आयल निगमको साढे तीन अर्ब घट्यो,

|

काठमाडौं : आर्थिक वर्ष २०७४/७५ मा ठूला करदाताले बुझाउने राजश्‍वमा उल्लेख्य कमी आएको छ। यो आर्थिक वर्षमा ठूला करदाता कार्यलयमार्फत झण्डै डेढ खर्ब रुपैयाँको राजश्व उठेकोमा प्रमुख १० ठूला करदातामध्ये अधिकांसको राजश्व घटेको हो।

तर, अघिल्लो आव २०७४/०७५ मा सबैभन्दा बढी कर तिर्नेमा क्रमश: निजी क्षेत्रको दूरसञ्‍चार सेवा प्रदायक संस्था एनसेल र सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकम रहेका थिए। यी दुवै संस्थाको नै उल्लेख्य राजश्‍व घटेको देखिएको छ। त्यस्तै सरकारी स्वामित्व भएको नेपाल आयल निगमको राजश्‍वमा पनि उल्लेख्य गिरावट आएको छ।

अन्तराष्ट्रिय बजारमा मूल्य बढ्यो निगमको नाफा घटेपछि ठूला करदाता कार्यालयमा बुझाउने राजश्‍वमा उल्लेख्य कमी आएको हो।

आर्थिक वर्ष २०७३/०७४ मा ठूला पाँच करदाताबाट ४८ अर्ब १३ करोड राजश्व उठेकोमा २०७४/०७५ मा  सबैभन्दा बढी तीर्ने पाँच संस्थाबाट ४० अर्ब ८४ करोड रुपैयाँ राजश्‍व उठेको छ। ठूला करदाता कार्यलयमार्फत उठाइने यो राजश्‍व मुख्यतय आयकरअन्तर्गतको हो।

एनसेल र एनटिसीको कमी

यो वर्ष पनि सबैभन्दा बढी कर तिरेको एनसेलको राजश्‍वमा गत वर्षको तुलनामा एक अर्ब ८४ करोड रुपैयाँ राजश्‍व घटेको छ। एनसेलले अघिल्लो आर्थिक वर्षमा पुँजीगत लाभकर बाहेक १६ अर्ब ५५ करोड रुपैयाँ राजश्‍व बुझाएकोमा गत आवमा १४ अर्ब ७१ करोड राजश्‍व बुझाएको छ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले आर्थिक वर्ष २०७४/०७५ मा नौ अर्ब ९६ करोड राजश्‍व बुझाएको छ। जवकि अघिल्लो आर्थिक वर्षमा १३ अर्ब ७२ करोड रुपैयाँको राजश्‍व बुझाएको थियो। यो गत वर्षको तुलनामा तीन अर्ब ७६ करोड कमी हो।

सूर्य नेपाल र गोर्खा ब्रुअरीको बढ्यो

दुई आर्थिक वर्षमा नै धेरै कर बुझाउनेमा तेस्रो स्थानमा रहेको बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको राजश्‍व भने बढेको छ। सूर्य नेपालले २०७४/०७५ मा आठ अर्ब २७ करोड रुपैयाँ राजश्‍व ठूला करदाता कार्यालयमार्फत बुझाएको छ।

सूर्य नेपालले अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ९ करोड रुपैयाँ बढी बुझाएको हो। अघिल्लो आर्थिक वर्षमा  सात अर्ब १८ करोड रुपैयाँको राजश्‍व बुझाएको थियो।

आर्थिक वर्ष २०७४/०७५ मा धेरै राजश्‍व तिर्नेको संख्यामा चौँथो स्थानमा रहेको गोर्खा ब्रअरीले पनि यो राजश्‍व बढाएको छ। उसले अघिल्लो आर्थिक वर्षको तुलनामा ८४ करोड राजश्‍व बढाएको हो। आर्थिक वर्ष २०७३/०७४ मा चार अर्ब १९ करोड राजश्‍व बुझाएको गोर्खा ब्रुअरीले २०७४/०७५ मा पाँच अर्ब ३ करोड राजश्‍व बुझाएको छ।

आयल निगमको साढे तीन अर्ब घट्यो 

सरकारी स्वामित्वको नेपाल आयल निगमको पनि झण्डै साढे तीन अर्ब राजश्‍व घटेको छ। आयल निगमले २०७३/०७४ को तुलनामा ठूला करदाता कार्यालयमा तीन अर्ब ४० करोड कम राजश्‍व दाखिला गरेको छ।

भन्सार र बूढी गण्डकी लागि उठाएको करसहितको रकम गत वर्षको तुलनामा करिब आठ अर्ब रुपैयाँ बढे पनि आयकरमार्फत सरकारलाई बुझाउने राजश्‍व घटेको निगमका नायव कार्यकारी निर्देशक नगेन्द्र शाहले बताए। 'अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्यो निगमको नाफा घटेपछि ठूला करदाता कार्यालयमा बुझाउने राजश्‍वमा उल्लेख्य कमी आएको हो' शाहले भने। निगले २०७३/०७४ मा पाँच अर्ब ६९ करोड राजश्‍व बुझाएकोमा गत वर्ष जम्मा दुई अर्ब २९ करोड राजश्‍व बुझाएको छ।

२०७३/०७४ मा धेरै राजश्व बुझाउनेमा निगम चौँथो स्थानमा रहेकोमा गत वर्ष आठौँ स्थानमा पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.