तीन महिनाभित्र होला त महाधिवेशन?

|

काठमाडौं : नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको नेतृत्वको मुहान मानिन्छ। पार्टीभित्र रहेका भ्रातृ संगठनमध्ये नेपाल विद्यार्थी संघबाट उत्पादन भएका नेता पार्टीको नेतृत्वमा पुग्ने गरेका छन्। 

पार्टीको अहिलेको केन्द्रीय समितिमा पनि नेतृत्वदेखि तलैसम्म नेविसंघको राजनीति गरेर आएका नेता छन्। तर पछिल्लो समय नेपाल विद्यार्थी संघको राजनीति क्रमश: धमिलिँदै गएको छ। नेविसंघको १०औँ महाधिवेशनपछि भने नेपाल विद्यार्थी संघको राजनीतिक क्रमश: धमिलिँदै आएको हो। जब २०५८ मा कांग्रेसबाट असन्तुष्ट भएर शेरबहादुर देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक बनाए त्यसबेलासम्म नेविसंघको राजनीति राम्रै थियो। 

तर कांग्रेस प्रजातान्त्रिक २०६४ मा कांग्रेस प्रजातान्त्रिक पुनः नेपाली कांग्रेससँग एकीकरण भयो, तब नेपाल विद्यार्थी संघमा विवादको राजनीति सुरु भयो। १०औँ महाधिवेशनबाट अध्यक्ष नेपाली कांग्रेस निकट नेविसंघका प्रदीप पौडेल थिए भने कांग्रेस प्रजातान्त्रिक निकट नेविसंघका अध्यक्ष कल्याण गुरुङ थिए। पार्टी एकीकरणसँगै अध्यक्ष पौडेललाई बनाइयो भने सहअध्यक्ष गुरुङ भए। तर केही वर्षपछि संगठनभित्र तीव्र असन्तुष्टि चुलिन थालेपछि पौडेलले नेविसंघ अध्यक्षबाट राजीनामा दिए।

त्यसपछि तत्कालीन पार्टी सभापति सुशील कोइरालाले रञ्जित कर्णलाई अध्यक्षको जिम्मेवारी दिएका थिए। उनलाई छ महिनाका लागि जिम्मेवारी दिइएको बताइएको थियो। छ महिनापछि नेविसंघको महाधिवेशन गर्ने तत्कालीन समयमा कोइरालाले प्रतिवद्धता जनाएका थिए तर छ महिनामा महाधिवेशन हुन नसकेपछि कर्णले टीके समिति करिब पाँच वर्ष चालाए। 

त्यसपछि २०७३ साउन २३ गते नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशनको उद्घाटन भयो। त्यही महाधिवेशनले दुई वर्षका लागि नैनसिंह महरको नेतृत्वमा केन्द्रीय समिति निर्माण भयो। त्यो समय कांग्रेस निकट विद्यार्थीहरूका लागि निकै खुसीको दिन थियो। करिब आठ वर्षको अन्तारालपछि नेविसंघले निर्वाचित नेतृत्व पाएको थियो। उनीहरू अब सबैतिर संगठन निर्माण हुने भन्नेमा ढुक्क र खुसी थिए।

तर ११औँ महाधिवेशनमा निर्वाचित समिति अहिलेसम्मकै कमजोर बन्यो। पछिल्लो समय नेपाल विद्यार्थी संघ धरासायी अवस्थामा पुगेको छ। संगठनभित्र कम्तीमा पनि पाँचवटा गुट तथा उपगुट चल्दै आएका छन्। देशभरका जिल्लादेखि क्याम्पसका इकाई समितिमा पनि कम्तीमा तीनवटा समिति बनेका छन्। ती गुटपिच्छेका समितिहरू हुन्। 

यो कार्यकाल नेताहरूले आफूपिच्छे सबै तहमा समिति बनाउँदा बनाउँदै सकिएको छ। केन्द्रीय समितिमा रहेका हरेक नेताले जिल्ला तथा इकाई समितिमा आफूअनुसार समिति बनाउँदै आएका छन्। सुरुमा एक भएर चुनावमा प्रतिस्पर्धा गरेका केन्द्रीय समितिका नेताहरू अहिले एकअर्काको कटु आलोचक बनेका छन्। निर्वाचनका बेला सभापति देउवा समूहका अध्यक्षका उम्मेदवार नैनसिंह महरलाई समर्थन गरेर अघि बढेका नेता कृष्णप्रसाद सिटौला समूहका कुन्दनराज काफ्ले अहिले संगठनभित्र अध्यक्षको सबैभन्दा धेरै आलोचक बनेका छन्। उनी अहिले नेविसंघको समानान्तर समितिले जस्तै गरी कार्यक्रमहरू संचालन गर्दै हिँडेका छन्। 

तत्कालीन समयमा पार्टीको १३औँ महाधिवेशनको समयमा पार्टी सभापतिमा देउवालाई समर्थन गरेसँगै सिटौलाले पार्टीका हरेक भ्रातृ संगठनमा देउवालाई सहयोग गर्दै अघि बढे। त्यही क्रममा नेविसंघमा पनि देउवा र सिटौला सहकार्यमै रहे। तर पछिल्लो समय देउवासँग सिटौला अलग बनेसँगै नेविसंघभित्रको विवादले पनि उग्र रूप लिँदै गएको छ। ‘सभापति समूहबाट जो विद्रोह गरेर आएका छन्, उनीहरू नै अहिले उग्र बनेका छन्’, नेविसंघका एक नेताले भने। 

नेविसंघमा पछिल्लो समय अध्यक्षविरुद्ध मोर्चाबन्दी गरेका महामन्त्री काफ्लेलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको साथ छ। तर पौडेल समूहको उपसमूहमा रहेको पार्टी महामन्त्री डा. शशांक कोइराला समूह भने संगठनभित्र तेस्रो धारमा उभिएको छ। उक्त समूहले अध्यक्ष महरको पनि गलत कामको विरोध गर्दै आएको छ भने काफ्ले समूहको पनि गलत कार्यको विरोध गर्दै आएको छ। 

नेविसंघको महाधिवेशन उद्घाटनको समयलाई मान्ने हो भने साउन २३ गते बुधबारबाट कार्यकाल सकियो। तर नेविसंघको विवाद मिलाउन बसेको पार्टीको संयन्त्र समितिले पद सम्हालेको मिति भदौ २ लाई कार्यकाल सकिने निर्णय नै गरिसकेको छ। यस्तै, नेविसंघको विधानअनुसार कारणवश दुई वर्षमा महाधिवेशन हुन नसके तीन महिना कार्यकाल थप्न सक्ने व्यवस्था छ। सोहीअनुसार नेताहरूले मंसिर २ भित्र १२औँ महाधिवेशन गरिसक्ने निर्णय गरेका छन्। तर संगठनभित्रको विवादले अझै पनि नेविसंघको महाधिवेशन अन्योलमै छ। नेविसंघ स्रोतका अनुसार धेरै विद्यार्थी नेताहरू महाधिवेशनको पक्षमा छैनन्। उनीहरू महाधिवेशन नभए टीका लगाएर आफूले नेतृत्व पाउँछु कि भन्दै दाउ हेरेर बसेको स्रोतको दाबी छ। 

निर्वाचित भएको दुई वर्षसम्म संगठनको अहिलेसम्म एक पटक मात्र बैठक बसेको थियो। पहिलो बैठकमा धन्यवाद प्रस्ताव पारित भयो भने दोस्रो बैठक वरिष्ठ नेता पौडेल समूहले बहिष्कार गरे। दोस्रो बैठकमा पेलेर अघि बढ्ने योजनामा रहेका अध्यक्ष महर र महामन्त्री काफ्ले समूह कोरम नपुगेपछि बैठक अघि बढाउन नसक्ने अवस्थामा पुगे। त्यसयता संगठनको कुनै पनि बैठक बस्न सकेको छैन। 

संगठनका नेताहरू क्याम्पस तथा जिल्लामा आफू निकटकालाई चिठ्ठी बाँड्दैमा व्यस्त छन्। चिठ्ठी बाँडेर जिल्ला तथा इकाईको सभापति बनाउने परम्परा भने अध्यक्ष महरले नै सुरु गरेका हुन्। उनले त्रिभुवन विश्वविद्यालयको इकाई सभापतिका लागि आफू निकट सम्झना खत्रीलाई पत्र दिएर सभापति बनाए। त्यसयता नेविसंघमा कुन समूहले कति पत्र बाँड्यो भन्ने लेखाजोखा छैन। ११औँ समितिको कार्यकाल पनि चिठ्ठी बाँड्दैमा र गुट चलाउँदैमा सकियो। ‘चिठ्ठी बाँड्ने काममा अध्यक्ष मात्र होइन, सबै समूह संलग्न छन्’, नेविसंघका एक नेताले भने, ‘कसले कति बाँड्यो भन्ने मात्र हो। यसको त लेखाजोखै छैन।’

गुटलाई प्रश्रय दिने नेता नै

पछिल्लो समय नेविसंघभित्र गुट अन्त्य गर्न वरिष्ठ नेता पौडलेले सार्वजनिक कार्यक्रममै सबै नेतालाई आग्रह गर्दै आएका छन्। ‘मुहान नै फोहोर भए पानी सफा हुँदैन’ भन्दै सबै नेतालाई विवाद समाधानका लागि आग्रह गर्दै आएका छन्। तर बुधबार भने उनी र सिटौला निकटकै विद्यार्थी नेताहरूले काठमाडौंमा भेला गरे। महाधिवेशनका लागि दबाब दिने भन्दै पौडेल र सिटौला निकटका विद्यार्थी नेताहरू अन्तर्क्रियाका लागि सहभागी भए। 

त्यसमा विद्यार्थी नेता मात्र थिएनन्, गुटलाई प्रश्रय दिन पौडेलका सबैभन्दा नजिक मानिएका नेता नवीन्द्रराज जोशीसमेत गुटको भेलामा पुगेका थिए। यस्तै, पार्टीको १२औँ महाधिवेशनमा देउवा नजिक पुगेका नेता चन्द्र भण्डारी पनि उक्त भेलामा पुगे। पछिल्लो समय देउवा क्याम्प छाडेर देउवाइतर नेतासँग नजिक पुगेका भण्डारीले कार्यक्रममा गएर देउवाको उछितो काढे।

नेविसंघको विवाद मिलाउन बनेको पार्टीको निर्देशक समितिका सदस्यसमेत रहेका जोशी कार्यक्रममा सहभागी हुनुले नेताले नै नेविसंघमा गुट चलाएको प्रष्ट देखाएको अध्यक्ष महरले आरोप लगाए। ‘उहाँ निर्देशक समितिको बैठक बस्दाबस्दै सानो काम छ भनेर बाहिर निस्किनुभएको हो’, उनले थाहाखबरसँग भने, ‘तर एक्कासि कार्यक्रमको फोटो देखेपछि हामी छक्क पर्‍यौँ। यसो गर्न त उहाँको नैतिकताले पनि नदिनुपर्ने हो।’

अन्तर्क्रियामा वरिष्ठ नेता पौडल समूहमा उपगुट चलाउँदै आएका महामन्त्री डा. कोइरालमा समूहका विद्यार्थी नेताहरूले भने उक्त अन्तर्क्रिया बहिष्कार गरे। पौडेल र सिटौला समूहका विद्यार्थी नेताहरूले पेल्न खोजेको भन्दै उनीहरूले अन्तर्क्रिया नै बहिष्कार गरे। 

अन्तर्क्रिया कार्यक्रममा डा. कोइराला समूहका विद्यार्थी नेताहरूले कार्यक्रमको सभापतित्व कपिलवस्तुका पूर्वअध्यक्ष ओजी असरतले गर्न माग गरेका थिए तर पौडेल र सिटौला समूहका विद्यार्थी नमानेपछि उनीहरूले बहिष्कार नै गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.