बैतडी : भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पुल निर्माण नहुँदा बैतडीसहित प्रदेश ७ को नागरिकहरु जीर्ण पुलबाट आवतजावत गर्न बाध्य छन्।
झुलाघाटमा करिबब डेढ सय वर्षअघि ईष्ट इण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुल छ। त्यस क्षेत्रमा अन्य पुल नभएकाले जीर्ण अवस्थामा रहेको त्यही पुलबाट नागरिकहरु जोखिपूर्ण रुपमा ओदोरदोहोर गर्दै आएका छ।
नेपालका सरकार प्रमुखको भारत भ्रमणका बेला झुलाघाटसहित सीमामा पक्की पुलको कुराले चर्चा पाउने गरे पनि यस क्षेत्रमा अहिलेसम्म नयाँ झोलुंगे पुलसम्म निर्माण भएको छैन। पुल नहुँदा यस क्षेत्रमा उत्पादित तरकारी, महलगायतका वस्तुहरु निर्यात गर्न कठिनाइ भएको लघु उद्यमी समूह संघ बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए।
झुलाघाट नाकामा पक्की पुल नहुँदा बैतडीका विभिन्न क्षेत्रमा आउन चाहने भारतीय पर्यटक आउन नसकेको बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए। उनले भने, ‘सीमा क्षेत्रका धेरै पर्यटकहरु बैतडी आउन चाहे पनि सीमा क्षेत्रमा पक्की पुल नहुँदा उनीहरुलाई भित्र्याउन सकिएको छैन।’
झुलाघाटसम्म दुवै देशले पक्की सडक निर्माण गरेको छ। झुलाघाट नाकामा पुल निर्माणका लागि २०५५ सालदेखि सर्भे मात्रै हुने गरेको सीमा क्षेत्रका वासिन्दाहरुको गुनासो छ। सर्भेअनुसार भारत जोड्ने पुलको लम्बाइ ९० मिटर छ। २०५६ सालमा पुलको डीपीआरसमेत बनेको थियो। उक्त डीपीआरअनुसार पुल निर्माणका लागि साढे छ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।
पहाडी क्षेत्रमा सुविधायुक्त अस्पताल नहुँदा प्रदेश ७ का बैतडी, दार्चुला, डडेलधुरा, बझाङलगायत सर्वसाधारण उपचारका लागि झुलाघाट नाकाबाट भारतीय सहर जाने गर्छन्। सडक सुविधा पुगेको दुई दशक बित्दासमेत सुदूरपश्चिमको पहाडी नाका झुलाघाटमा मोटर चल्ने पुल नहँुदा बिरामीलाई उपचारका लागि बोकेर लैजानुपर्ने बाध्यता रहेको छ।
पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन नबन्दा झुलाघाट पक्की पुल निर्माणको विषय पनि अन्योलमा परेको बैतडी प्रदेश (ख)का सांसद लीलाधर भट्टले बताए। ‘झुलाघाट पञ्चेश्वरको प्रभावित क्षेत्रमा पर्दछ’ उनले भने, ‘पञ्चेश्वर बहुद्देश्यीय आयोजना बन्ने भएपछि झुलाघाटमा पुल बन्न असम्भव छ।’ पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको प्रभावित क्षेत्रमा ठूला संरचना निर्माण नगरिने बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।