|

बाँके : कोहलपुर नगरपालिका–८, पिपिरीका विष्णु पोख्रेलको दैनिकी गाईको स्याहार–सुसारमै बित्छ। बिहान उठ्ने बितित्तकै गाईको हेरचाहमा जुट्छन्। राति ब्यूझिँदा पनि गाईको अवस्था बुझ्न गोठमा पुग्छन्। 

समाजशास्त्रमा स्नातकोत्तर उनले गाईपालन व्यवसायबाट मेहनतअनुसारको आम्दानी गर्दै आएका छन्। उनले यही पेसाबाट मासिक एक लाख ८० हजार रुपैयाँ कमाउँदै आएका छ्न्।

सात वर्षअघि सात वटा गाईबाट व्यवसाय सुरु गरेका उनीको गोठमा अहिले ३५ वटा गाई छन्। जसमध्ये सात वटा दुहुना गाई छन्। उनले दैनिक २१५ लिटर दूध बिक्री गर्दै आएका छन्। दूध प्रतिलिटर ७० रुपैयाँका दरले दूध बिक्री हुने उनले बताए। उनले भने, ‘सबै खर्च कटाएर दैनिक छ हजार रुपैयाँ  आम्दानी हुन्छ।’

कोहलपुर नगरपालिका–१२, चप्परगौडीकी शारदा शर्माले पनि व्यवसायिक गाईपालनमा छन्। उनको गोठमा उन्नत जातका १३ वटा गाई छन्। तीमध्ये छ वटा दुहुनो छन्। ती गाईहरुबाट दैनिक ५५ लिटर उत्पादन हुँदै आएको छ।

ती दूध केही घरबाटै बिक्री हुने र केही सहकारीमा लैजाने गरेको बताइन्। ‘बिक्री हुँदैन कि भन्ने चिन्ता छैन,’ उनले भनिन्, ‘घरमै लिन आउनेको घुइँचो लाग्छ।’ दूध बिक्रीबाट शारदाले मासिक करिब ५५ हजार रुपैयाँ आम्दानी गर्दै आएकी छन्।

कोहलपुर नगरपालिका–१३, हवलदारपुरका लालमणि भण्डारीले पनि दैनिक ५० लिटर दूध गर्दै आएका छन्। दूध बिक्रीबाट मासिक करिब ४५ हजार रुपैयाँ खुद नाफा गर्दै आएको उनको भनाइ छ। लालमणिको गोठमा पाँच वटा दुहुनोसहित १७ वटा गाई छन्। गाई पालनबाटै घर व्यवहार राम्ररी चलेको उनको भनाइ छ। ‘घर खर्च र छोराछोरी पढाउन मज्जाले पुगेको छ,’ उनले भने, ‘कसैसँग ऋण माग् परेको पनि छैन।’

कोहलपुर–१२, चप्परगौडीका ३१ वर्षीय सन्तोष अर्याल पनि गाईपालक किसान हुन्। उनले दैनिक ५० लिटर दूध बिक्री गरेर मासिक सरदर ३०–३५ हजार मुनाफा गर्दै आएका छन्। उनले डेरी उद्योग समेत सञ्चालन गरेका छन्। उनले भने, ‘घरमा उत्पादन भएको ६० लिटर र बाहिरबाट खरिद गरेर दैनिक १५० लिटर दूध डेरी उद्योगमा बिक्री हुन्छ।’

गाईपालक किसानर्ला प्रोत्साहन गर्न तत्कालीन जिल्ला पशु सेवा कार्यालय बाँकेले गोठ सुधार, विभिन्न किसिमका औजार, उपकरण र प्राविधिक सहयोग गरेको थियो। 

कृषकले गरेको प्रगति, उसले तयार पारेको योजना र विगतमा प्राप्त अनुदानको सदुपयोगलाई मूल्यांकन तथा विश्लेषण गरेर अनुदान रकम तथा उपकरण प्रदान गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. वेदबहादुर केसीले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.