|

धनगढी : सरकारी छाप तथा दस्तखत किर्ते गरी ठगी गर्दै आएका नेपाली सेनाका पूर्वजम्दार धनबहादुर गुरुङसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरी सार्वजनिक गरेको छ। छाप र दस्तखत किर्ते प्रयोग गरी चारित्रिक प्रमाणपत्र बनाउने गरेको आरोपमा प्रहरीले सेनाका पूर्वजम्दारसहित उनका सहयोगी कैलारी गाउँपालिका- ६ का टीकाराम चौधरीलाई पक्राउ गरेको हो। 

कैलालीको धनगढी उपमहानगरपालिका- ३ स्थित विकास सेक्युरिटी सर्विस प्रा.लि. संचालन गर्दै आएका गुरुङलाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको हो। नक्कली प्रमाणपत्र बनाउने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान अघि बढाउँदा उनीहरूले बनाउने गरेका नक्कली छाप दस्तखतसहित गुरुङ र चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि वलीले बताए।

‘विशेष सूचनाका आधारमा विकास सेक्युरिटी सर्भिसमा छापा मार्दा नक्लली छाप प्रयोग गरेर बनाएका प्रमाणपत्र, प्रिन्टर र अन्य सामग्रीहरू पनि बरामद गरेका छौँ’, कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वलीले जानकारी दिए। उनीहरूले प्रहरी प्रधान कार्यालयको र सशस्त्र प्रहरी प्रधान कार्यालयको छाप, कैलाली, कंचनपुर र सुर्खेत प्रहरीको नाइलन छाप नक्कली बनाएर प्रयोग गर्दे आएको प्रहरीले बताएको छ।

विभिन्न स्कुल र प्रधानाध्यापककाे छापसमेत प्रहरीले बरामद गरेको छ। गुरुङले विकास सेक्युरिटी सर्भिस प्रा.लि.बाट भारत तथा नेपालका विभिन्न स्थानमा सुरक्षा गार्ड पठाउँदै आएको छ। १४ जनाका कीर्ते छाप दस्तखत लगाई तयारी अवस्थामा राखेका चारित्रिक प्रमाणपत्र, कागज कीर्ते बनाउन प्रयोग गरिने कम्युटर, रंगीन प्रिन्टरलगायतका सामान प्रहरीले बरामद गरेको जनाएको छ। दुवै जनालाई सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा मुद्दा चलाइने वलीले बताए।

सहजकर्ता भन्दै ठगी गर्ने पक्राउ 

त्यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीले दलितमैत्री गरिबी निवारण फेडोको सहजकर्ता भन्दै गठी गर्ने गोदावरी नगरपालिका- ५ की कल्पना बोगटी, कंचनपुरको कृष्णपुर- ८ की दुर्गा भट्ट र कृष्णपुरकै सुनिता भण्डारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ। उनीहरूले कैलाली र कंचनपुरमा १८१ जना बढीबाट बाख्रापालन, भैँसीपालन, कुखुरापालन, सिलाइकटाइलगायतका काम गरिदिने भन्दै ठूलो रकम लिने गरेको प्रहरीले बताएको छ। ‘तीनै जनाले १३ लाख रुपैयाँ बढी रकम लिएको खुल्न आएको छ। उनीहरूलाई पक्राउ गरी हामी अनुसन्धान गरिरहेका छौंँ’, कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वलीले जानकारी दिए। तीनै जनाविरुद्ध १८१ जनाले उजुरी दिएको पनि उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.