|

काठमाडौं : 'तपाईं कविता लेख्नुहुन्छ हो? साहित्यका अरू कुनकुन विधामा कलम चलाउनुहुन्छ? आज तपाईंको साहित्यिक लेखनबारे कुरा गरौँ न।'

सदाझैँ गर्ने प्रश्नभन्दा फरक प्रश्न गरेको सुन्दा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल एकछिन सोचमग्न बने।

राजनीतिबारे होइन, राजनीतिसँगै जोडिएका नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा रक्षामन्त्री पोखरेलसँग फरक प्रसंगका कुरा गर्नु थियो। केही क्षण राजनीतिक जीवनका पुराना कुरा भए। भूमिगत राजनीतिका कुरा गर्दै बसेपछि मन्त्री पोखरेल खुल्दै गए अनि सुरु भयो उनको जीवनको साहित्यिक पक्ष।

वात्सल्यको छाता ओडेर
निश्चलतासहित छुनुमुनु गर्ने
सुन्दर छोरीको रूपमा
सुख दु:खमा सधैँ हिस्सेदार पत्नीका रूपमा
ममता, स्नेह र संरक्षणकी अजस्र स्रोत
आमाको रूपमा
अर्थात्, म तिमीलाई सम्पूर्णतामा देख्न चाहन्छु
त्यस्ती 'तिमी'सित सहयात्रा चाहन्छु।

'सम्पूर्णतासितको सहयात्रा' शीर्षकको कविता सुनाउँदै उनले भने, 'योचाहिँ महिलाहरूका लागि लेखेको मैले।' उनको यो कविताले महिलाका अनेक रूपको भूमिकाको वर्णन गरेको छ।

रक्षामन्त्री पोखरेलको सेतो रङको आइप्याड छ, जो सधैँ आफूसँगै बोकी हिँड्छन् उनी। जब कार्यक्रमबाट वा कामबाट फुर्सद हुनेवित्तिकै आइप्याड समाइहाल्ने उनको बानी छ। खाली हुनेवित्तिकै वा मनमा केही भावना आउनेवित्तिकै आइप्याड खोलेर लेखिहाल्छन् उनी, जसमा कविता, गीत, संस्मरण, लेखहरू हुन्छन्।

मैले रुँदा पीडा पोख्न 'आमा' भनेँ
अभावमा आवश्कता पूरा गर्न आमा गुहारेँ
यातना र पीडामा भक्कानिएर रुँदा आमा सम्झिएँ
आँसुहरूमा आमालाई नै बगाएँ
कुनै बेला कालले मुख बाएर निल्न खोज्दा
आमाकै शक्तिको सहारामा आफूलाई सुरक्षित राखेँ।

आमाको सम्झनामा लेखेको 'आमा' शीर्षकको कविता हो यो, जुन उनले वाचन गरेर सुनाए। एउटा सन्तानका लागि सबैभन्दा सुरक्षित ठाउँ हो- आमाको काख। मन्त्री पोखरेलका लागि पनि आमाको काख खास लाग्छ। त्यसैले मनमा भावना आउनेवित्तिकै उनी कोरिहाल्छन्। 'मलाई लेख्न मनपर्छ। साहित्य भनेको भावना न हो', उनले भने, 'मनमा आउनेवित्तिकै म कोरिहाल्छु।'

अरूलाई चिन्ने, आफैँलाई चिनाउने आँखाहरू
माया चिन्ने, माया वर्षाउने आँखाहरू
क्रोधले आगो ओकल्ने
र, घृणाले भष्मीभूत पार्न पछि नपर्ने आँखाहरू!

फूलभन्दा पनि कोमल देखिने
कठोरताको चरम प्रतीक बनेर
जाइलाग्ने आँखाहरू!

यस्ता आँखाहरू
अरूलाई हेर्न खोल्नै पर्ने
तर आफूलाई हेर्न भने चिम्लनै पर्ने
आँखाहरू!

'आँखा' शीर्षकको कवितामा पोखरेल संसार हेर्ने आँखाले आफूलाई हेर्न भने चिम्लिनुपर्ने कुरा गर्छन्। कुनै औपचारिक कार्यक्रममा जाँदा पनि कार्यक्रममा के भयो भनेर लेख्ने गर्छन् उनी। कतै टाढा जाँदा त्यस ठाउँको बारेमा लेखेर राख्ने बानी छ पोखरेलको। साहित्यको कुरा गरेपछि रक्षामन्त्री पोखरेल हौसिए। आइप्याड खोले अनि आइप्याडमा स्टोर गरेर राखिएका सबै लेख रचना, कविताहरू देखाउँदै पढ्दै गए।

प्रेम- सौन्दर्यका बाछिटाहरूले
कहिले रुझाउँछन्, कहिले भिजाउँछन्
तर्किएर हिँड्न सकिन्छ, आँखा लुकाएर बढ्न सकिन्छ
खडा भएका/गरिएका अभेद्य लाग्ने किल्लाहरू
नजरका सनसनाउँदा तीरका सहाराले ढाल्न सकिन्छ
स्वरविहीन छिटाहरू गोली बन्छन्
र, भि…त्री मुटु भेदन गर्दै छियाछिया पार्छन्!

नेता पोखरेलका कविताले जीवन, संघर्ष, राजनीति, प्रेम बोल्छन्। करिब एक दर्जन कविता सुनाउँदै गर्दा उनले मैथिली भाषामा लेखिएको एउटा कवितासमेत सुनाए। साहित्य भनेको भावना हो। मनमा भावनाका छालहरू उर्लिएसँगै साहित्य लेख्ने गरेको उनले बताए। 'साहित्य मूलतः भावना न हो। जतिबेला आउँछ त्यतिबेलै लेख्ने गरेको छु', उनी भन्छन्।

म र सेता कागजहरू
केही नलेखिएका कतै नकोरिएका यी कागजहरू
असंख्य असंख्य डंगुर लागेका छन्
जता हेरे पनि जताबाट हेरे पनि उरुङ लागेका छन्
मैभित्र र मेरै वरिपरि छरिएका छन्- यी सेता कागजहरू।

तत्कालीन समयमा नेकपा माले भूमिगत हुँदा 'वर्ग संघर्ष' मुखपत्र पत्रिका निस्कन्थ्यो। सोही पत्रिकाको सम्पादक थिए नेता पोखरेल। उनी त्यसबेला भूमिगत माले पार्टीको प्रकाशन प्रमुख थिए। त्यतिबेलैदेखि नै उनले माइन्युट लेख्न थालेका हुन्।

सिंगो जीवन राजनीतिमा बिताएका नेता पोखरेलका दुई पुस्तक 'पूर्वको रातो तारा' र 'माघ १९' प्रकाशित छन्। अर्को संस्मरणात्मक किताब निकाल्ने तयारीमा रहेका नेता पोखरेलका कविताको भने अहिलेसम्म संग्रह बनिसकेका छैन। कविताको कृति निकाल्ने सोचमा अहिलेसम्म नभएको उनले बताए। 'जति लेखेको छु, सबै यही आइप्याडमा छन्। अहिलेसम्म कृति निकाल्ने सोच छैन', उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.