|

काठमाडौं : वि.सं. २०६० को अन्त्यतिर तत्कालीन माओवादीले गरेको सशस्त्र युद्ध उत्कर्षमा पुगेको थियो। माओवादी सशस्त्र युद्धबाट जनता आक्रान्त थिए। तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि जनताले झनै सास्ती भोग्नुपर्‍यो। जनता दुई बन्दुकको बीचमा परे। कतिपय सर्वसाधारणले पनि बिनाकारण ज्यान गुमाउनुपर्‍यो।

शहरमा शाही सरकारको बन्दुक र गाउँमा तत्कालीन विद्रोही माओवादीको बन्दुकको अातंक जस्तै थियो। गाउँमा माओवादीले सरकारको सुराकी भनेर जनतालाई दुःख दिइरहेका थिए भने शहरमा माओवादी भनेर बन्दुकधारी तत्कालीन शाही सेनाले दुःख दिइरहेका थिए।

यो विषयले तत्कालीन पशुपति बहुमुखी क्याम्पस चाबाहिलका स्वतन्त्र विद्यार्थी युनियनका सभापति कुन्दनराज काफ्ले (हाल नेपाल विद्यार्थी संघका महामन्त्री)लाई भतभती पोल्यो। उनलाई लाग्यो, जनता निरकुंश राजतन्त्र चाहन्छन् कि प्रजातान्त्रिक गणतन्त्र? यो विषयले उनको दिमागमा नराम्ररी प्रभाव जमायो।

नेविसंघले पनि क्याम्पस क्याम्पसमा जनमतसंग्रह गर्ने निर्णय गरेको थियो। त्यही निर्णयअनुसार देशमै पहिलो पटक जनमतसंग्रह भयो। जनमतसंग्रहको 'ब्यालेट पेपर'मा निरंकुश राजतन्त्र, संवैधानिक राजतन्त्र र प्रजातान्त्रिक गणतन्त्र समावेश गरिएको थियो। त्यसबेला प्रजातान्त्रिक गणतन्त्रका पक्षमा ७० प्रतिशत बढी जनमत आयो। त्यसपछि देशभरका क्याम्पसमा जनमतसंग्रह भए।

जनमतसंग्रहपछि काफ्ले शाही सरकारको निशानामा परे। शाही सरकारले पटक पटक दुःख दिन थाल्यो उनलाई। ‘शहरमा शाही सरकार र गाउँमा माओवादीले आक्रान्त बनाएका थिए। शहरमा जताततै मान्छेलाई सर्च गरेर दुःख दिने गर्थे भने गाउँमा साँझ परेपछि बन्दुकका आवाज सुनिन थाल्थे’, काफ्ले भन्छन्, ‘राजनीतिमा नलागेका व्यक्तिहरू पनि मानसिक रूपले विक्षिप्त थिए। त्यसैले जनताको प्रतिनिधित्व गर्ने विद्यार्थी के चाहन्छन् भनेर जनमतसंग्रह गर्‍यौँ।’

त्यसबेला तत्कालीन सरकार र विद्रोहीबीचको हिंसात्मक द्वन्द्वको निकाश जनताले खोजिरहेका थिए। जनतमतले पनि त्यही देखायो। तर काफ्लेले भने जनमतसंग्रहको नेतृत्व गरेका कारण पटक पटक दुःख झेल्नुपर्‍यो। त्यसपछि उनी पटक पटक गरेर २५-३० पटक जेल परे।

जनमतसंग्रहपछिको एक दिन राजा ज्ञानेन्द्रको निरंकुश शासनको विरुद्ध रत्नपार्कमा विरोध कार्यक्रम भइरहेको थियो। काफ्ले वीर अस्पतालमा थिए। उनी आन्दोलनमा सहभागी थिएनन् तर तत्कालीन सरकारले उनलाई पक्राउ गर्‍यो। ‘त्यो आन्दोलनको भोलिपल्ट पशुपति क्याम्पसको वार्षिक उत्सव थियो। स्ववियुको सभापति भएकाले विद्यार्थीका एजेण्डा मैले प्रस्तुत गर्नुपर्ने थियो’, उनले भने, ‘पक्राउ पर्नुहुँदैन भनेर आन्दोलनमा सहभागी भएको थिइनँ। वीर अस्पतालबाट हेर्दै थिएँ तर मलाई सरकारले टार्गेट गर्‍यो र पक्राउ गर्‍यो।’

त्यसपछि उनलाई प्रहरीले अनामनगरमा लगेर राख्यो। त्यसबेलाको यातना सम्झिनै मन लाग्दैन उनलाई। ‘त्यो बेला प्रहरीले साह्रै यातना दिन्थ्यो। धेरै कुट्थ्यो पनि ’, उनले भने, ‘एक पटक त प्रहरीले कान नै टोक्यो।’ त्यस बेला भोगेको पीडा र यातनालाई गणतन्त्र स्थापनाले भुलाइदिएको थियो। तर त्यसबेला जुन उत्साह र जाँगरका साथ सडकमा आएका थिए, अहिलेको परिस्थितिले निकै उत्साह घटाएको काफ्ले बताउँछन्।

०००

जनमतसंग्रह गर्नुअघिको कुरा हो, पशुपति क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनिययनले पाँचवटा कुकुरलाई माला लगाएर सम्मान गर्‍यो। कुकुरलाई घरको रक्षकको रूपमा लिइन्छ। कुकुर इमान्दार हुन्छ भन्ने गरिन्छ तर त्यसबेला राजा कुकुरजति पनि इमान्दार नभएको भन्दै स्ववियु सभापति काफ्लेको नेतृत्वमा पाँचवटा कुकुरलाई सम्मान गरिएको थियो।

‘त्यसबेला तत्कालीन राजा ज्ञानेन्द्र देश दौडाहामा थिए तर उनी जनताप्रति उत्तरदायी थिएनन्’, उनी भन्छन्, ‘देशको संविधानविपरीत राजै चलिरहेका थिए। त्यस कारण कुकुरलाई सम्मान गरियो।’

पाँचवटा कुकुरलाई ‘श्री’ लेखेर सम्मान गरिएको थियो त्यसबेला। त्यसले श्री ५ को सरकारको संकेत गरेको कुन्दन बताउँछन्। त्यसबेलादेखि नै उनले सरकारको निशानामा परेका कारण पनि जनमतसंग्रहपछि पनि पटक-पटक पक्राउ पर्नुपरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.