका जिल्लाका पद्धाधिकारी तथा सदस्यलाई सम्मान गरिने संयोजक पौडेलले जानकारी दिए। यस्तै, २००४ देखि २०४७ सम्म महिला संघबाट जिल्लाको नेर्ततव गरेका महिलालाई सम्मान गर्ने उनले बताए। 

यसैगरी नेविसंघको स्थापना २०२७ देखि २०४७ सालसम्मका केन्द्रीय पदाधिकारी र सदस्यलाई सम्मान गर्ने बताइएको छ। २००७ सालमा प्रजातन्त्र स्थापनका लागि भएको आन्दोन, २०४६ सालमा भएको जनआन्दोलनमा योगदान गरेका सेनानीलाई कांग्रेसले सम्मान गर्नेछ।
यसका लागि जिल्लामा पुराना कार्यकर्ताको खोजी भइरहेको नेता पौडेलले जानकारी दिए। ‘प्रजातन्त्रका सेनानी, पार्टीका पुराना नेता खोजिरहेका छौँ’, उनले भने, ‘उहाँहरूको योगदानलाई कदर गर्दै जिल्लामै गएर सम्मान गर्ने छौँ।’

उक्त अभियान अन्तर्गत सुरुको चरणमा प्यूठानमा ६४ जनालाई स्वतन्त्र सेनानी घोषणा गरिएको पौडेलले जानकारी दिए। ‘अभियान अन्तर्गत हामी समंगलबार अर्घाखाँचीमा ५४ जनालाई सेनानी घोषणा गर्दै छौँ’, उनले भने, ‘अब एक वर्षभित्र देशभर सेनानी खोज्छौँ। हाम्रो लक्ष्य एक वर्षमा सक्नुपर्छ भन्ने हो। तर जिल्लाका नेर्ततव तहका साथीहरूले विषेश समयको अवसर पारेर घोषणा गर्नुपर्छ भनिरहनुभएको छ। त्यसले गर्दा अलिक समय लाग्न सक्छ।’ 
तत्कालीन नेकपा माओवादीले १० वर्षे शसस्त्र संघर्षको क्रममा शहादत प्राप्त गरेकालाई राज्यसँग पहल गरेर शहीद घोषणा गर्‍यो। तर कांग्रेसले देशको परिवर्तनका लागि लडेका कार्यकर्ताको मूल्यांकन गर्न नसकेको आरोप लाग्ने गरेको छ। 

कांग्रेस नेतृत्वले कार्यकर्ताको खोजी नगर्दा पार्टी कमजोर अवस्थामा पुगेको कार्यकर्ताहरूले आरोप लगाउने गरेका छन्। त्यसकारण पनि यो अभियान सुरु गरेको पौडेल बताउँछन्। ‘माओवादीले आन्दोलन गर्दा मृत्यु भएकालाई उसको पहलमा धमाधम शहीद घोषणा गरियो’, उनले भने, ‘तर त्यही आन्दोलनमा सुराकी भन्दै हत्या गरिएका कांग्रेस कार्यकर्ताको भने केही भएन। त्यसैले पनि यो अभियान हामीदले ल्याएका हौँ।’

यसरी योद्धाहरूलाई सम्मान गर्न सके पार्टीमा योगदान गरेकाहरू प्रति साच्चै सम्मान हुने कांग्रेस नेता बताउँछन्। प्रजातन्त्र स्थापनादेखि पुनस्र्थापनासम्म योगदान गरेका पार्टीका पुराना कार्यकर्तालाई सम्मानसँगै पार्टीले निकाल्ने स्मारिकामा पनि उनीहरूको नाम समावेश गरिने पौडेलले जानकारी दिए। ‘उहाँहहरूको नाम ठेगाना अभिलेखको रूपमा हामी स्मारिकामा राख्ने छौँ’, उनले भने, ‘ यसले हाम्रो इतिहासको परिचय दिन्छ।’ 

अभियानका क्रममा प्रजातन्त्र स्थापनका लागि आफ्नो ज्यान दिएका कार्यकर्ताहरूलाई पनि मरणोपरान्त सम्मान गरिने नेता पौडेलले जानकारी दिए। ‘प्रजातन्त्रका लागि संघर्ष गरेका कतिपय नेताहरू अहिले हुनुहुन्न। माओवादीको युद्धका बेला हत्या भएका कार्यकर्ता पनि हुनुहुन्छ’, उनले भने,‘उहाँहरूलाई हामी मरणोपरान्त सम्मान गर्छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.