|

काठमाडौं : अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा भने दशैं लगत्तै भर्खरै कार्यालय खुलेको भएकाले कुनै औपचारिक कार्यक्रम नराखिएको सहकारी तथा गरिवी निवारण मन्त्रालयका सूचना अधिकृत भरतप्रसाद आचार्यले जानकारी दिए। 

संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९३ देखि प्रत्येक वर्षको अक्टोबर १७ तारिखलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाउन थालिएको हो। राष्ट्रसंघका अनुसार विश्वभर झण्डै ३ अर्ब मानिस गरिबीको रेखामुनी छन्। चौधौं योजनाको आधारपत्र अनुसार नेपालमा कूल जनसंख्याको २१.६ प्रतिशत मानिस निरपेक्ष गरिबीको रेखामुनी रहेको सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ।

दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले ‘गरिबसँग सरकार’ कार्यक्रमलाई यथार्थ रुपमै रुपान्तरणका लागि राजनीतिक स्थिरतासँगै विकास प्रयासमा दीर्घकालीन राजनीतिक सहमति समेत आवश्यक रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघद्वारा परिभाषित अति कम विकसित मुलुकको दर्जाबाट नेपाललाई सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नती गर्ने गरी नेपालले लिएको दीर्घकालीन सोच प्राप्त गर्न वर्तमान सुस्त आर्थिक वृद्धिलाई उच्च, दिगो र फराकिलो बनाउनु आवश्यक रहेको उनको भनाइ छ। 

गरिवी निवारण नीतिको मस्यौदा, गरिब घर पहिचान कार्यक्रम, सहकारी मार्फत् गरिबी निवारणलाई टेवा दिन सहकारी ऐन २०७३ को मस्यौदा तयार गरी संसदको सम्बन्धित समितिमा पठाइसकेको मन्त्रालयले जनाएको छ। २५ जिल्लाका झण्डै तीन लाख ५६ हजार गरिब परिवारलाई यसै आर्थिक वर्ष भित्र परिचयपत्र वितरणको तयारी तिब्र पारिएको सरकारको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.