|
फाइल फोटो

काठमाडौं : नेपाल राष्ट्रबैंकका गभर्नर चिरञ्जीवी नेपालले जथाभावी नबोल्न व्यवसायी र बैंकर्सलाई चेतावनी दिएका छन्। बैंकर्स एसोसियसन र सेजनले बिहीबार राजधानीमा गरेको अन्तरक्रियामा गभर्नर नेपालले समयानुकूलको फाइदा हेरेर व्यवसायी र बैंकर्सले दोहोरो कुरा गर्ने गरेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हन्।

पैसा धेरै भयो राष्ट्रबैंकले लिइदिनुपर्‍यो भन्दै अर्थमन्त्रीकोमा पुग्ने बैंकर्स र तरलताको समयमा ऋण नलिएर समयअनुकूल नाफामुखी अभिव्यक्ति दिने व्यवसायी दुवै उस्तै भएको भन्दै उनले दोहोरो भूमिकामा नदेखिन दुवै क्षेत्रलाई सचेत गराए। साढे २ वर्षअघि मात्रै आफूले व्यवसायीलाई बैकसँग पैसा लिएर काम गर्नुभन्दा नमानेको स्मरण गर्दे उनले भने, 'दोहोरो बोल्ने काम नहोस्।'

गभर्नर नेपालले वित्तीय क्षेत्रको पैसा गलत क्षेत्रमा नजाओस् भन्ने उद्देश्यले व्यत्तिगत ओभर ड्राफट्को प्रतिशत घटाइएको भए पनि व्यावसायिक ओभर ड्राफ्टमा भने कमी नआएको स्पष्ट पारे। व्यावसायिक ओभर ड्राफ्टमा गरिने लगानीलाई पनि सुरक्षित बनाउनका लागि कुन-कुन र के कस्तामा कति दिने भन्ने बारे अध्ययन भइरहेको बताए। उनले ऋणको व्याजदर घट्दो क्रममा रहेकाले यही समयमा ऋण लिन व्यवसायीलाई सुझाव दिए।

उनले संस्थागत निक्षेपका सम्बन्धमा राष्ट्रबैंकले निर्देशन जारी गरिसकेकाले आपसमा लुछाचुडी नगर्न वित्तीय क्षेत्रको ध्यानाकर्षण गराए। निर्देशनअनुसार आफूहरूलाई अघि बढाउन सचेत गराउँदै उनले भने, 'राष्ट्रबैक कठोर रुपमा आउनु नपरोस्। अब्बल नम्बरको दर्जा पाएको क्षेत्रलाई पुलिसजस्तो गर्नुपर्‍यो भने के हुन्छ?' उनले आफ्नो दक्षता र क्षमताअनुसार स्थापित अब्बल दर्जाको साखलाई कायमै राख्न पनि वित्तिय क्षेत्रलाई सचेत गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.