|

काठमाडौं : अहिले नेपाली समाज र साहित्यमा योगमायाको व्यापक चर्चा चलिरहेको छ। दास प्रथा, सती प्रथा, छुवाछुत, बहुविवाह आदिविरुद्ध आफ्ना अनुयायीसहित अरूण नदीमा आत्मदाह गरेकी समाज सुधारक योगमाया न्यौपानेलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने एकथरिको मागले समाज तातिरहेको अवस्थामा अर्कोतर्फ तिनै योगमायाको बारे लामो अनुसन्धान गरेर लेखिएको आख्यानकार नीलम कार्की निहारिकाको आख्यान 'योगमाया' प्रकाशन भएको छ। यो पुस्तक यस वर्षका लागि मदन पुरस्कारका लागि छनोटसमेत भएको छ। 

दुई लाख रुपैयाँ पुरस्कार राशि भएको उक्त पुरस्कार मदन पुरस्कार गुठीले वितरण गर्ने गर्छ। पुरस्कारका लागि यस वर्ष भिन्नभिन्न प्रकाशनगृहका आठ कृति परेका छन्, जसमध्ये एक हो- योगमाया। अघिल्लो पटक पनि उनको कृति 'चिरहरण' मदन पुरस्कारका लागि छनोट भएको थियो। वि.सं. २०५१ मा 'मौन जीवन' उपन्यासबाट नेपाली साहित्यमा प्रवेश गरेकी उनी विशेष गरेर कविता, उपन्यास र कथामा कलम चलाउँछिन्। यस पटक पनि मदन पुरस्कारका लागि छनोटमा पर्दा एकदमै खुसी लागेको उनले प्रतिक्रिया दिइन्। उनी भन्छिन्, 'कुनै पनि कृति लेख्न बस्दा पुरस्कारका लागि लेख्दिनँ तर पनि पुरस्कारका लागि लायक सम्झेर छनोट हुनु मेरा लागि ऊर्जाको विषय हो।'

वि.सं. २०७३ को पद्मश्रीको पुरस्कारका उनको 'चिरहरण' छनोट भएको थियो। उनले पुरस्कार लिएर बाहिर निस्किँदै गर्दा रेडियोकर्मी तथा साहित्यकार दाहाल यज्ञनिधिले उनलाई योगमायाका बारेमा बताएका थिए। धेरै अगाडिदेखि यो विषयमा कुरा गरिरहेका थिए तर समय नमिलेका कारण यसबारे धेरै बुझ्न पाइनन्।त्यसबेलासम्म उनी योगमायाको बारेमा त्यति धेरै जानकार थिइनन्। 

अमेरिकामा बस्ने केशव ज्ञवालीले पनि यस विषयमा कुरा गरिरहेका थिए। दाहाल यज्ञनिधिले भनेपछि यसमा काम गरौँ भन्ने उनलाई लाग्यो। 'योगमायाका बारेमा तथ्यहरू थाहा पाउँदै जाँदा म उनका बारेमा लेख्न उत्साहित भइसकेकी थिएँ', लामो समयदेखि अमेरिका बस्दै आएकी निहारिकाले योगमायाका नाममा स्थापित सम्मान ग्रहण गर्न नेपाल आएका बखतको थाहाखबरसँगको कुराकानीमा भनिन्।

योगमायाको बारेमा लेख्ने भएपछि खोज अनुसन्धान गर्नुपर्छ भनेर 'चिरहरण' प्रकाशन गरेको सांग्रिला पब्लिकेशनका मणि शर्मालाई उनले यो कुरा सुझाइन्। मणिको 'हुन्छ, गरौँ' भन्ने सकारात्मक प्रतिक्रियाले उत्साहित उनी योगमायाबारे लेखिएका सन्दर्भ सामग्री खोज्न थालिन्। डा. गोविन्दमानसिंह कार्कीसँग योगमायाबारेका केही सामग्री मागिन्।  योगमायाबारे जजसले जेजे अनुसन्धान गरेका सामग्रीहरू थिए, ती सबै जम्मा गरिन्। लेखनाथ भण्डारी, डा. मातृका तिमिल्सिना, डा. बार्बरा अर्जिजलगायतका व्यक्तिसँग सम्पर्क गरिन् उनले। योगमायाबारे गरिएका खोज र लेखहरूका लागि ज्ञानमणि नेपाल, जनकलाल शर्मासँग पनि सहयोग मागिन्। उनीहरूले सक्दो सहयोग गरेको बताउँछिन् निहारिका।

उनी भन्छिन्, 'योगमायाका बारे काम गर्दैछु भनेपछि सबैले मलाई हृदयदेखि नै सहयोग गर्नुभयो।' अमेरिका बसेर योगमायाबारे जेजति सन्दर्भ सामग्रीहरू थिए, ती सबै पढिसकेपछि स्थलगत अध्ययनका लागि उनी नेपाल आइन्। पाल्पामा जन्मिएकी उनलाई पूर्वको समाज, रीति, चालचलनबारे बुझेर लेख्नु त्यति सहज भने थिएन। तर, उनले प्रयास गर्ने अठोट लिइन्।

छुट्टीमा उनी नेपाल आइन् असार महिनामा। बाढी-पहिरोले भोजपुर जान सहज थिएन तर स्थलगत अनुसन्धानको विकल्प पनि थिएन। यस कारण उनीलगायत डा. गोविन्दमानसिंह, प्रकाशक मणि शर्मा प्रस्थान गरे भोजपुर। रमाइलो पक्ष के रह्यो भने लामो समयसम्म बन्द भएको भोजपुरको विमानस्थल केही दिन अगाडि पुन: सञ्चालनमा अाएको थियो। पहाडी जिल्लामा उनीहरू मोटरसाइकल भाडामा लिएर लागे योगमायाको गाउँ।

एक त पहाडी जिल्ला भोजपुर, त्यसमाथि बर्खाको समय। रातो माटोमा मोटरसाइकलमा गुड्दै गर्दा त्यहाँका एक राजनीतिकर्मीले उनीहरूलाई भनिदिएछन्, 'यस्तो हिलो छ, नजानुहोला, कसैको इतिहास लेख्दा आफ्नो इतिहास मेटिएला फेरि।' तर अमेरिकाबाट योगमायाको अनुसन्धान गर्न आएकी उनलाई ती राजनीतिकर्मीले भनेको कुराले के रोक्थ्यो र! उनलाई जति सक्दो योगमायाबारे बुझ्नु र नजिकबाट नियाल्नु थियो। उनी योगमायाको गाउँ पुगिसकेपछि थाहा भयो- उनी विवाहित रहिछन्। यो कुरा उनका दरसन्तानहरूले भनेर उनले थाहा पाइन्। उनले उपन्यासमा चाहिने तथ्यहरू खोज्न थालिन्।

 यी सबै कुराको खोज अनुसन्धान गरिसकेपछि एक दिन प्राध्यापाक कृष्ण गौतमले उनलाई भनेछन्, 'यतिविधि खोज गरिसकेपछि यसलाई रिसर्च बुक बनाउनुहोस्, उपन्यास नबनाउनुहोस्।'

योगमायाको पालाको त्यहाँको भौगोलिक संरचना, सामाजिक-आर्थिक अवस्था, सामाजिक वस्तुस्थितिबारे अध्ययन गरिन्। योगमाया भागेर हिँडेको बाटो, जन्मेको घर, तपस्या गरेको स्थान, आत्मदाह गरेको स्थानलगायत अध्ययनका पाटाहरू थिए- भोजपुर बजार फर्किन्। राधाकृष्ण मन्दिर, जहाँ योगमायालाई नजरबन्द गरिएको थियो, त्यो पनि अध्ययन गरिन्। थप अनुसन्धान गर्न उनले गाडीको भर गर्नुपर्ने भयो। गाडीको भरमा उनीहरू दिङ्ला पुगे तर होटलको व्यवस्था थिएन। उनी त्यो दिन सम्झिन्छिन्, 'एउटा सामान्य होटलमा खाना खाँदै गर्दा त्यहाँ काम गर्ने सानो नानीसँग सुतेको घटनाचाहिँ कहिल्यै भुल्न नसक्ने पल हो मेरा लागि।' मणि फर्किसकेको अवस्था थियो भने गोविन्द र उनले भोजपुरमा खासगरी मोझुवाबेँसीलगायतका ठाउँहरूको निरीक्षण गरे, जहाँ न्यौपाने परिवारहरू बस्ने गर्थे, त्यहाँ जानुपर्ने थियो। गाडीको व्यवस्था नभएपछि मोटरसाइकल भाडामा लिनुपर्ने स्थिति थियो।

त्यहाँ एक स‌ंस्थाका मोहनबहादुर बस्नेतले मोटर साइकलको व्यवस्था गरिदिए। मोटरसाइकल चालकले इकुवा खोलावारिसम्म छोडिदिने भन्न थालेपछि बिचल्ली परिने अवस्था आयो। उनीहरूले योगमायाबारे बुझ्न आएको भनेपछि उनीहरूले नेपाले डाँडासम्म, जहाँ योगमायाको जन्म भएको थियो, त्यहाँसम्म पुर्‍याइदिए। त्यति मात्र होइन, उनीहरूले फर्किंदासम्म दुई जनाको साथ छोडेनन्। उनी भन्छिन्, 'पारिश्रमिक लिएर नै किन नहोस्, ती दुई भाइहरूको सहयोगलाई म जिन्दगीभर भुल्न सक्दिनँ।'

चार दिनको स्थलगत अनुसन्धान गरेर दुई जना काठमाडौं फर्किए। थप बुझ्न योगमायाबारे जानकारहरूलाई भेट्न उनी देशका विभिन्न ठाउँमा समेत पुगिन्। यी सबै कुराको खोज अनुसन्धान गरिसकेपछि एक दिन प्राध्यापाक कृष्ण गौतमले उनलाई भनेछन्, 'यतिविधि खोज गरिसकेपछि यसलाई रिसर्च बुक बनाउनुहोस्, उपन्यास नबनाउनुहोस्।' तर उनलाई लाग्यो, रिसर्च बुक सीमित मान्छेको पहुँचको कुरा हो। उपन्यास लेख्दा यसको पहुँच फराकिलो हुन्छ। यसै पनि योगमायाको बारेमा धेरैलाई थाहा छैन। सूचना संप्रेषणमा पनि टेवा पुग्छ भन्ने उनको बुझाइ रह्यो।

हरेक लेखक सुरुवातमा आफ्नो सिर्जनाको पहिलो पाठक हो। उनी भन्छिन्, 'म यस पुस्तकबाट पूर्ण रूपमा सन्तुष्ट छु।' यस पटकको मदन पुरस्कारमा अरू कृति जस्तै यो कृति पनि मैदानमा छ। उनी भन्छिन्, 'अरू पुस्तक मैले सबै पढेकी छु। सबै एक से एक छन्। कसको पल्ला भारी हुन्छ भन्ने कुरा त्यो हाम्रोभन्दा पनि निर्णायकको हातको कुरा हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.