|

विराटनगर : विराटनगर-५ की कमला अहिले २५ वर्षकी भइन्। उनको दुःख सानो छैन। १४ वर्षकी छँदा गाउँघर छरछिमेकको करकापमा परी ४६ वर्षका राजेन्द्र कालाखेतीसँग विवाह भयो। १५ वर्षकी हुँदा कमलाको छोरो जन्मियो। एक महिनाअगाडि अर्थात् २५ वर्षकी हुँदा श्रीमान् राजेन्द्रको क्यान्सरले मृत्यु भयो।

अहिले कमलासँग ११ वर्षे छोरो अर्जुन र अर्जुनको ७ वर्षे भाइ पनि छन्। तर, जेठो छोरो बौद्धिक अपांगता भएका कारण कमलाले उनलाई खाटको खुट्टामा साङ्लोले बाँधेर राख्ने गरेकी छन्। सानै उमेरमा विवाह बन्धनमा बाँधिएर लथालिंग जीवन भोगिरहेकी विराटनगर-५ की कमला कालाखेतीलाई अहिले भएका दुईवटा बच्चा स्याहार गर्ने र पाल्न धौ-धौ परेको छ। वि.स. २०५० सालमा जन्मिएकी कमला सानै उमेरमा आमा बुबा बितेपछि अर्काको घरमा घरेलु कामदारका रूपमा काम गर्थिन्। १४ वर्षको कलिलो उमेरमा विवाह बन्धनमा बाँधिएकी कमलाका श्रीमान् भने त्यसबेला ४६ वर्षका थिए। 

सुरुमा कमलाले आफू सानै उमेरको भएको र विवाह गर्न लागेको व्यक्ति धेरै जेठो भएको भन्दै विवाह गर्न मानेकी थिइनन्। तर, घरेलु कामदारका रूपमा बसेको घरका मानिसले फकाएपछि उनी विवाहका लागि बाध्य (राजी) भइन्। कमलाको पहिलो विवाह भएपनि उनका श्रीमानको दोस्रो विवाह थियो। पहिलो श्रीमतीको मृत्यु भएपछि उनका श्रीमान राजेन्द्रले कमलासँग दोस्रो विवाह गरेका थिए।

विवाह भएको एक वर्षपछि कमलाले बालिका अवस्थामै छोरो अर्जुनलाई जन्म दिइन्। अपरिपक्क उमेर भएकाले कमलाले जन्म दिएको छोरा बौद्धिक अपांग भए। दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नुपर्ने कमजोर आर्थिक अवस्थाका कारण कमलाले बौद्धिक अपांगता भएको छोराको उपचार गर्न सकेकी छैनन्। जसले गर्दा उनलाई ७ वर्षदेखि डोरीले बाँधेर राख्नुपरेको छ।

स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा.बालकृष्ण साहका अनुसार कम उमेरका आमाबाट जन्मिएको बच्चा कम तौलको हुने, गर्भको अवधि पुग्नुभन्दा अगाडि नै जन्मिने हुँदा पूरा विकास हुन नसक्ने भएकाले सुस्त मनस्थितिको हुनसक्ने सम्भावना हुन्छ। सानै उमेरमा विवाह गरेर दुई सन्तानकी आमा बनेकी कमला आफैँ पनि पूर्ण स्वस्थ छैनन्। आर्थिक अवस्था कमजोर भएको कारण सानो उमेरमा सुत्केरी हुँदा पनि उनले राम्रो खानपान र स्याहार नपाएकोले बिरामी भइरहिन्छन्।

बौद्धिक अपांगता भएको जेठो छोरोले आफूले के गरिरहेको छु भन्ने थाहा पाउन सक्दैनन्। जसले गर्दा फोहोर खाने तथा बाहिर निस्किएर भुइँमा लड्ने हुनाले बाँधेर राख्ने गरेको कमला बताउँछिन्। दिनभर चिसो भुइँमै लडीबुडी गर्दै बस्ने अर्जुनको दिसा पिसाब पनि त्यही हुन्छ। ढोकामा ताला लगाएर काममा जानुपर्ने कमलाको बाध्यता छ। अर्जुनका ७ वर्षीय भाइ पनि छन्। श्रीमानको  मृत्यु भएपछि कमला र उनका दुई छोराको अहिले विचल्ली भएको छ। घरमा न त खाने चामल छ न त पकाउने ग्यास नै। छिमेकीसँग मागेर उनले दुई छोराको पेट भरिरहेकी छन्। 

अर्काको घरमा भाडामा बस्दै आएका उनीहरुलाई अर्जुनको अपांगता परिचयपत्र बनाएर आएको भत्ताले केही राहत हुने गरेको छ। छोराको अवस्थाले आफू काममा जान पनि नपाउने, काममा गए छोराको बिजोग भएपछि कमलाले कुनै संघ सस्थाले छोरा लगेर संरक्षण गरिदिए हुने आशा राखेकी छन्। आर्थिक अवस्थाकै कारण कान्छो छोरालाई पनि विद्यालय पठाउन नसकेको उनी बताउँछिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.