सभापतिको भ्रमणका कारण साउनमा असम्भव

|

काठमाडौं : नेपाली कांग्रेसको विधान मस्यौदा समिति गठन प्रक्रिया पुनः टरेको छ। मंगलबार बसेको बैठकले मस्यौदा समितिका बारेमा छलफल नै नगरेकाले साउनभित्र मस्यौदा समिति गठन हुन नसक्ने लगभग निश्चित भएको हो।

मंगलबारको बैठकमा पार्टी नेताहरूले मस्यौदा समिति गठन गर्ने आन्तरिक तयारी गरे पनि विषय नै प्रवेश नगरेपछि समिति गठन प्रक्रिया अन्योलमा परेको हो। अहिलेसम्म मस्यौदा समिति गठन नभएपछि भदौमा बस्ने भनिएको महासमिति बैठक अन्योलमा परेको छ।

पार्टी सभापति शेरबहादुर देउवा बुधबार विदेश भ्रमणका लागि सिंगापुर जाँदैछन्। उनी कति दिनमा फर्कने हुन् भन्ने टुंगो लागेको छैन। त्यसकारण साउनमै मस्यौदा समिति निर्माण हुने सम्भावना लगभग टुंगिएको छ। पार्टीले भदौमा गर्ने भनेको महासमिति बैठकमा विधान परिमार्जन गर्ने भनिएको छ।

संविधान निमार्ण भएको दुई वर्ष बितिसक्दा पनि कांग्रेसको विधान भने पुरानै शैलीमा छ। पार्टीको विधानमा अहिलेसम्म स्थानीय तह र प्रदेश समिति उल्लेख छैन। त्यही विषय परिमार्जनका लागि पार्टीले महासमिति बोलाएको हो। तर महासमितिमा प्रस्तुत हुने परिमार्जित विधान तयार गर्नका लागि समिति गठन गर्ने भनिए पनि पार्टीको आन्तरिक विवादका कारण अहिलेसम्म मस्यौदा समिति बन्न सकेको छैन। पार्टीको संस्थापन पक्षले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले समितिमा बस्ने सदस्यको नाम नदिइएका कारण समिति गठन हुन नसकेको आरोप लगाउँदै आएको छ।

सभापति देउवाले नौ सदस्यीय मस्यौदा समिति बनाउन प्रस्ताव गरेका छन्। जसमा संयोजकसहित पाँच आफू पक्षका नेता राख्ने र वरिष्ठ नेता पौडेल समूहबाट चारजनाको नाम मागेका छन्। पौडेलले सिटौला समूहलाई पनि मनाएर नाम दिनुपर्ने हुन्छ। त्यसले पौडेललाई समितिमा बस्ने सदस्यको नाम पठाउन सकस छ।

मंगलबारको बैठकमा पार्टी वरिष्ठ नेता पौडेल र नेता डा रामशरण महतले धारणा राख्ने क्रममा सभापति विदेश भ्रमणका लागि जाँदा मस्यौदा समिति गठनमा ढिलाई हुने भएका कारण तत्काल समिति गठन गर्नुपर्ने धारणा राखेका थिए। मस्यौदा समिति गठनमा ढिला भएसँगै महासमिति बैठक दसौंअघि बस्नेमा शंका रहेको पार्टीका एक नेताले बताए। महासमिति बैठक तत्काल नबसे पार्टी सुदृढीकरण हुनै नसक्ने नेताहरूले धारणा राख्दै आएका छन्।

भद्रगोल रहेको संगठन सुधारका लागि विधान परिमार्जन गर्न जरुरी रहेको नेताहरूले बताउँदै आएका छन्। ‘अहिलेसम्म विधान मस्यौदा समिति बनेको छैन। सम्भवत भदौमा महासमिति हुँदैन होला’, नेता गुरुराज घिमिरेले भने, ‘महासमिति चाँडै गर्नुपर्छ भन्ने आमकार्यकर्ता र हाम्रो पनि धारणा छ। विधान परिमार्जन भए मात्र संगठन निर्माणले तीव्रता पाउँछ।’

मंगलबारको बैठकमा संवैधानिक परिषद्ले सिफारिस प्रधानन्यायाधीशमा सिफारिस गरेको दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकार गरेको विषयमा केन्द्रित भएको थियो। पटकपटक बसेको बैठकमा पनि संगठन निर्माणका विषयले प्रवेश नपाउनु दुर्भाग्य भएको सभापतिइतर समूहका नेताहरू बताउने गरेका छन्। देउवाले पार्टी निर्माणमा ध्यान नदिएका कारण नेताहरूको ध्यान अर्कैतर्फ मोड्न खोजेको उनीइतरका नेताको आरोप छ।

खासगरी नेता कृष्णप्रसाद सिटौला समूहका नेताहरूले सभापति देउवालाई पार्टीका संगठनहरू असरल्ल छाडेको आरोप लगाउँदै आएका छन्। उनीहरूले सरकारको गलत कामको विरोध गर्न नाममा संगठनलाई त्यसै छाड्न नहुने बताउँदै आएका छन्। आफू बलियो नभएसम्म अरूको गलत कामको विरोध गर्न नसकिने देउवाइतरका नेताहरूको भनाई छ।

सभापति देउवा विदेश भ्रमणबाट फर्कनेबित्तिकै मस्यौदा समिति गठन हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘सभापतिज्यू विदेश भ्रमणबाट फर्किएपछि पहिला विधान मस्यौदा समिति गठन हुन्छ’, उनले भने, ‘त्यसपछि पार्टीभित्रका सबै आन्तरिक समस्याहरू हल हुँदै जान्छ।’

यस्तै, विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँगको एकता प्रक्रियालाई समेत टुंगोमा पुर्‍याउनु पर्नेछ। पार्टी नेतृत्वले एकताको समयमा आफूसँग भएको संझौता कार्यान्वयन नभएको भन्दै गच्छदार असन्तुष्ट छन्। उनले एक सार्वजनिक कार्यक्रममै नेतृत्वले एकतालाई टुंगोमा पुर्‍याउन ध्यान नदिए एकता भंग गर्ने चेतावनीसमेत दिँदै आएका छन्। यी सबै विषय सभापति स्वदेश फर्किएपछि मात्र टुंग्गो लाग्ने प्रवक्ता शर्माले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.