|

बाँके : भेरी अञ्चल अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापा हरेक शनिबार आफैं सरसफाइमा खटिन्छन्। मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त हुना साथ उनले अस्पताल परिसरको सरसफाइलाई पहिलो प्राथमिकतामा राखे र हरेक शनिबार सरसफाइ गर्ने अभियान सञ्चालन गरे।

शनिबार बिहानको समय सरसफाइ गर्ने सूची बनाएका डा. थापा आफैं सरसफाइमा खटिएपछि उनलाई साथ दिनेको संख्या बढ्दै गएको छ। अस्पतालमा कार्यरत कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मीका साथै सर्वसाधारण अभियानमा सरिक हुन थालेको उनले बताए।

‘कर्मचारी, चिकित्सक र स्वास्थ्यकर्मी त सरसफाइमा सहभागी हुने नै भए,' डा. थापाले भने, 'बिरामीका आफन्त र सर्वसाधारणले पनि अभियानमा सघाउन थालेका छन्।’ उनले पहिलो प्राथमिकता अस्पतालको अगाडि भागलाई दिए पनि विस्तारै सबैतिर सफाइ गरिने बताए। सर्वसाधारणलाई सुर्ती तथा सुर्तीजन्य बस्तु सेवन गरेर नथुक्न र फोहोर नफाल्न आग्रहसहितको सूचना जारी गरिएको बताउँदै उनले सरसफाइ अभियानलाई विस्तार गर्दै लैजाने योजना सुनाए।

‘अस्पताल परिसरमा जथाभावी फोहोर फाल्न हुँदैन भन्ने सचेतना जगाउने अभियान पनि थाल्ने योजना छ,’ डा. थापाले भने, ‘उपचारका लागि आएका बिरामी र उनीहरुका आफन्तले जथाभावी फोहोर फाल्दा अस्पताल परिसर दुर्गन्धित हुने गरेको छ।’

डा. थापाले सरसफाइ अभियान थालेको आठौँ श्रृङ्खला भएको छ। उनले शनिबारलाई सरसफाइ दिनका रुपमा लिएको बताए।  उनले भने, ‘सुरुवात आफैबाट गरौँ भनेर अभियान सुरु गरेका छौँ।’

अस्पतालले थालेको अभियानमा साउन २६ मा ‘समृद्धिका पाइला’ नामक संस्थाले पनि सरसफाइमा साथ दिएको छ। अस्पताललाई सफासुग्घर राख्ने दायित्व अस्पतालका कर्मचारीको मात्र नपर्ने भएकाले हातेमालो गर्न अभियानमा साथ दिएको संस्थाका रत्न खत्रीले बताए। उनले अस्पताल परिसरमा पार्क निर्माण गर्ने घोषणा समेत गरेका छन् ।

प्रमुख आफैं सरसफाइमा खटिएपछि अस्पताल परिसर सफा हुँदै गएको उपचारका लागि अस्पताल आएका बिरामीका कुरुवाले बताए। बुवाको उपचारका लागि बर्दियाबाट अाएका सतिस शर्माले अस्पताल परिसरमा फोहोर देखिन छोडेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.