|

बागलुङ : गत असार समान्तसम्म जिल्ला प्रहरीमा ४३ जना महिला हराएको उजुरी परेको छ। हराएकामध्ये १३ जना अभिभावकले आफ्ना मानिस फेला परेको जानकारी गराए। बाँकी ३० जना अझै बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालयको महिला सेलकी प्रमुख अनु राईका अनुसार, अझै ३० जना महिला बेपत्ता छन्। उनीहरूमध्ये धेरै जसो २० देखि ३५ वर्ष उमेर समूहका छन्। कहाँ र कसरी हराएका हुन्? भन्ने प्रहरीले अहिलेसम्म खासै अनुसन्धान गरेको छैन।

‘खोजी भइरहेको छ, तर अधिकांशले दोस्रो विवाह गरेर भागेको, अभिभावकको अनुमतिबिना विवाह गरेकाहरू धेरै भएजस्तो देखिन्छ’ प्रहरी उपरीक्षक दीपक रेग्मीले भने, ‘मानव बेचबिखनको अवस्था यहाँ खासै नभएकोले अभिभावक पनि गम्भीर देखिँदैनन्।’ छिटफुटबाहेक बेचबिखनमा पर्नेको संख्या यहाँ नभएको उनले बताए।

चालु वर्षमै दुईजना बालक र चार बालिका हराएका छन्। उनीहरूको पनि अहिलेसम्म पत्तो लागेको छैन। कहाँ र किन हराए भन्ने यकिन नभएपछि बालबालिकाको विषयमा भने प्रहरीले खोजी गरेको छ।

यसरी हराउने क्रम वर्षेनी बढ्दो दरमा छ। पछिल्लो पाँच वर्षमा यहाँका २९७ महिला हराएकोमा अहिलेसम्म ७६ जना मात्र फेला परेको तथ्यांक प्रहरीमा छ। अझै २२० जना भेटिएका छैनन्। आर्थिक वर्ष २०७०/०७१ मा ४३ महिला हराएकोमा ११ जना मात्र फेला परेका थिए। उक्त वर्ष हराएका १२ बालिकामध्ये चारजना मात्र भेटिएको राईले बताइन्। सात बालक हराएकोमा पाँच जना अझै बेपत्ता सूचीमा छन्।

त्यस्तै, २०७१/०७२ मा ५२ महिला हराएकोमा एकजना मात्र फेला परिन्, उक्त वर्ष १२ बालिका हराएकोमा कोही पनि फेला परेनन्। बालकतर्फ सातजना हराएकोमा तीनजना मात्र फेला परे।

त्यसैगरी २०७२/०७३ मा ७३ जना महिला हराएकोमा १७ जना भेटिए। ५६ जना महिला अझै बेपत्ता छन्। उक्त वर्ष १५ बालिका हराएकोमा चारजना मात्र भेटिएको सूचना प्रहरीमा आयो। बालक नौ जना हराएकोमा १ जना मात्र फेला परेका थिए।

२०७३/०७४ सबैभन्दा धेरै ८६ महिला हराएका थिए। उनीहरूमध्ये ३५ जना भेटिएको र ५१ अझै बेपत्ता छन्। यो वर्ष हराएका ११ बालिकामध्ये नौ जना भेटिएका थिए। रेग्मीका अनुसार, हराएका बालबालिका र महिला भेटिएर जानकारी नदिएकोले पनि यो ठूलो संख्या बनेको दाबी गर्छन्। ‘कतिपय भेटिएर आफ्नो गाउँघरमा काममा हिडिरहेका होलान्, हाम्रो सूचीबाट हटेका छैनन्’ रेग्मीले भने, ‘डरलाग्दो अवस्था भने होइन भन्ने हामीले बुझेका छौँ।’ महिला अधिकारकर्मीहरू भने यो डरलाग्दो अवस्था भएको बताउँछन्।

‘यो तथ्यांक मैले पहिलोपटक सुने, यो डरलाग्दो छ’ महिला विकास अधिकृत डिलकुमारी शर्माले भनिन्, ‘अब म पनि खोजी गर्छु।’ यो तथ्यांकबारे प्रहरीले कार्यालयमा समेत सूचना नदिएको उनले बताइन्।

विवाहको नाउँ दिएर छोड्दा बेचबिखन र हत्या सम्मका घटना भएर बाहिर आउन नसकेको पनि हुन सक्ने शर्माले टिप्पणी गरिन्। ‘अब बसैले चासो दिएर उनीहरू किन र कहाँ बेपत्ता भएका हुन्? भन्ने खोजी गर्नैपर्ने भयो’ शर्माले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.