|

राजनीतिमा तीनवटा कुराले महत्व राख्छ- शक्ति सन्तुलन, समय र जनताको आकांक्षा। यी तीनवटा कुरालाई प्रतिनिधित्व गर्न, बोक्न नसक्ने संविधान टिकाउ हुँदैन। जुन संविधानले यी कुरा बोक्छु भन्छ त्यसले आफूलाई परिमार्जित गर्दै लैजानुपर्छ। संविधान परिमार्जित हुने संशोधनबाटै हो। त्यसैले कुनै पनि संविधान संशोधन हुँदैन  भन्‍नु आफैमा अवैज्ञानिक कुरा हो। 

नेपालको मात्र नभएर संसारका कुनै पनि संविधान जड भएर बस्दैन। संविधान परिवर्तनीय दस्तावेज हो, यो समयअनुसार परिवर्तन हुन्छ। तर यो छिनछिनमा परिवर्तन गर्ने विषय होइन। अहिले संविधानको एजेन्डा जसरी अगाडि सारिएको छ, ती एजेन्डा विवादास्पद छन्। नेपाली जनताको आवश्यकतालाई परिपूर्ति गर्ने संशोधन हो भने कुनै दलले हुँदैन भन्‍न सक्दैन। जुन कुरा नेपाली जनताको आवश्कयता हुँदैन, विवादास्पद हुन्छ, जुन संशोधनले नेपालको हितमा काम गर्दैन, राष्ट्रियता र अखण्डतालाई कमजोर बनाउछ, नेपालका समुदायहरुबीच विवाद उत्पन्‍न गर्छ, त्यस्तो संशोधन स्वीकार्न सकिँदैन। 

संशोधन कहाँ?

संशोधनको आवश्यकता देख्‍नेहरुले कहाँनेर संशोधन गर्नुपर्‍यो देखाउनुपर्‍यो। यो संविधानले कसैलाई पनि पक्षपात गरेको छैन। संविधानले नेपालको कुनै पनि भाषाभाषी, जातजाति र समुदायलाई पक्षपात गरेको छैन। २० औँ पुस्ता नेपालमा बिताएको कुनै पनि मान्छे भन्दा मधेसी समुदाय, जनजाति समुदाय वा अन्य कुनै पनि समुदायलाई कम अधिकार दिएको छैन। पछाडि परेका समुदायलाई अगाडि ल्याउन यो संविधानले पूर्णरुपमा अधिकार दिएको छ। अधिकार बढी पनि पाउने र त्यो पुगेन पनि भन्‍ने हुन्छ र? 

अहिले मधेसकेन्द्रित दलहरुले संशोधन भनेर जे माग अगाडि सारेका छन्, ती मागहरुले बास्तवमा नेपालका मधेसी समुदायको हित गर्दैन। नेपालको जन्मसिद्ध र वंशज नागरिकले बाहेक नेपालको मन्त्री, संवैधानिक आयोगका विभिन्‍न पदका सदस्य, नेपालको विधायक हुन पाउँदैन भन्‍ने प्रावधान चाहिन्‍छ। अहिले त भारतबाट नेपालमा विवाह गरेर आएका अंगीकृत नागरिकता भएका व्यक्ति क्याबिनेटमा छन्। संसारको कुनै संविधानले दिएको छ यति धेरै अधिकार? एकदमै कम देशमा मात्र यस्तो पाइन्छ।

भारतमा पनि सोनिया गान्धी प्रधानमन्‍त्री हुन लाग्दा अहिलेको भारतीय विदेशमन्त्री शुष्मा स्वराजले कपाल मुण्डन गरेर अनशन बस्छु भनेर प्रधानमन्त्री हुन नदिएको होइन? त्यो पनि भारतमा बसेको ४०/५० औं वर्ष बितिसके पछि। हामीकहाँ त नेपालमा बिहे गरेर आएको भोलिपल्ट नागरिकता पाइन्छ। तर त्यही नेपाली केटी भारतीय केटासँग बिहे गरेर गयो भने नेपाली नागरिकता त्यागेको ७ वर्षपछि मात्रै नागरिकता पाउने प्रावधान छ। अनि नागरिकतामा कस्तो संशोधन चाहिएको? 

व्यक्तिगत रुपमा भन्दा अहिलेको नागरिकताको प्रावधान नै विदेशीहरुको हकमा चाहिने भन्दा बढी खुकुलो छ। अहिले त राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक प्रमुख पदहरु नपाउने भनेको छ। यो संविधान ९० प्रतिशतले पारित गरेको संविधान हो। थोरै प्रतिशतलाई संविधान संशोधन चित्त बुझेन भनेर संविधान मान्दैनौँ भन्‍न पाइन्छ र? संविधान संसारमा दुई तिहाइ बहुमतले पारित हुन्छन् तर हामीकहाँ तीन तिहाइले पारित गरेको संविधान पनि मान्दैनौँ भन्न पाइन्छ? मान्दैनौँ भन्‍ने हो भने त जनतामा जानुपर्‍यो। मान्दिन भन्‍नेलाई जहिले पनि बाटो छ। यो फेर्ने भनेको संवैधानिक बाटो हो। कि यो संविधानमा यो यो कुरामा संशोधन गर्छु भनेर जनतामा जानुपर्‍यो। कि संसदमा दुई तिहाइ बहुमत ल्याउनुपर्‍यो। अनि आफूले चाहेजस्तो संविधान बनाए भैहाल्यो नि त। 

गलत प्रचार

अहिले जसरी संविधान संशोधनको विषय उठाएर संशोधनमा एमाले बाधक भनिएको छ, यो एकदमै गलत प्रचार हो। यो समस्याको समाधान भनेको निर्वाचनले नै गर्ने हो। सैद्धान्तिक रुपमा भन्दा नेकपा एमाले संशोधनको विपक्षमा छैन। देशको हितका लागि आवश्यक भयो भने एमाले संविधान संशोधनमा जान्छ। तर देशलाई अहित गर्ने र विदेशबाट आएकाहरुलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउनका लागि संशोधनमा जाँदैन। 

संविधान संशोधनको कुरा त उठाइएको छ तर के गरिँदैछ त्यो नै हामीलाई थाहा छैन। संशोधनको विषयलाई लिएर अहिले के गरिँदैछ भन्‍ने मुख्य विषय हो। सरकारले संविधान संशोधनको विषयमा छलफल नै गरेको छैन। यदि उसले संविधान संशोधन गर्न चाहेको हो भने त संविधान संशोधन गर्नुपर्‍यो नि। एजेन्डाहरु अगाडि सारेर यो विषयमा संशोधन प्रस्ताव अगाडि लैजाउँ भन्‍नुपर्‍यो।

प्रचण्डले संशोधन प्रस्ताव दर्ता गराएकै कारणले मान्दैनौँ भन्‍ने हाम्रो आधार होइन। संविधान मुलुकको हितमा हुन्छ कि हुँदैन, जनताको हितमा, लोकतन्‍त्रको हितमा हुन्छ कि हुँदैन भन्‍ने कुरा निर्णायक कुरा हो। नेकपा एमाले अहिलेको सन्दर्भमा राष्ट्रियता, देशको भौगोलिक अखण्डता, नेपालको एकीकरण यी सबैलाई गम्भीरतापूर्वक हेर्ने र त्यसलाई उत्तराधिकारमा बोक्ने पार्टी हो। 

नेकपा माले स्थापना भएदेखिको राजनीतिक दस्तावेज हेर्नुस्, अहिले नवौं महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदन हेर्नुस्, हामीले पृथ्वीनारायण शाहले गरेको नेपालको पुनर्एकीकरणलाई समयको आवश्यकता भनेर मानेका छौँ। यो दृष्टिकोण हाम्रो मात्र होइन। हाम्रो संस्थापक नेता महासचिव पुष्पलाल श्रेष्ठका संकलित रचनाहरु हेर्नुस् उहाँले पनि त्यहाँ 'सामन्ती कारणले आफ्नो राज्य विस्तार गर्छु भनेर भने पनि सही। यो देशलाई एकीकरण गर्ने कुरा एउटा प्रगतिशिल कदम थियो। समयको आवश्यकता थियो' भन्‍नुभएको छ। नेपालको  इतिहास एउटा वैज्ञानिक ढंगले हेर्ने एउटा वैज्ञानिक ढंगले विश्लेषण गर्ने र नेपाल एकीकरणको परम्परा/प्रक्रियालाई बोक्ने। त्यसलाई गम्भीरताका साथ बुझ्‍ने नेकपा एमाले मात्रै हो। 

किन चाहियो भारतीय समर्थन?

व्यक्तिगत रुपमा भन्दा यो निर्वाचन प्रणाली मलाई मन परेको छैन। हामीले यस्तो निर्वाचन प्रणाली अपनाएका छौँ जुन निर्वाचन प्रणालीमा कहिले पनि बहुमतको सरकार नै बन्‍न नदिने छाँटकाँट देखिन्छ। तर यो संविधानलाई किन बोकेर हिँड्नुपर्छ भन्दा, भारतीय दवावको सामना गर्दै नेपालका राजनीतिक शक्तिहरुले जारी गरेको संविधान हो यो। त्यसैले यसमा रातारात संशोधन गर्न जरुरी छैन। संविधान संशोधन गर्नुपर्छ भनेपनि नेपाली जनताको आवश्यकता चाहनाअनुसार बिस्तारै गरौँला। बाह्य दवावका कारण यो संविधान संशोधन गर्नुपर्छ भन्‍ने छैन। नेपालको संविधानमा भारतीय समर्थक खोज्‍नुपर्छ भन्‍ने पक्षमा पनि म छैन। नेपालको संविधानलाई नेपाली जनताले समर्थन गर्ने हो। हाम्रो संविधानलाई विश्व जनमतले स्वागत गरिसकेको छ। भारतले गर्दैन भने गर्दैन। 

हाम्रो संविधान हामीले बनाउने हो, हामीले लागू गर्ने हो। त्यसैले भारतले स्वागत गर्दैन भने पनि नगरोस्। हाम्रो आवश्यकता अनुसार संशोधन गर्दै जान्छौ तर कसैले संशोधन गर भन्दैमा गरिहाल्ने कुरा गलत हो। एकथरीले (खास गरेर मधेसकेन्द्रित दलहरुले) एमाले भनेको मधेस विरोधी दल हो भनेर भ्रम छरेका छन्। हामीले जुन विषय संशोधन नगर भनेका छौँ त्यो पहाड र हिमालका जनता भन्दा तराइका जनताको हितमा छ। 

यो मूलुकको राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानसेनापति, लोकसेवा आयोगको अध्यक्ष अंगीकृत नागरिकले गर्न पाउँदैन भनेको छ। मधेसको मान्छेले पाउँदैन भनेको छ र? छैन नि। मधेशको जन्मसिद्ध नागरिकले मधेसको वंशजको नागरिक त राष्ट्रपति बनिसकेको छ नि हामीकहाँ। उपराष्ट्रपति, राष्ट्रपति, सर्वोच्च अदालतको न्यायाधीश बने। भोलि प्रधानमन्त्री बन्लान्। कहाँ रोकेको छ र? यसले त बाहिरबाट विवाह गरेर आएर अंगीकृत नागरिकता लिएर रातारात यहाँको उपराष्ट्रपति, राष्ट्रपति, सर्वोच्च अदालतको न्यायाधीश बन्‍न पाउनुपर्छ भन्‍ने? 

संविधान संशोधनबारे छलफल खै?

नेकपा एमाले मधेस विरोधी भन्‍ने हल्ला चलाइएको छ। बाह्य शक्ति र बाह्य शक्तिको इशारामा चल्ने मधेसका दलले यस्तो हल्ला चलाएका हुन्। देवीप्रसाद किसानको एउटा कविता छ- 'भारत सरकार मादल ठोक्छ, नेपाल सरकार नाच्छ।' भारतबाट मादल ठोकेपछि विदेशी इशारामा नेपालमा नाच्‍ने दलहरुले एमालेलाई मधेस विरोधी भनेका हुन्। एमाले कसरी मधेस विरोधी? गएको निर्वाचनमा पनि मधेसमा सबैभन्‍दा धेरै भोट कांग्रेसले पाएको थियो त्यसपछि एमालेले पाएको छ।

हामीले के भनेका छौँ भने, जस्तो संशोधनको प्रस्ताव आएपनि हामीले मान्दैनौँ भनेका छैनौँ। संशोधन प्रस्तावका बारेमा हामीसँग छलफल भएकै छैन। संशोधन प्रस्ताव के आउँदैछ थाहा छैन। त्यो देश, जनता र लोकतन्त्रको हितमा हुन्छ भने त्यसलाई सकारात्मक ढंगले हेर्न सकिन्छ। ती कुराको विरुद्धमा हुन्छ र कसैलाई खुसी पार्न मधेसका केही दल र भारतलाई खुसी पार्न प्रस्ताव ल्याइन्छ भने एमालेले त्यस्तो संशोधनलाई पास गर्दैन, त्यसको विपक्षमा नेकपा एमाले उभिन्छ। यो हाम्रो एउटा देशभक्तिपूर्ण अडान हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.