|

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन आउँदो मंसिर २ गतेभित्र सक्ने पार्टी नेता सम्मिलित निर्देशक समितिले निर्णय गरेको छ। तर विवादै विवादका कारण दुई वर्षसम्म गतिविधि शून्य रहेको नेविसंघको महाधिवेशन यो समयभित्र सक्न निकै मुस्किल छ।

संगठनभित्र रहेका धेरै विवादहरू समाधान गर्न बाँकी रहेका कारण नेविसंघको विवाद मिलाउन निर्देशक समितिलाई पनि हम्मेहम्मे पर्ने देखिन्छ। निर्देशक समितिले विवाद समाधानका लागि खास निर्णय गर्न नसकेका कारण नेविसंघको ११औँ समितिको कार्यकाल भदौ २ गते मात्र सकिने निर्णय गर्‍यो। महाधिवेशनको उद्घाटन मिति २०७३ साउन २३ गतेलाई मानेर अघि बढ्नुपर्नेमा नेविसंघभित्र देखिएको विवाद मिलाउन समस्या भएपछि पद सम्हालेको भदौ २ लाई नेतृत्वले आधिकारिक मिति मानेको छ। संगठनको विधानअनुसार अब उक्त मितिबाट तीन महिनाका लागि मिति थप्न पाइने व्यवस्था छ तर यो मितिमा पनि महाधिवेशन हुनेमा भने धेरै शंका छ।

नेविसंघ स्रोतका अनुसार पछिल्लो समय संगठभित्र उमेर हद विवादले उग्र रूप लिएको छ। संगठनका नेताहरूले भाषण गर्ने बेलामा उमेर हद विवादलाई सामान्य रूपमा भएको बताए पनि संगठनको आन्तरिक छलफलमा भने सशक्त रूपले उठाउने गरेका छन्। नेविसंघको विधानअनुसार उम्मेदवार बन्नका लागि ३२ वर्ष नपुगेको हुनुपर्नेछ। त्यही विधानअनुसार ११औँ महाधिवेशनबाट नेतृत्व चयन भएको थियो।

तर पछिल्लो समय नेविसंघका कतिपय प्रभावशाली नेता नै उमेर हद नाघिसकेका कारण विधान परिवर्तन गरेर सबैलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न दिनुपर्ने पक्षमा छन्। ‘आफू उठ्न नपाउने भएँ भनेर धेरै नेता साथीहरू उमेर हद हटाउनुपर्छ भन्ने पक्षमा छन्’, नेविसंघका एक पदाधिकारीले थाहाखबरसँग भने, ‘आफू उठ्न नपाउने भए किन महाधिवेशन गर्नु भन्ने पक्षमा पनि धेरै नेता भएका कारण महाधिवेशन गर्न चुनौती छ।’ पछिल्लो समय नेविसंघभित्र जोडतोडका साथ यो विषयले प्रवेश पाएको छ।

उमेर हद हटाउनुपर्ने पक्षमा वरिष्ठ नेता रामचन्द्र समूह र नेता कृष्णप्रसाद सिटौला समूहका नेता छन्। तर पार्टी महामन्त्री डा. शशांक कोइराला समूहका विद्यार्थी नेताहरूले भने विधानअनुसार उमेर हद हटाउनुपर्ने धारणा राख्दै आएका छन्। वरिष्ठ नेता पक्षधरका धेरै विद्यार्थी नेताहरू उमेर हदका कारण बहिरिनेछन्। यस्तै, अध्यक्ष आकांक्षी सिटौला पक्षधरका महामन्त्री कुन्दनराज काफ्ले पनि उमेर हदको विरुद्ध छन्। उमेर हद लागाउने हो भने उनी पनि निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनेछैनन्। तर आफूले कहिल्यै विधानविपरीतका कुरा नगरेको काफ्लेले बताए। ‘उमेर हद ठूलो विषय होइन’, उनले भने, ‘संगठनको महाधिवेशन सुनिश्चित हुनुपर्‍यो।’

नेविसंघमा उमेर हद पूरा भएका नेताहरूलाई पार्टीभित्र व्यवस्थापन गर्न नेतृत्वले तदारुकता नदेखाएका कारण पनि उनीहरू नेविसंघभित्र लडाइँ गरिरहेको केही नेताले बताउने गरेका छन्। पार्टी नेतृत्व पनि उमेर हद नहटाउने पक्षमा छ। स्रोतका अनुसार नेविसंघभित्र अराजकता र गुटगत विवादले उग्र रूप लिएको भन्दै पार्टी नेतृत्वले उमेर हद कुनै हालतमा हटाउन नमिल्ने बताउँदै आएको छ। उमेर हदको विषयमा नेविसंघका अध्यक्ष नैनसिंह महरले भने कुनै प्रतिक्रिया जनाउन चाहेनन्।

नेविसंघको महाधिवेशन नभए धेरै जना टीका लगाएर नेतृत्व लिने लाइनमा छन्। धेरै नेताहरूले महाधिवेशनका लागि आकांक्षा नदेखाएको नेविसंघको उच्च स्रोतको दाबी छ।

यस्तै, पार्टी सभापति शेरबहादुर देउवा पनि तत्काल नेविसंघको महाधिवेशनको पक्षमा छैनन्। पछिल्लो समय भ्रातृ संगठनका आफ्नो पकड खुस्कँदै गएका कारण देउवा नेविसंघलाई भने आफ्नो पक्षमा राख्न चाहन्छन्। पार्टीमा नेता उत्पादनको मुहान मानिएको नेविसंघमा पछिल्लो समय देउवा कमजोर देखिएका छन्।

नेता सिटौला समूहले साथ छाडेपछि देउवा भ्रातृ संगठनका कमजोर बन्दै गएका छन्। वरिष्ठ नेता पौडेल र सिटौला नजिकिएपछि देउवा झनै झस्किएका छन्। स्रोतका अनुसार देउवा पनि महाधिवेशनभन्दा टीके समिति ल्याउन चाहन्छन्। पार्टीको १३औँ महाधिवेशनमा सिटौलाको साथ लिएका देउवाले त्यसयता भएका हरेकजसो भ्रातृ संगठनका सिटौलासँग सहकार्य गर्दै अघि बढे तर सिटौलालगायत नेताहरू उनीबाट अलग भएपछि देउवा भ्रातृ संगठनहरूमा कमजोर छन्। यसकारण पनि अगामी तीन महिनभित्र नेविसंघको महाधिवेशन हुनेमा धेरै नेताहरूले शंका व्यक्त गरेका छन्।

नेपाल विद्यार्थी संघमा अहिले पार्टीमा देखिएका तीन गुटभन्दा धेरै गुट र उपगुट छन्। पार्टीमा देखिएको सभापति देउवा, वरिष्ठ नेता पौडेल र सिटौला समूहभन्दा यसमा झण्डै दोब्बर गुट र उपगुट छन्।

सभापतितर्फ अध्यक्ष नैनसिंह महरलाई असफल बनाउन लाग्ने एउटा गुट रहेको छ। यस्तै, वरिष्ठ नेता पौडेलतर्फ भने देखिने गरी दुई उपगुट छन्। पौडेल समूहमा भने प्रकाशमान सिंहका विद्यार्थी नेता र महामन्त्री डा. कोइराला निकटका विद्यार्थी नेताले उपगुट चलाउँदै आएका छन्। सिटौला समूह भने नेविसंघमा सशक्त देखिएको छ। उनको समूह नेविसंघमा एक ढिक्का छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.