फिचर

गैरे सुरेशको त्यो ऐतिहासिक मोड!
SHARES

साउन २५, २०७५

    काठमाडौं : केही समय अगाडि बानेश्वर क्षेत्र आन्दोलनको चरम उत्कर्षमा पुगेको अवस्था थियो। हजारौँ आन्दोलनकारीलाई व्यवस्थित गर्न र कुनै मानवीय तथा भौतिक क्षति हुन नदिन सरकारले प्रशस्त सशस्त्र प्रहरी परिचालन गरेको थियो। आन्दोलनले चरम रूप लिँदा झडपको स्थिति सिर्जना हुने निश्चितप्राय: नै थियो। झडपको स्थिति सिर्जना हुँदै गर्दा सशस्त्र प्रहरी बलका जवानहरू भीडलाई तितरवितर गराउन सक्दो मिहिनेत गर्दै थिए।

    त्यही बेला कोही पछाडिबाट बोल्यो- 'तपाईं त पुलिस पो हुनुहुँदो रै'छ है?' संगीतकार तथा सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक सुरेश गैरेलाई हातमा ढुंगा बोकेको एक आन्दोलनकारीले जिज्ञासु भएर सोधेपछि गैरेले तत्कालै जवाफ दिए, 'के हुनुपर्थ्यो यसबेला?' आन्दोलनकारीले बोलिहालेछ, 'तपाईंको गीत सुनेको छु, म तपाईंको फ्यान हुँ।'

    उसले यति भन्दै गर्दा अर्का सशस्त्र प्रहरीका जवान लौरो लिएर त्यो आन्दोलनकारीतिर आए। ऊ कुलेलम ठोक्यो। उनले हल्का मुस्कुराउँदै भने, 'फुच्चेले मेरो गीत सुनेको भएर ढुंगा हान्न आँट गरेनछ।'

    गैरे सुरेश नेपाली सांगीतिक क्षेत्रमा स्थापित नाम हो भने सशस्त्र प्रहरीमा अब्बल कर्मचारी। पाल्पा जिल्ला तानसेन नगरपालिकाको एक गाउँमा जन्मिएका उनी  परिवारका जेठा छोरा हुन्। उनले प्राथमिक शिक्षा बालकन्या भगवती प्राथामिक विद्यालबाट सुरु गरेका थिए। प्राथमिक शिक्षामा उनी कहिल्यै प्रथम भएनन्। 'सेकेन्ड' उनको भागमा पर्थ्यो। उनी भन्छन्, 'प्राथमिक शिक्षामा त मलाई सेकेन्ड हुने टेन्डर नै परेजस्तो थियो।' प्राथमिक शिक्षा सकेर जनता माध्यमिक विद्यालयमा अध्ययनका लागि तानसेन बजार पुगे। त्यसबेला विशेष गरेर लुम्बिनी र धौलागिरी क्षेत्रका अब्बल विध्यार्थी पढ्ने स्कुल थियो त्यो। त्यहाँ उनको पढाइमा अजीवको परिवर्तन आयो। एकाएक उनी अब्बल विधार्थी ठहरिए। उनी भन्छन्, 'प्रथम हुनु नै अब्बल विधार्थीको चिनारी थियो।' विनोद,अर्जुन, दिपक, मनोज,राजकुमार, नीरज, दिपा, रेखा, विजु, गीता त्यसबेला उनका समकालीन साथीहरु थिए,जो सगँ उनको प्रतिष्पर्धा हुन्थ्यो।

    घरबाट उनी पनि हिँडे आफ्नो जिन्दगीको शिला खोज्न। बुटवलको यस्तो चोकमा उनी अड्किए कि त्यहाँबाट केही किलोमिटर दक्षिण हिँडेको भए भारत पस्थे र गुमनाम हुन्थे तर भाग्यवश उनी पूर्व लागे अनि काठमाडौं आइपुगे।

    वि.सं. २०५३ मा उनले एसएलसीमा प्रथम श्रेणी हासिल गरेर उत्तीर्ण भए। त्यसबेला उनको समाजमा चलिआएको चलन थियो, रोजगारीका लागि भारत जाने। उनी भन्छन्, 'विवाह गर्ने पैसा कमाउने नै एसएलसीपछिको हाम्रो समाजको अन्तिम लक्ष्य थियो। प्राय: साथीहरू भारत पसिसकेका थिए भने केही साथी सरकारी जागिरका लागि तयारी गर्दै थिए।' समाजमा अनौठो कथन छ- 'छोरा र बाँसलाई जति छिटो छुट्याइदियो, उति नै छिटो प्रगति हुन्छ।' घरबाट उनी पनि हिँडे आफ्नो जिन्दगीको शिला खोज्न। बुटवलको यस्तो चोकमा उनी अड्किए कि त्यहाँबाट केही किलोमिटर दक्षिण हिँडेको भए भारत पस्थे र गुमनाम हुन्थे तर भाग्यवश उनी पूर्व लागे अनि काठमाडौं आइपुगे।

    मान्छेको जिन्दगी हरेक मोडले परिवर्तन गरिदिन्छ। यदि त्यो दिन दक्षिण लागेको भए गैरे सुरेश कहाँ हुन्थे, सायद कसैलाई थाहा हुँदैन पनि थियो। उनी पूर्व लागे, फलस्वरूप आज नेपाली सांगीतिक क्षेत्रमा एक होनाहार संगीतकारको रूपमा स्थापित बने। त्योभन्दा ठूलो कुरा एक अब्बल राष्ट्रसेवक पनि पायो देशले। उनी भन्छन्, 'परिचय ठूलो कुरा रहेछ। बाँकी सब ऐजन ऐजन।' उनको त्यो 'ऐतिहासिक मोड' नेपाली गीत-संगीतका लागि बन्यो। एउटा राष्ट्रसेवकका लागि सावित भयो।

    काठमाडौंको दिनचर्या र सांगीतिक क्षेत्रमा आगमन 

    उनी काठमाडौं आएर रत्नराज्यलक्ष्मी क्याम्पसमा अंग्रेजी र अर्थशास्त्र विषयको विद्यार्थी बने वि.सं. २०५४ मा। बानेश्वर उनको डेरा थियो। एक दिन उनका गाउँका खेम क्षेत्री (त्यसबेला पढाउने काम गर्थे, अहिले नेपाल आर्मीका मेजर छन्) सँग भेट भयो। एउटै गाउँ र एउटै स्कुलमा पढ्ने भएकाले ममता र आत्मीयता जोडियो।आत्मीयता र ममताले जोडिएका उनीहरू एकै डेरा गरेर बस्न थाले- लगनखेलमा। सामान्य परिवार भएकाले घरबाट पैसा माग्न अप्ठ्यारो लाग्थ्यो उनलाई। यस कारण पढाउन थाले पाटन स्कुलको प्रावि तहमा। बिहान कलेज, दिउँसो पढाउने पेसा राम्रै चल्दै थियो। एक दिन खाना खाएर सुत्ने तर्खरमा थिए उनी। नजिकको अर्को घरमा हार्मोनियमको आवाज सुनियो। हरेक दिन वाद्यवादनका आवाज सुन्न थालेपछि खोजीनीति गरे उनले- आखिर को हो यो यति मीठो धून बजाउने?

    उनी रहेछन् राजेश थापा, अहिलेका चल्तीका संगीतकार। चिनापरिचयपश्चात् उनीहरूको घुलमिल बढ्दै गयो। गैरेलाई पनि संगीतप्रति मोह बढ्दै गयो। उनी सम्झँदै भन्छन्, 'राजेश मभन्दा सानो हुनुहुन्थ्यो। उहाँको कला देखेर मलाई पनि संगीत सिक्न रहर लाग्यो र उहाँसँग हार्मोनियम बजाउन सिक्न थालेँ।'

    थापाले पनि उनलाई विभिन्न गीतका नोटेसन लेखेर हार्मोनियममा बजाउन सिकाउँथे। दिनभरको थकानलाई भुलेर सिक्थे गैरे। थापाकहाँ हार्मोनियम सिकिसकेपछि उनले एउटा हार्मोनियम किने, त्यो पनि थापासँग ऋण मागेर। उनले हार्मोनियम देखाएर अनुहारमा सन्तुष्टिको भाव झल्काउँदै भने, 'ऊ त्यही हो, जसले मलाई संगीतकार बनायो। अहिले बिग्रिएको भएर आराम पाएको छ।'

    उनी भछन्, 'एक दिन दाइ (शक्तिबल्लभ)ले मेरो डायरीबाट एउटा गीत निकालेर संगीत भरेर मलाई गीतकार बन्ने अवसर दिनुभयो।' यस क्षेत्रमा संगीतकार भन्दा पहिले गीतकारका रूपमा भित्रिएका हुन् उनी। भन्छन्- शक्तिदाईको त्यो साथले नै मलाई गीत-संगीतमा ल्यायो।

    त्यसबेला गीत संगीतमा लगाव हुनेले जाँच दिएर पास भए क्लास लिन पाइने नाचघरको नियम थियो। सुरेशले जाँच दिए। सुर बिग्रियो। फेल भए। जिन्दगीमा कहिल्यै फेल नभएका उनी पहिलो पल्ट फेलको अनुभव लिने मान्छेको सूचीमा सामेल बने। 'फेल भएको जाँचबाट हो, जिन्दागीबाट होइन', उनले यस्तै केही सोचे त्यसबेला।जसरी पनि संगीत नसिकी छोड्दिनँ भनेर उनी लागे- डोरेमीमा भानुभक्त ढकाल, ईश्वर अमात्य, गुरुदेव कामतकहाँ। पछि गुरुदेव कामतसँग लामो समय जोडिए उनी।

    उनी काम गर्न भनेपछि थकाइ भुल्थे किनकि कामले नै उनको काठमाडौंमा शानदार जिन्दगी बाँच्न सक्ने अवस्थाको सिर्जना गरिसकेको थियो। उनी शक्ति बल्लभको घरमा बच्चाहरूलाई ट्युसन पनि पढाउँथे। व्यस्त जीवनका बाबजुद पनि उनी डायरीमा गीत लेख्थे। डायरीमा मिलन बिछोडका अनगिन्ती गीत थिए, जसमा एउटा राष्ट्रिय गीत पनि थियो। उनी भछन्, 'एक दिन दाइ (शक्तिबल्लभ)ले मेरो डायरीबाट एउटा गीत निकालेर संगीत भरेर मलाई गीतकार बन्ने अवसर दिनुभयो।' यस क्षेत्रमा संगीतकार भन्दा पहिले गीतकारका रूपमा भित्रिएका हुन् उनी। भन्छन्- शक्तिदाईको त्यो साथले नै मलाई गीत-संगीतमा ल्यायो।

    उनको एउटा सिद्दान्त छ, 'जे कुरा सिकिन्छ, त्यो लागू गर्नुपर्छ।' दुई वर्षको संगीत सिकाइपछि उनले आफ्नै शब्द, संगीत र स्वरमा पहिलो गीत रेकर्ड गरे। दोस्रो लोकदोहोरीमा पनि उनले काम गरे। शब्द थियो विपीन घिमिरेको, जो अहिले जापानमा छन्। पहिलो पल्ट टिभीमा प्रोमो बजेको सम्झँदै उनी भन्छन्, 'ओहो, संसारै जितेजस्तो पो भएको थियो त!' त्यसपछि उनले आफ्नो मुस्कानलाई लामो समय स्वतन्त्र छोडिदिए।

    दुईवटा गीत गाइसकेपछि उनलाई लाग्यो, 'गायनमा मैले गरी खान्नँ।' जिन्दगीमा धेरै कुरा अवलम्बन गर्ने कोसिस गरिन्छ। हरेक कुरामा सफल हुनै पर्छ भन्ने छैन। सफलता मात्र जिन्दगीको मानक होइन। प्रयास ठूलो कुरा हो। रुममेट दाइ आर्मीको सेकेण्ड लेफ्टिनेन्टमा भर्ती भएपछि उनी एरेन्जर किरण कँडेलको घर नजिक कोठा सरे। एक दिन कँडेलले भनिदिएछन्, 'तिम्रो स्वर ठीकठीकै हो तर संगीत र शब्द बुलन्द छ।' कँडेलको 'ठीकठीकैको' भन्ने प्रतिक्रियाले उनले आफ्नो स्वर झुर छ भन्ने बुझे। झुर कुरामा धेरै बेर अडिनु हुँदैन भनेर संगीतको बिट मात्र अँगाल्ने अठोटमा पुगे सुरेश।

    संगीत सिकाइ जारी थियो। पढाइमा उकालो लाग्दै जाँदा पढाउने क्लास पनि बढुवा भइरहेको नै थियो उनको। वि.सं. २०५७ तिर उनले सबै गीतकारको गीतसंग्रह किने साझा प्रकाशनबाट। मनपर्ने गीतमा संगीत भर्थे। संगीत भरिसकेपछि उनले ती गीतकारलाई फोन गरेर भन्थे, 'सर मैले तपाईंको शब्दमा संगीत भरेको छु, एकचोटि सुनिदिनुपर्‍यो।' तर कसैले  रेस्पोन्स दिँदैनथे त कतिबाट स्वीकृत भएन।

    एक दिन उनलाई पुन: गीत गाउने रहरले कुत्कुतायो। उनी एक संगीतकारकहाँ पुगे। ती संगीतकारले पैसा एकदमै धेरै भनिदिए। उनी भन्छन्, 'उनले यति धेरै रकम भनिदिए कि त्यति पैसा कमाउन मलाई वर्षौं लाग्थ्यो। त्यस दिनदेखि गायनमा मेरो रुचि कहिल्यै भएन।' त्यो घटनापश्चात् आज पनि कोही गीत गाउँछु भनेर आउँछ तर पैसा छैन भन्छ भने उसको अवस्था हेरेर उनले फ्रिमा संगीत गरिदिन्छन्। उनी भन्छन्, 'किनकि मेरो विगत पनि त यस्तै थियो नि!'

    'मेरो रात जून आयो, ए गजलकी धून आयो' गजलमा संगीत भरेर २०६० सालतिरको एक बिहान गीतकार डा. कृष्णहरि बरालकहाँ पुगे उनी- 'एक फुल अनेक पत्र'  संग्रह बोकेर। बरालले उनलाई एकदमै सम्मानजनक स्वागत गरिदिए। यो गजलको धून सुनेर एल्बम गर्नुपर्छ भन्ने कुरामा बरालले ऊर्जा थपिदिए। केही समयमा नै म्युजिक नेपालमा १० वटा गजल सस्तो दरमा रेकर्ड गरेर बिम्ब एल्बम तयार गरे। त्यसबेला योगेश वैद्य, सपना श्री, जगदीस समाल, स्वरूपराज आचार्यलगायतले स्वर दिएका थिए, जुन एकदमै चर्चित बन्यो।

    त्यसपछि उनी नेपाली मूलधारको संगीतकारको रूपमा स्थापित बने। त्यसपछि उनका 'सम्भावना', 'चर्चा', 'गुमनाम', 'शरद'लगायत २० बढी एल्बम बजारमा आएका छन्। यस्तै, उनले 'नाइँ नभन्नू ल २', 'शब्द', 'राजधानी' चलचित्रमा समेत संगीत भरेका छन्।

    गीतको मामिलामा उनको आफ्नै धारणा छ। भन्छन्, 'सबै गीतलाई उत्तिकै मिहिनेत गरिन्छ तर सबै गीतहरू श्रोताहरूले मनपराउँछन् र चर्चित हुन्छन् भन्ने हुँदैन किनकि हरेक गीतले पनि आआफ्नै भाग्य लिएर आउँछन्।'

    उनले संगीत गरेका गीत/गजलहरू 'यहाँ देशको छ चिन्ता', 'मर्ने कसैलाई रहर हुँदैन', 'किन हजुर नबोलेको', 'तिम्रो मेरो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ', 'कति बोलेर पछुताउँछन्' आदि हरेक उमेर र वर्गका श्रोताका लागि लोकप्रिय छन्। कर्णप्रिय छन्। 'यहाँ देशको छ चिन्ता' खासमा सहायक रथी राम राणालाई गाउन दिने कुरा थियो तर प्राविधिक कारणवश यो गीत दीपक लिम्बूले गाएको बताउँछन् उनी। गीत गजललाई आफ्नो जीवनको महत्त्वपूर्ण उपलब्धि मान्छन उनी। अब छिट्टै सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल, जो साहित्यमा शैलेन्द्र शरदले परिचित छन्, उनको शब्दमा नयाँ एल्बम 'शरद- २' केही दिनमा  बजारमा ल्याउने अन्तिम तयारीमा छन् उनी।

    शिक्षकबाट सशस्त्र प्रहरिमा

    सांगीतिक क्षेत्रमा भर्खर वामे सर्दै गरेका सुरेश 'बिम्ब' एल्बम चर्चाको शिखरमा थियो। यता सँगैका साथीहरू सुब्बा खरिदार भइसकेका थिए। उनी संगीत र शिक्षण पेसालाई एकैचोटि अगाडि बढाउँदै थिए। पाल्पामा बस्ने बुबाआमा आफ्नो छोराप्रति ठूलो भर थियो। यस कारण उनमा स्थायी जागिर खानुपर्ने दबाब पनि उस्तै। बुबाआमाले कहिलेकाहीँ उनलाई फोन गरेर सम्झाउँथे, 'तैँले आफ्नो लागि स्थायी पेसा कि गर्नुपर्छ, होइन भने गर्नुपर्छ। नत्र भने गर्नुपर्छ।'

    स्नातकोत्तर सकेका उनी अधिकृतभन्दा तल लड्न तयार थिएनन्। सरकारले आवेदन खुला गरेको थिएन। एक दिन उनी नेपाली सांगीतिक क्षेत्रका एक शिखर पुरुष अम्बर गुरुङलाई भेट्न उनको डेरा हाँडीगाउँ पुगे। बिम्ब एल्बमको बारेमा लामो गफपश्चात् गुरुङले भने- 'तिम्रो संगीतको ज्ञानले म हर्षित छु तर याद गर्नू, पहिले स्थायी जागिर खानू, नत्र मेरो जस्तै नाजुक आर्थिक अवस्थाबाट गुज्रनुपर्छ।' यो कुरा गैरेलाई क्लिक गर्‍यो। त्यसबेलासम्म पनि गुरुङको आर्थिक हैसियत नाजुक थियो।  

    एउटा शिक्षकले जिन्दगीमा आफ्ना विध्यार्थीलाई कैयौँ ज्ञान बाँड्छ। हजारौँ आफ्ना अनुभव बाँडेको हुन्छ तर एक दुई ज्ञान र अनुभवको कुराले विध्यार्थीको जीवन परिवर्तन गरिदिन्छन् भनेजस्तै गुरुङको उक्त भनाइपश्चात् उनलाई लाग्यो- 'सरकारले जुन पदका लागि आवेदन खुला गर्छ, म फाराम भर्छु।' केही  दिनमा सरकारले  प्रहरी निरीक्षकको आवेदन खुला गर्‍यो। उनले त्यहाँ आवेदन दिए।

    यता, आफूले पढाउने स्कुलमा उनले सूचना जारी गरे- 'अबको छ महिनामा म प्रहरी निरीक्षक हुन्छु, अर्को शिक्षक खोज्नुहोस्।' त्यहाँका शिक्षकहरू भन्थे, 'पहिले नाम निकाल्नुहोस् न, किन हतार?' उनी भन्छन्, 'म जेमा हात हाल्थेँ, त्यहाँ सफलता मिल्नुपर्छ भन्ने मान्यता राख्थेँ। यसलाई आफूप्रतिको आत्मविश्वास भन्दा गलत हुँदैन।' नभन्दै उनी पास भए। शिक्षण पेसाको छ वर्षे अनुभवलाई बिट मार्दै उनी सशस्त्र प्रहरीको जिम्मेवार पदमा पुगे। उनी भन्छन्, 'यो पेसा सामान्य होइन, हामीलाई विश्वास गरेर सिंगो समुदाय आरामले सुत्न पाउँछ। स्वतन्त्र भएर हिँड्न पाउँछन्। हामीलाई हरेक जनताले रक्षा कवच मान्छन्। मलाई यसैमा गौरव महसुस हुन्छ।'

    उनी कास्की, पर्वत, नेपालगंज, काठमाडौं, महोत्तरीमा पुगिसकेका छन्। शान्ति स्थापनार्थ लाइबेरिया पुगे भने अर्को पटक सुडानको डाफरमा पर्यवेक्षक (इन्डिभिज्युअल पुलिस अफिसर्स)का रूपमा काम गरेका छन्। संयुक्त राष्ट्रसंघले दक्षिण कोरियामा संचालन गरेको अन्तर्राष्ट्रिय तालिम युनाइटेड नेसन्स चाइल्ड प्रोटेक्सन कोर्समा सहभागी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृतहरू अब्बल ठहरिएका थिए। उक्त तालिममा नेपाल प्रहरीका उपरीक्षक सन्दीप भण्डारी र उनको समूह प्रथम भएको थियो। विश्वका विभिन्न मुलुकबाट छानिएर आएका २२ जना वरिष्ठ अधिकृतमा नेपालबाट सहभागी समूहले सबैलाई पछि पारेको थियो।

    आफू कति सफल, कति असफल भनेर उनले कहिल्यै सोचेका छैनन्। मान्छे जन्मिसकेपछि समय, परिस्थिति र अवस्थाले केही न केही बनाउँछ। कसैलाई सफल बनाउला, कसैलाई असफल। प्रयास महत्त्वपूर्ण कडी हो भन्ने मान्यता छ उनको। उनी समयसँगै आफ्नो अथक प्रयासले संगीतकार र प्रहरी नायव उपरीक्षक बने। उनी भन्छन्, 'आफू के बन्ने भन्ने कुरा मान्छेमा भरपर्छ तर हरेक मान्छेले प्रयास गर्न छोड्नुहुँदैन। प्रयास गर्नका निम्ति हामी सबैलाई दिनको समान २४ घण्टा छुट्याइएको जो छ।'

राजु पौडेल

पत्रकार पौडेल २०७४ माघदेखि थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुची राख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]