|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ताबाट राजीनामा दिएको विषयले राजनीतिक वृत्त तातेको छ। डा. गोविन्द केसी अनशनमा बसेको बेला पार्टीको निर्णयविपरीत भेट्न गएको भन्दै उनलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण सोधेपछि उनी असन्तुष्ट रहेको पछिल्लो समय चर्चामा छ।

पार्टी अध्यक्षद्वयको स्पष्टीकरणपछि असन्तुष्ट रहेका नेता श्रेष्ठले प्रवक्ताबाटै राजीनामा दिएको बताइएको छ। गत साउन ७ गते बसेको नौ सदस्यीय सचिवालयको बैठकमा श्रेष्ठलाई अध्यक्षले स्पष्टीकरण सोधेका थिए। त्यही स्पष्टीकरण सोधेलगत्तै श्रेष्ठले प्रवक्ताबाट राजीनामा दिएको बताइएको छ।

श्रेष्ठ अनशनरत डा. केसीलाई भेट्न गत साउन ६ गते टिचिङ अस्पताल पुगेका थिए। भेटका समयमा उनले माग पूरा गर्न पहल गर्ने प्रतिवद्धता जनाएका थिए। उक्त विषय आफ्नो सामाजिक संजालबाट उनले बाहिरसमेत ल्याएका थिए। बैठकमा अध्यक्ष प्रचण्डले प्रवक्ता श्रेष्ठलाई सोधे, 'तपाईं कसलाई सोधेर डा. गोविन्द केसीलाई भेट्न जानुभयो?' यो प्रश्नको विषय यतिबेला चर्चामा छ। उक्त प्रश्नपश्चात श्रेष्ठले एकै पटक 'तपाई‌ंहरूको प्रवक्ता मलाई चाहिँदैन' भन्दै आक्रोशित बनेको स्रोतले बताएको छ। प्रवक्ता श्रेष्ठ पार्टी एकताको सुरवातदेखि नै असन्तुष्ट थिए। तत्कालीन एनेकपा माओवादीको उपाध्यक्षसमेत भइसकेका उनलाई प्रवक्ता मात्र बनाएकोमा उनी नेतृत्वप्रति असन्तुष्ट थिए। आफूभन्दा जुनियर विष्णु पौडेललाई महासचिव र आफूलाई प्रवक्ता बनाएको भन्दै उनी नेतृत्वप्रति असन्तुष्ट थिए।

उनको राजीनामा प्रकरणबारे नेकपाले पनि केही बोलिसकेको छैन भने नेता श्रेठले पनि केही बोलेका छैनन् तर बिहीबार भएको एक कार्यक्रममा भने उनले प्रवक्ताकै हैसियतले सहभागिता जनाए।

अन्तरपार्टी महिला स‌ंजालले बिहीबार काठमाडौंमा गरेको एक अन्तर्क्रिया कार्यक्रममा सबै पार्टीका प्रवक्तालाई बोलाइएको थियो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा काठमाडौंबाहिर भएकाले सहभागी भएनन्। यस्तै, राजपाका महासचिव तथा प्रवक्ता केशव झाले प्रवक्ताका हिसाबले कार्यक्रममा सहभागिता जनाए। नेकपाका नेता श्रेष्ठले पनि प्रवक्ताकै रूपमा कार्यक्रममा सहभागिता जनाए। पटक पटक आयोजकले उनलाई नेकपाका प्रवक्ता भनिरहेका थिए तर उनले कुनै प्रतिवाद गरेनन्।

कार्यक्रमको अन्तिममा सम्बोधन गरेका श्रेष्ठ निकै भावुक देखिन्थे। सधैँको भन्दा नरम स्वरमा उनी भाषण गरिरहेका थिए। समय समयमा नेतृत्वप्रति पनि व्य‌ंग्य गरिरहेका थिए। महिलाको कुरा निकाल्दै उनी भनिरहेका थिए, ‘म अरू नेता जस्तो भित्र एउटा र बाहिर अर्कै बोल्ने नेता होइन। स्पष्ट बोल्छु, राम्रोलाई राम्रो भन्छु।’ उनी यतिमै रोकिएनन्। पटकपटक व्यंग्य गर्दै गए। उनले संविधानमा भएको महिला अधिकारको विषय निकाल्दै नेतृत्वप्रति व्यंग्य गरे।

‘महिला तथा दलितको हक मौलिक हकभित्र पर्छ तर अहिले पनि संविधानले तोकेअनुसारको अधिकार पाएको देखिँदैन’, उनले मुस्कुराउँदै भने, ‘यो अधिकार तपाईंहरूले अदालतमा मुद्दा हालेर पनि लिनुहुन्छ। तर यसो भनिररहँदा मलाई पनि अप्ठ्यारो त छ नै, पार्टीले मुद्दा हाल्न सिकाउँदै हिँड्छस् भनेर पार्टीबाट लेखेट्न सक्छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.