अर्थ : मेरो सपना

‘बनाना किङ’ कालु भन्छन् : कर्णाली किनारमा केरै केरा हुनेछ
SHARES

साउन १८, २०७५

    आफ्नै माटोमा पसिना चुहाउन छोडेर अरूको बालुवामा पसिना चुहाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हजारौँ नेपाली प्रत्येक दिन पलायन भइरहेका छन्। उनीहरूमध्ये अधिकांशले देशमा केही गर्ने माहोल नभएको बताउँछन्। 

    आफ्नै बलबुतामा केही गर्ने वातावरण नभएको भन्दै राहदानी बोकेर जहाज चढ्नेहरूका लागि कैलाली टीकापुरका कालु हमाल प्रेरणा बनेका छन्। छ दशक उमेर पुग्नै लाग्दा पनि अझै उनी बारीमै भेटिन्छन्। चरम प्रतिकूलतका बीच पनि आफ्नै बारीमा समृद्धि फलाइरहेका छन् हमाल। 

    १० बोटदेखि १० विगाहसम्मको यात्रा

    २०४० सालमा १० बोट केरा रोपेर व्यवसाय सुरु गरेका उनलाई त्यही १० बोट केराले अहिले ‘बनाना किङ’ भनेर चिनाएका छन्। १० बोटदेखि सुरु भएको उनको व्यावसायिक यात्रा अहिले १० विगाहमा पुगेको छ।

    शून्य प्रतिशत स्वदेशी उत्पादन रहेको अवस्थामा उनले केरा खेती सुरु गरेका थिए। अहिले कुल बजारको ४० प्रतिशत स्वदेशी केराले ओगटेको छ। उनले कैलालीका साथै कंचनपुर, बर्दिया, रूपन्देही, चितवन, नवलपरासीलगायतका जिल्लाका किसानलाई केरा खेतीबारे सिकाएका छन्।

    खोलाको पाखाबारी पुख्र्यौली जमिन जुन, कुनै कामको थिएन, त्यसमा हमालले केरा खेती गरेर त्यसैमा रेस्टुरेन्ट र रिसोर्ट संचालन पनि गरेका छन्।

    बिएस्सी एजीपछि केरा व्यवसाय

    हमालमा सानै उमेरदेखि सफल कृषक बन्ने सोच थियो। कक्षा ८ पढ्दै गर्दा ऐच्छिक कृषि विषयले उनको ध्यान तान्यो। माध्यमिक तहपछि पनि कृषि विषय नै रोजे उनले। वि.सं. २०३९ मा चितवनबाट कृषि विषयमा स्नातक (बिएस्सी एजी) गरे। 

    २०३९ सालमा कृषि क्याम्पस रामपुरबाट स्नातक गरेर घर पर्किएर आउँदा उनलाई जागिरको ओइरो आएको थियो। त्यस बेला कृषिमा स्नातक गरेका व्यक्तिहरू नगन्य थिए। उनीसँग दुई विकप्प थिए– जागिर गरेर आनन्दले जिन्दगी बिताउने वा केही नयाँ गर्ने।

    उनले दोस्रो विकल्प रोजे। ‘एउटै बाटोमा धेरै हिँड्यो भने ट्राफिक जाम हुन्छ। त्यसो भयो भने सबैलाई कठिनाइ हुन्छ। त्यसैले मैले नयाँ बाटो खोज्ने निर्णय गरेको हुँ’, हमालले भने, ‘मलाई अर्काको नोकर बन्नु थिएन। म आफ्नै प्रयासमा मालिक बन्न चाहन्थेँ।’

    वि.सं. २०४० मा उनले एकै पटक धेरै कुराको परीक्षण गरे। केरा खेती, बंगुर पालन, हाँस पालन, कुखुरा पालन, नर्सरी, भैँसी पालन, गाई पालन, तरकारी खेती, कागती खेतीलगायत धेरै कुरा सुरु गरे। उनी केरा खेतीबाहेक अरूमा सन्तुष्ट हुन सकेनन्। 

    केराका ४० परिकार

    पछिल्लो समय उनले केरा खेतीसँगै केराका परिकारमा जोड दिएका छन्। उनले अहिले टीकापुर नगरपालिकाभित्र तीन ठाउँमा केराका परिकार पाउने रेस्टुरेन्ट चलाएका छन्। ती रेस्टुरेन्टमा केराका ४० परिकार पाइन्छ। केराको रोटी, पकौडा, खीर, अचार, चटनी, तरकारी, अमलेट, मःमः, चिप्स, सेकुवा, स्लाइस, वाइन, सक्सी, सलाद, टिकियालगायत ४० प्रकारका परिकार पकाएर खुवाउने गरेका छन् उनले। ‘मैले अहिले खेतीसँगै परिकारमा पनि जोड दिएको छु’, उनले भने, ‘परिकारका लागि भए पनि केरा खेती अझै विस्तार गर्ने सोचमा छु।’

    उनले हाल आफ्नै १० विगाह जमिनमा मात्रै केरा खेती गरेका छन्। यो वर्ष परिकार बनाउन केरा अभाव भएपछि चार विगाह भाडामा लिएर केरा खेती गर्दैै छन्। उनी विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाहरूबाट केराका बारेमा प्रशिक्षण पनि दिने गर्छन्। 

    पूरा भएन एक लाख केराका बोट पुर्‍याउने लक्ष्य

    हमालले केरा खेती विस्तार गरेर साढे २६ विगाह पुर्‍याएका थिए। टीकापुरलाई केरा खेतीक क्षेत्रका रूपमा चिनाउँदै थिए। तत्कालीन द्वन्द्वले उनलाई अछुतो राखेन। ज्यान जोगाउन मुस्किल भएपछि उनी केरा खेती छाडेर बजार सरे। यो समयमा उनले आर्थिक रूपमा निकै घाटा व्यहोर्नुपर्‍यो। 

    ‘मेरो ५० लाख रुपैयाँ नोक्सान भयो। ज्यान नै जोखिममा परेपछि भाग्नै पर्‍यो’, उनले भने, ‘एक लाख केराका बोट पुर्‍याउने लक्ष्य चकनाचुर भयो।’
    उनी करिव छ वर्ष केरा खेतीबाट टाढा रहे। देशको माहोल विस्तारै शान्त बन्दै गयो। उनी पुनः केरा खेतीमै फर्किए। 

    हमालले कृषि पर्यटनको विकास गर्न सके एक वर्षमा भारत र चीनका मात्रै दुई करोड ८० लाख व्यक्तिलाई पर्यटकका रूपमा भित्र्याउन सकिने बताए। ‘केराको बोटमुनि बसेर केराको परिकार खानुको मज्जा बेग्लै छ’, उनले भने, ‘भोलि सुन्तला र स्याउको बोटमुनि बसेर त्यसैको परिकार खाने गरी एग्रो टुरिजमलाई अघि बढाउनुपर्छ।’

    कर्णालीको किनार केरामय बनाउने सपना

    हमाल अहिले कर्णालीको किनारमा केरा रोप्न व्यस्त छन्। कर्णाली कोरिडोरको अभियानमा लागेका हमाल कर्णालीको बगरमा रहर फलाउने सोचमा छन्। ‘ग्रामीण क्षेत्र, खोलाका बगर, पाखाबारीको जमिन, जसलाई कसैले चासो दिएन, मैले त्यसमा सुन्दरता देखेँ र त्यसलाई सिँगारे, अहिले कृषिलाई ग्ल्यामर बनाइरहेको छु’, हमालले भने। 

    नेपालको लामो नदी कर्णालीको बगरमा केरा रोपिरहेका छन् हमाल अहिले। सहजै डल्फिन देख्न पाइने भएकाले पनि यहाँ पर्यटकहरूलाई ल्याउन सहज हुने उनी बताउँछन्। ‘बाह्रै मास डल्फिन हेर्न पाइन्छ। अहिले बगर भएकाले उठारलाग्दो छ। हामी केरा रोपेर हलियाली बनाउँछौँ, त्यसपछि हेर्नलायक हुनेछ यो ठाउँ’, उनले भने।

    कैलालीको टीकापुरलाई ‘एग्रो टुरिजम’को विशेष क्षेत्रका रूपमा विकास गरी अहिले उनले मासिक दुई लाख बढी कमाइ गरिरहेका छन्।

    हमालले कृषि पर्यटनको विकास गर्न सके एक वर्षमा भारत र चीनका मात्रै दुई करोड ८० लाख व्यक्तिलाई पर्यटकका रूपमा भित्र्याउन सकिने बताए। ‘केराको बोटमुनि बसेर केराको परिकार खानुको मज्जा बेग्लै छ’, उनले भने, ‘भोलि सुन्तला र स्याउको बोटमुनि बसेर त्यसैको परिकार खाने गरी एग्रो टुरिजमलाई अघि बढाउनुपर्छ।’

    भारत र चीनको एक प्रतिशत जनसंख्या मात्रै पर्यटकका रूपमा भित्र्याउन सक्ने हो भने कृषि पर्यटनले मुलुकको आर्थिक अवस्थालाई निकै माथि पुर्‍याउने उनको विश्वास छ।

    सरकारले पहिलो पटक वि.सं. २०७१ देखि राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारको घोषणा गर्‍यो। हमालले पहिलो पटकमै सर्वोत्कृष्ट कृषकको पुरस्कार प्राप्त गरे। उनले अहिले खाद्यवस्तुको विकल्पसँगै कृषि पर्यटनलाई पनि जोड दिएका छन्।

    गुमनाम चिनारी : अन्तर्राष्ट्रिय खेलाडी 

    कृषि पर्यटनका अभियन्ताका रूपमा चिनिँदै गएका हमालको अर्को लुकेको पाटो पनि छ। उनी भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी पनि हुन्। उनले सन् १९८२ मा दिल्लीमा भएको एसियन गेममा भाग लिएका थिए। ५२ केजीबाट खेलेका उनले सातौँ स्थान हासिल गरे। तत्कालीन समयमा एसियन गेम ओलम्पिकपछिको ठूलो मानिन्थ्यो। त्यसबेला उस गेममा करिव ५० देशको सहभागिता रहन्थ्यो। ‘त्यत्तिबेला निकै गाह्रो हुन्थ्यो। अहिले जस्तो सजिलो थिएन’, उनले भने, ‘त्यो बेलामा ठूलै उपलब्धि हासिल गरेको मानिन्थ्यो।’

    उनी वि.सं. २०३९ र २०४१ मा आफ्नो ब्याचमा राष्ट्रिय च्याम्पियन बनेका थिए। कृषि पेसामा लागेपछि उनले खेल जीवन त्यागेको बताए। 

    सम्पन्न घरानाका सामान्य व्यक्ति 

    उनका भाइहरू संलग्न दिनेश ग्रुप सुदूरपश्चिमको प्रमुख व्यापारिक घराना हो। गोपाल हमाल (गोपी), श्याम हमाल, देवेन्द्र हमाल धनगढीमा बसेर सुदूरपश्चिमका अग्रणि व्यापारीमध्ये पर्छन्। तर उनी कर्णाली किनारको मनिकापुर गाउँमा केरा खेती गरेर बसेका छन्। 

    उनी भन्छन्, ‘समृद्धि त गाउँगाउँमा आउनुपर्छ। शहरमा त छँदै छ।’ उनको मनमा कृषि पेसा छाडेर भाइहरूकै व्यापारिक यात्रामा सरिक हुने कुरा कहिल्यै आएन। ‘मेरो मन कृषि पेसामा अभ्यस्त भइसकेको थियो। कृषि पेसाबाहेक मैले अरू केही सोच्नै सकिनँ’, उनले भने।

भानुभक्त आचार्य

आचार्य थाहाखबरका कैलाली संवाददाता हुन् । इमेल : bhanuavenues@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]