|

काठमाडौंः मलखाद र सिँचाइको असुविधाका साथै समयमै रोग निवारणको पहल नगर्दा किसानले पर्याप्त उत्पादन लिन सकेका छैनन्। 

नेपाल कृषि अनुसन्धान परिषद्ना नार्कले सिफारिश गरेका बीउबाट किसानले पर्याप्त आम्दानी लिन नसकेको जनाएको छ। नार्कमा कार्यरत वरिष्ठ वैज्ञानिक मनोज ठाकुरले बीउ उपलब्ध गराए पनि बालीका लागि चाहिने प्रविधि र ज्ञान दिन नसकेको बताए। 

किसानले मल र सिँचाइ समयमै पाए उत्पादन दोब्बर लिन सक्ने उनको भनाई छ। अहिले राष्ट्रिय उत्पादन २, ४ मेट्रिक टन भएकामा त्यसलाई दोब्बर गर्न किसानलाई आवश्यक कुरा उपलब्ध गराउनु पर्छ। उनले भने, “सम्बन्धित सबैले किसानका लागि आवश्यक कुरा उपलब्ध गराउन ध्यान दिनुपर्छ ।” किसानले वर्षेनी मलको समस्या भोग्दै आएका छन् । कतिपय किसानले युरिया मल पाइने आशामा समयमै बाली लगाउँछन्। उनी भन्छन्, “किसानले मल हाल्न नपाएका धेरै घटना छन् ।” 

नार्कले धान, मकै, गहँुलगायतका बालीका उन्नत जातको विकास गर्दै आएको छ। कतिपय स्थानीय जातलाई समिश्रण गराएर तथा कतिपय बीउ अन्य मुलुकबाट ल्याएर नार्कमा उत्पादन र रोग प्रतिरोधी क्षमता परीक्षण गरी किसानका लागि सिफारिश गर्ने गरिएको छ। नार्कले पहिले आफ्नो खेतबारीमा बीउ रोपेर परीक्षण गर्छ। त्यसमा राम्रा गुण पाए मात्र सिफारिशको प्रक्रिया अघि बढाउँछ।

“किसानको खेतमा दुई यामसम्म बीउ लगाएर मात्र किसानका लागि सिफारिश गरिन्छ,” ठाकुरले भने । नार्कले गत वर्ष दुई किसिमका धानको बीउ सिफारिश गरेको थियो।
 बालीमा लाग्ने रोगको उपचार समयमै नपाएको वरिष्ठ वैज्ञानिक ठाकुर बताउँछन्। किसानले जिल्ला कृषि विकास कार्यालय तथा स्थानीय निकायमा समस्या राख्ने गरेका छन्। उनले भने, “रोग लाग्दा किसान कहाँ जाने भन्ने अन्यौलमा छन् ।” एग्रोभेटले रोगको पहिचान नै नभई विषादी दिने गरेका छन् । 

नार्कअन्तर्गतको बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली यहाँको खेतमा छ टनसम्म फल्ने बीउ किसानका खेतमा पुग्दा तीन टन हाराहारीमा मात्रै उत्पादन दिएको बताउँछन्। उनी भन्छन्, “मल, सिँचाइ र प्रविधि उपलब्ध भए उत्पादन पनि बढ्छ ।”

देशभर ८५ प्रतिशत धान, ९७ प्रतिशत गहुँ र ८५ प्रतिशत मकैको बीउ नार्कले विकास गरेको उन्नत बीउ किसानले प्रयोग गर्दै आएको नार्कको तथ्याङ्क छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.