|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार व्यवस्थापिका संसदमा सम्बोधन गर्दै छन्। 

दिउँसो ३ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले समसामयिक विषयमा धारणा राख्ने उनको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भएको सहमति, हालै भारतको गोवामा सम्पन्न ब्रिक्स र बिमस्टेक सम्मेलनमा भएका छलफलबारे संसदलाई जानकारी गराउनेछन्। चीनका राष्ट्रपति सि जिन पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गोवामा भएको त्रिपक्षीय भेटका विषय पनि प्रधानमन्त्रीले सम्बोधनमा समेट्नेछन्। 

प्रमुख प्रतिपक्षीसहितका दलहरुले भारत भ्रमणका क्रममा भएको सहमति, ब्रिक्स र बिमस्टेक सम्मेलनमा भएका छलफल र त्रिपक्षीय भेटबारे असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीको जवाफ माग गरेपछि प्रधानमन्त्रीले संसदमा सम्बोधनका लागि समय मागेका हुन्। संसदको नियमित कार्यसूची भन्दा अगाडि नै प्रधानमन्त्रीले सम्बोधन गर्ने संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईँकेलले जानकारी दिए। 

सम्बोधनका क्रममा भूकम्प पीडितलाई राहत वितरण, संविधान संसोधन प्रक्रिया, आन्दोलनरत मधेशी मोर्चाका माग सम्बोधनका लागि भइरहेका प्रयासबारे प्रधानमन्त्रीले जानकारी गराउनेछन्। उनले सबै राजनीतिक दलहरुलाई संविधान कार्यान्वयनका लागि एकजुट भएर अघि बढ्न अपिल गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

यसैबीच, प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा परराष्ट्र मन्त्री डाक्टर प्रकाशशरण महतले हिजो पेश गरेको जिवाणुयुक्त तथा विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाउने र तिनलाई नष्ट गर्ने सम्बन्धी महासन्धि पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.