|

काठमाडौं : सरकार अधिनायकवादी शैलीमा प्रस्तुत भएको भन्दै नेपाली कांग्रेसले देशभर शक्ति प्रदर्शन गरेको छ। केन्द्रीय समितिको सर्कुलरअनुसार जिल्ला समितिले प्रत्येक जिल्लामा प्रदर्शन गरेका हुन्।

सबै जिल्लामा कांग्रेसले गरेको प्रदर्शन शान्तिपूर्ण भएको नेपाली कांग्रेसले जनाएको छ। मंगलबार भएको प्रदर्शनमा पाँच लाख बढी कार्यकर्ता सडकमा आएको प्रवक्ता विश्वप्रकाश शर्माले दाबी गरे। ‘यति कार्यकर्ता सडकमा ल्याउन सक्दैनौँ कि भन्ने डर थियो’, उनले भने, ‘तर सोचेभन्दा धेरै कार्यकर्ता सडकमा आउनुभयो, यसले हामीलाई अझ उत्साह थपेको छ।’

पार्टीको गतिविधिबाट असन्तुष्ट नेकपाका कार्यकर्ताहरू पनि प्रदर्शनमा सहभागी भएको उनले दाबी गरे। ‘सबै जिल्लामा शान्तिपूर्ण सहभागिता रह्यो। बिहानैदेखि पानी परे पनि सरकारको गतिविधिको विरोध गर्न हाम्रा पार्टीका कार्यकर्तादेखि सर्वसाधारण पनि सडकमा उत्रनुभयो’, उनले भने, ‘सरकारको गतिविधिबाट असन्तुष्ट रहेका नेकपाका कार्यकर्ता पनि प्रदर्शनमा सहभागी भएको रिपोर्ट प्राप्त भएको छ।’

नेपाली कांग्रेसका देशभर चार लाख ७० हजार ६५५ जना क्रियाशील सदस्य छन् तर प्रदर्शनमा भने क्रियाशील सदस्या संख्यभन्दा धेरैको सहभागिता भएकाले आगामी दिनमा कार्यक्रम तय गर्न पार्टीलाई उत्साह थपेको प्रवक्ता शार्माले जानकारी दिए। ‘यसले हामीलाई आगामी दिनमा कार्यक्रम तय गर्न उत्साह थपेको छ’, उनले भने, ‘अब हामी यही उत्साहका साथ तत्काल संसदमा खरो र महत्त्वपूर्ण भूमिका खेल्छौँ।’

मंगलबार एक दिनको सडक प्रदर्शन गरे पनि अब भने कांग्रेसले कुनै कार्यक्रम तय गरिसकेको छैन। तर आगामी दिनमा पनि सरकारको गतिविधि हेरेर कार्यक्रम तय गरिने उनले जानकारी दिए। तीन दिनपछि पदाधिकारी बैठक बस्ने र उक्त बैठकले थप निर्णय गर्न सक्ने उनले बताए। पछिल्लो समय कांग्रेसलाई एजेण्डाविहीनको आरोप लाग्ने गरेको छ। मंगलबारको प्रदर्शन पनि कुनै एजेण्डाबिनै गरेको सरकारवादी दलका नेताहरूले आरोप लगाएका छन्।

कांग्रेसले एजेण्डा बनाएको सभामुख र उपसभामुखको विषय अदालतसम्म पुगेकाले उक्त विषयमा विरोध गर्नुको कुनै तुक नरहेको कम्युनिस्ट नेताहरू बताउँछन्।

तर कांग्रेस प्रवक्ता शर्माले सरकारलाई लोकतान्त्रिक बनाउन आफूहरूको आन्दोलन गरेको बताए। ‘एजेण्डा कुनै ठूलो हुँदैन। अहिलेको सरकारको सबै निर्णय अलोकतान्त्रिक छ’, उनले भने, ‘हाम्रो विरोध सरकारलाई लोकतान्त्रिक चरित्रको बनाउन हो।’

फितलो व्यवस्थापन

प्रदर्शन खासगरी डा. गोविन्द केसी र सरकारबीच भएको सम्झौता अक्षरशः कार्यान्वयन गर्नुपर्ने, चर्को मूल्य वृद्धिका सभामुख र उपसभामुख छुट्टै दलको हुनुपर्ने, निषेधाज्ञा फिर्ता लिनुपर्ने, उपकुलपतिको अपमानजनक गिरफ्तारीको विरोध गर्ने, बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली छात्राहरूको मानमर्दन गर्ने अभिव्यक्तिका बारेमा कारवाहीका लागि दबाब बढाउनेलगायतका मुद्दाहरू थिए।

कांग्रेसले प्रदर्शन गर्दै गर्दा कतिपय स्थानमा भने व्यवस्थापन फितलो देखिएको थियो। ठूलै मास सडकमा उतारे पनि व्यव्सथापन फितलो हुँदा कतिपय कार्यककर्ता अलमलमा परेका थिए। कांग्रेसले करिब दुई साताअघि नै जिल्ला सभापतिहरूलाई प्रदर्शनका लागि तयारी थाल्न भनेको भए पनि केही जिल्लामा व्यवस्थापन फितलो भएको हाम्रो जिल्ला संवाददाताहरूले जनाएका छन्।

काठमाडौं जिल्ला समितिले निकालेको र्‍याली पनि निकै अव्यवस्थित देखिन्थ्यो। कतिपय कार्यकर्ताहरू रुटमै पनि अलमल देखिन्थे। भीड व्यवस्थानमा खटिएका स्वयंसेवकले पनि कतिपय कार्यकर्तालाई नियन्त्रण गर्न सकिरहेका थिएनन् तर जसोतसो भीड व्यवस्थापन गर्दै र्‍याली कोणसभामा परिणत भएको थियो।

विभिन्न जिल्लाहरूमा भएको प्रदर्शनमा केन्द्रीय नेताहरू पनि विभिन्न जिल्लामा पुगेका थिए। पार्टी केन्द्रले नखटाएका धेरै नेताहरू कार्यक्रममा सहभागी भए। पार्टी सभापति शेरबहादुर देउवा पनि कुनै पनि कार्यक्रममा सहभागी भएनन्। वरिष्ठ नेता रामचन्द्र पौडेल भने गृहजिल्ला तनहुँ पुगेका थिए। यस्तै पार्टी नेता प्रकाशमानसिंह, सहमहामन्त्री डा.प्रकाशशरण महत र नेता नवीन्द्रराज जोशीले काठमाडौंमा भएको प्रदर्शनमा सहभागी भएका थिए। यस्तै, गृहजिल्ला झापामा नेता कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा पुगेका थिए। मोरङमा नेता विजयकुमार गच्छदार गुगेका थिए।

कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी चितवन पुगेका थिए। यस्तै रमेश लेखक कैलालीमा भएको प्रदर्शनलाई सम्बोधन गर्न पुगे भने नेता दिलेन्द्रप्रसाद बडु काभ्रेमा र सुरेन्द्र पाण्डे गोरखा पुगेको हाम्रा जिल्ला संवाददाताहरूले जानकारी दिएका छन्।

काठमाडौंमा भएको प्रदर्शनको थप फोटो हेर्नुहोस्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.