|

बैतडी : नमुना शहरका रूपमा विकसित गर्न सरकारले घोषणा गरेको बैतडीको पाटन नमुना शहर बनाउने कार्यले गति लिन सकेको छैन। सरकारले सात वर्ष अगाडि नमुना शहरका रूपमा विकसित गर्ने घोषणा गर्दा निकै खुसी भएका पाटनबासी अहिले निराश भएका छन्।  

सरकारले आर्थिक वर्ष २०६७/०६८ मा मध्यपहाडी लोकमार्गअन्तर्गत १० शहरलाई नमुनाको रूपमा विकसित गर्ने निर्णय गरेको हो। तिनै १० नमुना शहरमध्ये १०औँ शहरको रूपमा बैतडीको पाटनलाई विकसित गर्ने निर्णय भएको थियो। एक लाख बढी मानिसको बसोबास गराउने, आधुनिक शहरको सुविधासहित व्यवस्थित शहर बनाउने निर्णय हुँदा पाटनबासी निकै खुसी भएका थिए। नमुना शहर बनाउने घोषणा भएको सात वर्ष बितिसक्दासमेत यो शहरमा विकास निर्माणका कामले खासै गति लिन नसकेकामा निराशा छाउँदै गएको स्थानीय दिनेश विष्टले बताए।

नमुना शहरका रूपमा विकसित गर्नकै लागि हालसम्म ११ करोड रुपैयाँ खर्च भइसकेको छ। सरकाले सुरुका दुई वर्षमा न्यून बजेट विनियोजन गर्दा अझै पनि आयोजनाको कामले सोचेअनुसार अघि बढ्न नसकेको हो। नमुना शहरको रूपमा विकसित गर्ने सरकारी घोषणा भए पनि नयाँ शहरको काम सोचेअनुसार अघि नै नबढेको पाटनका कपिल केसीले बताए। ‘पाटन शहर नमुना बन्छ भन्दा धेरै खुसी लागेको थियो। सुविधासम्पन्न अस्पताल, खानेपानी, विद्युतलगायत आधारभूत विकासका कुरा अघि बढ्ने आशा गरेका थियौं’, उनले भने, ‘तर हालसम्म पनि निर्माण कार्यले गति लिन नसक्दा निराश बनाएको छ।’

नयाँ शहर बनाउने घोषणा भएको दुई वर्षसम्म निकै थोरै बजेट आएको नयाँ शहर आयोजनाले जनाएको छ। 'बजेट आएपछि पनि धेरै काम हुन सकेको छैन', आयोजनाका प्रमुख प्रवीण शाहले भने, ‘गत आर्थिक वर्षमा भने निकै प्रगति भएको छ। गत वर्ष गर्नुपर्ने ११ कामहरूमध्ये आठ काम सम्पन्न भएका छन्। साथै ९० प्रतिशत भौतिक प्रगति भएको छ।' आयोजनाका प्रमुख शाहले खर्च प्रगति ९७ प्रतिशत भएको र पाँच करोड ६२ लाख रुपैयाँ रकम विनियोजन भएकोमा पाँच करोड ४० लाख रुपैयाँ खर्च भएको बताए। 

पाटनमा जग्गा प्लटिङमा समेत समस्या आएको छ। पाटन नयाँ शहर आयोजनाअन्तर्गत डोबरा, भट्टाडलगायत ठाउँमा जग्गा एकीकरण गरी वस्ती विकासको कामलाई अघि बढाउने योजना छ। सरकारले जग्गा एकीकरण, सडक निर्माणलगायत काम गर्ने भएकाले मासिएको जमिनको क्षतिपूर्ति दिने प्रावधान छैन। तर स्थानीयले भने घुमाउरो भाषामा क्षतिपूर्तिको माग गरिरहेका छन्। नहर तलतिरको जमिन निकै खेतीयोग्य रहेको र धेरैले यसै जमिनमा उब्जेका अन्नबाट परिवार धानिरहेकाले जग्गा एकीकरण गर्दा जमिन मासिने चिन्ता स्थानीय बासिन्दाको रहेको छ। सरकारले अन्य पूर्वाधारको काम पहिला सकेर जग्गा एकीकरण र विकासमा लाग्नुपर्ने स्थानीय छविराज जोशीको भनाइ छ।   

जग्गा प्लटिङको काम अघि नबढ्दा नयाँ शहरको काम अघि बढ्न सकेको छैन। जनप्रतिनिधिहरूले समेत अपेक्षाकृत रूपमा काम गर्न नसकेको स्थानीयको गुनासो छ। ऐतिहासिक शहरको रूपमा रहेको पाटनलाई नमुना शहर बनाउने भने पनि नमुना शहर निर्माणका अधिकांश काम अलपत्र छन्। नमुना शहर बनाउन नगरपालिकाका तर्फबाट हुनसक्ने सहयोग तथा समन्वय गर्न पाटन नगरपालिका तयार रहेको नगर प्रमुख केशवबहादुर चन्दको भनाइ छ। पाटन प्राकृतिक हिसाबले रमणीय र सुन्दर ठाउँ हो। यसको चारैतिर डाँडाकाँडा र बीचमा मैदानी फाँट रहेको खेत छ।

ऐतिहासिक रूपमा पनि पाटनलाई देवता र असुरबीचको लडाइँ भएको ठाउँको रूपमा चिनिन्छ। देवता र असुरबीचको लडाइँ भएकाले बीचमा बग्ने नदीको नाम सुर्नया रहेको हो। यो ऐतिहासिक शहरलाई आधुनिक बनाउने काममा सबैले सहयोग गर्नुपर्ने स्थानीय बासिन्दा तथा जिल्ला समन्वय समिति संयोजक सिद्धराज भट्टले बताए। उनले भने, ‘पाटन नयाँ शहरको काम अघि बढाउन हामी सबै मिलेर अघि बढ्नुपर्छ।’ पाटन नयाँ शहरअन्तर्गतका चक्रपथ, डम्पिङ साइट, कभर्ड हल निर्माण, बसपार्क निर्माण, ढल निकासका काम अझै सम्पन्न हुन सकेका छैनन्। ‘पाटन बजार क्षेत्रमा फोहोरको पनि उस्तै समस्या छ। ढल निकासको व्यवस्था नहुँदा बजार क्षेत्र दुर्गन्धित बन्ने गरेको छ’, स्थानीय धनी कोलीले भने, ‘बजेट छुट्याउनेतर्फ प्रदेश र संघीय जनप्रतिनिधिहरूको ध्यान जानुपर्छ।’

नमुना शहर निर्माणका लागि भौतिक पूर्वाधार विकास उपसमिति, सामाजिक विकास समिति, आर्थिक समिति, पर्यटन तथा साँस्कृतिक विकास समिति, वातावरण तथा जलवायु अनुकूलन समिति, प्रकोप व्यवस्थापन समिति, वित्तीय विकास समिति र संस्थागत विकास समिति गरी विभिन्न आठवटा उपसमितिहरू समेत गठन भएका थिए। पाटनलाई आगामी वि.सं. २०८८ भित्र नयाँ शहरको रूपमा विकास गरिसक्ने लक्ष्य राखिएको छ। नयाँ शहरको रूपमा विकास गर्न छ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सरकारले पूर्वको फिदिम र पश्चिमको पाटनसम्म मध्यपहाडी लोकमार्गमा पर्ने १० वटा नमुना शहर बनाउने घोषणा गरेको छ।

पर्यटन तथा व्यापार व्यवसाय फस्टाउने

नेपाल सरकारले घोषणा गरेको १० नमुना शहरमध्येको एक शहर निर्माण सम्पन्नपश्चात् व्यापार व्यवसाय फस्टाउनुका साथै पर्यटकीय गन्तव्य बनाउन सकिने भएको छ। विभिन्न साँस्कृतिक रूपले भरिपूर्ण पाटनको विकास गर्न सके भारतसँग सीमा जोडिएकाले दुई देशीय व्यापार फस्टाउनेछ। स्थानीय व्यापारी दिनेश विष्टको भनाइ छ। उनले भने, 'व्यापार व्यवसाय पनि फस्टाउने र विदेशी पर्यटकसमेत भित्र्याउन सकिन्छ।' यस्तै, पाटन नगरपालिकामा रहेको पताल भूमेश्वर एसियाकै लामो गुफा मानिएकाे छ। यस गुफाको प्रचार प्रसारका लागि विभिन्न कार्यहरू संचालन गर्ने नयाँ शहर आयोजना कार्यालय पाटन बैतडीले जनाएको छ।

पाटन प्याराग्लाइडिङका लागि पनि निकै सम्भावना रहेको ठाउँ भएकाले पाटनमा थुप्रै पर्यटकहरू भित्रिने सम्भावना रहेको जनाइएको छ। साथै पर्यटकीय आकर्षणको मुख्य केन्द्रबिन्दु रहेको नेपालकै गहिरो गुफा पत्ताल भूमेश्वर, उदयदेव मन्दिर, त्रिपुरा सुन्दरी, निङ्गलासैनी मन्दिर, ईश्वरी गंगाधाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगासधामलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ।  

अहिले बैतडीबाट हजारौँ मानिसले तराईतिर बसाइँसराइ गरिरहेको र हजारौँ युवा शक्ति विदेश गइरहेका बेला पाटन नै नयाँ शहर बनिसकेपछि यस कार्यको अन्त्य हुने स्थानीय वसन्त विष्टले बताए। बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित छ। पाटन विमानस्थल पुनः संचालनका लागि भन्दै हाल स्तरोन्नतिको काम भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.