|

काठमाडौं : विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबिबिएसमा अध्ययनरत विद्यार्थी सौरभ उप्रेतीको मृत्युको विषय रहस्यमय बनेको भन्दै घटनाको सत्य तथ्य यथाशिघ्र बाहिर ल्याउन आफन्तले माग गरेको छ। साउन १६ गते सुतेकै अवस्थामा कोठामै उनलाई मृत अवस्था भेटिएपछि सौरभका आफन्तले उनले आत्महत्या नगरेको भन्दै उनको हत्या भएको दाबी गरेका छन्।

पीडितले बुधबार राजधानीस्थित सञ्चारकेन्द्र नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी उनको शरीरमा निलडाम देखिएको, मृतकको घाँटीमा ल्यापटपको तार बेरिएको, नाक, कान, मुखबाट रगत बगेको र १ बजेसम्मसँगै अध्ययन गरी सुतेका साथीले समेत थाहा नपाएको बयान दिनुलगायतका कारणले गर्दा उनको आत्महत्या नभइ हत्या भएको दाबी गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न उनका आफन्तले माग गरेका हुन्।

प्रतिनिधिसभा सदस्य कल्याणी खड्काले शंकास्पद हत्या जघन्य अपराध भएकाले यसको सत्यतथ्य पत्ता लगाई कडा कारबाही हुनुपर्ने बताइन्। पछिल्लो समय यस्ता खाले अपराधहरू बढ्दै गएकाले सरकारले यस्ता घटनाहरूमा कमी ल्याउनका लागि कुनै कसुर बाँकी राख्न नहुने धारणा राख्दै यो घटनाको विषयमा सत्यतथ्य पत्ता लगाउन आफूँले संसदमा समेत पहल गर्ने बताइन्।

यसैबीच कार्यक्रममा मृतककी बहिनी सोनु उप्रेतीले भावुक हुँदै आफ्नो दाजुको आत्महत्या नभई हत्या भएकाले दोषीलाई कारबाही हुनुपर्ने माग राखिन्। उनले आफ्नो दाजुको मृत्युको कारण पत्ता नलागेसम्म समवेदनासमेत नदिने जनाउँदै यस घटनाको विषयमा कलेजले चासो नराख्नु दुःखद भएको बताइन्।

यसैगरी मृतककी आमा गोपिनी सापकोटा(उप्रेती)ले न्यायपत्रमार्फत सौरव जेहेन्दार मेहनती भएका कारण सधैँ छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी रहेको जनाएकी छन्। उनले २०६६ सालको एसएससी परीक्षामा पनि ९३ प्रतिशत ल्याउन सफल भएका सौरभले प्लस टुमा पनि छात्रबृत्तिमा अध्ययन गरेका थिए। एमबिबिएस अध्ययनका लागि नोबेल मेडिकल कलेज विराटनगरमा छात्रवृत्तिमा पढ्ने अवसर मिलेको भए पनि अध्ययनको अन्त्यतिर रहस्यमय मृत्युको खबरले आफ्नो परिवार ठूलो शोकमा डुबेको उनकी आमाले बताइन्। न्यायपत्रमा आफ्नो छोराको हत्या भएको भन्दै घटनाको वास्तविकता नखोजि सामान्य तरिबाट घटना र हत्यारा उम्काउन खोजेको आरोप उनले लगाएकी छन्।

यसबीच, सत्यतथ्यसहित यथासिघ्र घटनाको वास्तविकता सार्वजनिक गर्न कलेज, प्रहरी प्रशासन हस्पिटललाई पटकपटक मौखिक अनुरोध गर्दा पनि आफ्नो अनुरोधप्रति चासो नदेखाएको भन्दै श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले समेत भर्त्सनासमेत गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.