|

गोरखा : नेकपाको सरकारविरुद्ध देशैभरी जिल्ला सदरमुकामहरूमा विरोध र्‍याली निकालेको कांग्रेसले गोरखामा पनि आफ्नो शक्ति प्रदर्शन गरेको छ। नेपाली कांग्रेस गोरखाका जिल्ला पार्टी कार्यालयबाट सुरू भएको विरोध र्‍याली हरमटारी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। उक्त सभालाई सम्बोधन गर्दै राष्ट्रिय सभाका प्रतिपक्ष दलका नेतासमेत रहेका सुरेन्द्र पाण्डेले सरकारको चर्का विरोध गरे।

‘सर्वसत्तावादी सोच, अधिनायकवादका साथ सरकार अघि बढिरहेको छ’ उनले भने ‘हुकुमको भरमा सरकार चलाउन पाइदैन। हुकुमका भरमा सरकार चलाउनेहरू हिजोका दिनमा पनि ढले, कम्युनिस्टहरू पनि त्यसरी नै ढल्नुपर्नेछ यो कुरा सम्झन योग्य होस्।’

हुकमको भरमा राज्य चलाउने राणा र राजा ढलेको भन्दै उनले सरकारलाई त्यसो नगर्न कांग्रेसले सूचित गरेको बताए। ‘हिजो हुकुमको भरमा राणाहरूले पनि राज्य गरे, हिजो हुकमको भरमा पञ्चहरूले पनि राज्य गरे, हिजो हुकमको भरमा राजाले पनि शासन गरे’ उनले भने ‘आज राणा कहाँ छन? आज पञ्च कहाँ छन्?  यदि यो सरकार पनि हुकुमको भरमा शासन गर्छ भने हिजो जुन हालत राणाको भयो, जुन हालत पञ्चको भयो र जुन हालत राजाको भयो अब त्यहि हालत हुने पालो केपी ओली र प्रचण्डको आउँदैछ। त्यसैले हामी समयमै सजक गराउन चाहन्छौँ।’

अब जनता सर्वसत्तावादी र अधिनायकवादी सरकारविरुद्ध सरकार जागी सकेको भन्दै कसैले यसलाई रोक्न नसक्ने उनले जिकिर गरे। ‘प्रजातन्त्रको लागि कांग्रेस लडिरहनेछ’ उनले भने ‘माओवादीको बन्दुकदेखि डराएनौँ। पहिले यहाँको प्रहरी प्रशासन लगाएर तर्साउन खोजिएको थियो तर, कोही डराएन। कोही भागेनन् कांग्रेसीहरू। यो आज पनि रहने छ र भोली पनि रहनेछ।’ सरकारले हुकमकै भरमा सर्वसत्ता लाद्न खोज्यो भने नेपाली कांग्रेस चुप लागेर नबस्ने उनको तर्क थियो।

विरोध र्‍यालीलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता केपी ओली नेतृत्वको सरकार अधिनायकवाद उन्मुख रहेको बताए। त्यस्तै कांग्रेसकी नेतृ कमला पन्तले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णय अक्षरस पालना गर्नुपर्ने बताइन्। उनले भूकम्पपीडितले थप पाउने एक लाख, बृद्ध भत्तालगायत कुराहरू यो सरकारले पुर्नविचार गरेर अघिल्लो सरकारले गरेको निर्णयलाई कार्यान्वयनमा लैजानुपर्ने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.