|

लमजुङ : तीनतिर झाडी, एकातिर पहरा र पहरामा गाईखुरे झरना। डुम्रे–बेसीशहर सडकखण्डको छेवैमा रहेको झण्डै १५० मिटर उचाइको गाईखुरे झरना बेसीशहर नगरपालिका–१ मा पर्छ।

लमजुङ सदरमुकाम बेसीशहर नजिकै रहेको गाईखुरे झरना आन्तरिक पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ। डुम्रे–बेसीशहर सडक खण्ड अन्तर्गत पर्ने गाइखुरे झरना अत्यधिक मनोरम र आकर्षक भएकोले सबैको रोजाइमा परेको बेसीशहर नगरपालिका–२ का वडाध्यक्ष गणेश कँडेलले बताए।

मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशय नजिकै रहेको यो झरना जिल्लावासीका लागि वरदान सावित भएको छ। सदरमुकाम वरिपरी कुनै पर्यटकीय गन्तव्य नभइरहेका बेला यस झरनाले बालबालिकादेखि युवा युवती अनि वृद्धहरु सबैको मन जितेको छ। झरनाको पानीमा पौडी खेल्न हरेक शनिबार आउने गरेको जनविकास मावि बेसीशहरका छात्र विवेक गुरुङले बताए।

झरनाको मनोरमतालाई देखेर लमजुङस्थित पशुपति प्रसाद गणले दुई वर्षअघि झरनासम्म पुग्ने गोरेटो बाटो, पौडी खेल्नेहरूका लागि पोखरी अनि आराम गर्ने घर (प्रतीक्षालय) निर्माण गरेको थियो। आफ्नै जनशक्ति र विवेक प्रयोग गरी सम्भावना भएर पनि ओझेलमा परेको मनोरम गाईखुरे झर्नामा बुट्टा भरिदिएको तत्कालीन गणपति सुभाङ्गत कुटुवालले बताए। गाईखुरे झरनानजिकै नेपाली सेनाले निर्माण गरेको संरचनाहरुलाई गणपति कटुवालले तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई हस्तान्तरण गरेका थिए।

संघीय संरचना अनुसार गाईखुरे झरनाको क्षेत्र अहिले बेसीशहर नगरपालिकाभित्र पर्छ। अपार प्राकृतिक सम्पदाको विकास तथा संरक्षणमा नगरपालिकाको भावी योजना भएको नगरप्रमुख अर्यालले बताए, ‘बर्खाको समयको झरनाजस्तै हिउँदको महिनामा पनि बनाउने वैकल्पिक योजना नगरपालिकाको रहेको छ। झरनाबाट नगरपालिकाले कर उठाउने गरी संस्थागत रूपमा टेन्डरमा चलाउने योजना छ।’

यो झरना अवलोकन गर्ने, पौडीको आनन्द लिने, झरनाको पानीमा भिजेर शितल अनुभूति गर्ने उद्देश्यले दिनहुँ २००को हाराहारीमा सर्वसाधारण पुग्ने गरेको बेसीशहर नगरपालिका–१ का वडा अध्यक्ष बलराम श्रेष्ठले बताए, ‘विशेषगरी विदाको दिनमा झरनामा नुहाउने र हेर्नेहरुको संख्यामा दोब्बर हुने गरेको छ।’ वडा अध्यक्ष श्रेष्ठका अनुसार असार, साउन र भदौ महिनामा झरनामा नुहाउन, रमाउन र हेर्न आउनेहरुको संख्या बढी हुन्छ। हिउँदको महिनामा पानी कम हुने हुँदा झरना र छाँगो देख्न सकिँदैन।

झरनामा क्यानोनिङ समेत सञ्चालन हुने गरेको छ। साहसिक पर्यटकीय खेलमा रमाउन चाहने पर्यटक वा स्थानीयवासी जो कोही पनि उक्त झरनामा सुरक्षित तरिकाले क्यानोनिङ गर्न सकिने हुँदा यसको प्रवर्धन गर्न सकिने खेलाडी सुशीला श्रेष्ठले बताइन्।

गतवर्ष साउन १३ र १४ गते गाईखुरे झरनामा क्यानोनिङ गरिएको थियो र यो महिनामा पनि पनि क्यानोनिङ गर्ने तयारी भइरहेको लमजुङ मिडिया नेटवर्कका निर्देशक सिजन श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.