|

गुल्मी :  जिल्लाको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा ९२.४ प्रतिशत वित्तीय प्रगति गरेको छ। गाउँपालिकाले गत आर्थिक वर्षमा कुल २४ करोड ६९ लाख ५० हजार ५०४ रुपैयाँ ४० पैसा बराबरको बजेट ल्याएको थियो।

चालुतर्फकाे बजेट दुइकरोड ७४ लाख ९४ हजार विनियोजन गरिएको थियो। जसमा दुई करोड ६७ लाख ९४ हजार ५४ रुपैयाँ ८५ पैसा खर्च भएको छ। त्यस्तै पुँजीगततर्फ विनियोजन भएको ११ करोड ९३ लाख ३३ हजार ५०४ रुपैयाँ ४० पैसामध्ये १० करोड ३८ लाख ७० हजार १५१ रुपैयाँ ९९ पैसा खर्च गरिएको गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकालाई सशर्त अनुदानतर्फ १० करोड एकलाख २३ हजार प्राप्त भएको थियो। जसमध्ये नाै करोड ७५ लाख ४७ हजार ५४३ रुपैयाँ ८ पैसा रकम खर्च गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए। 

४४४ मध्ये ४१० योजना कार्यान्वयन

गत आथिक वर्षमा गुल्मीदरबार गाउँपालिकामा गाउँसभाद्वारा ४४४ योजनाहरू स्वीकृत भएका थिए। जसमध्ये ४१० अर्थात ९२.४१ प्रतिशत योजना कार्यान्वयन भएको छन्। अधिकाशं योजनाहरू उपभोक्ता समितिमार्फत भएको पनि गाउँपालिकाले जनाएको छ। त्यस्तै गाउँपालिकाले गाउँपालिका कार्यालयमा डिजिटल बडापत्र, विद्युतीय हाजिरी तथा गुनासो सुन्ने अधिकारीको पनि व्यवस्था गरेको छ। त्यस्तै २७ वटा कानुन तर्जुमा गरी कार्यान्व्यनमा ल्याइएकोमा १७ वटा राजपत्रमा प्रकाशित समेत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए। 

लक्ष्यभन्दा बढी आम्दानी

गाउँपालिकाले गतआर्थिक वर्षमा १० लाख रुपैयाँ बराबरको आन्तरिक आम्दानीको अनुमान गरेको थियो। तर आर्थिक वर्षको अन्त्यमा लक्ष्यभन्दा बढी अर्थात १३ लाख ४४ हजार  ६९२ रुपैयाँ आम्दानी प्राप्त गरेको गाउँपालिकाले जनाएको छ। 

आगामी वर्षको बजेट २८ करोड ८८ लाख

गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को लागि २८ करोड ८८ लाख ८९ हजार बराबरको बजेट अनुमान गरेको जनाएको छ। जसमध्ये समानीकरणतर्फ १३ करोड ९३ लाख ८९ हजार, सशर्ततर्फ १३ करोड र आन्तरिक आम्दानी २० लाख अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले जानकारी दिए। गाउँपालिकामा एक करोड ७५ लाख गत बर्षको मौज्दात रकम रहेको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए। त्यस्तै खर्चतर्फ पुँजीगतमा १० करोड ३६ लाख ३६ हजार, चालुतर्फ पाँच करोड ५२ लाख ५३ हजार र सशर्ततर्फ १३ करोडको अनुमान गरिएको अध्यक्ष थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.