देउवा पनि महासमिति चाहँदैनन्

|

काठमाडौं : नेपाली कांग्रेसको विधानको धारा २० मा उल्लेख भएअनुसार महासमिति बैठक महाधिवेशनको वर्ष बाहेक प्रत्येक वर्ष गर्ने उल्लेख छ। विधानत कांग्रेसको महाधिवेशन प्रत्येक चार वर्षमा एक पटक हुने गर्छ। उक्त अवधिमा निर्वाचित भएको केन्द्रीय समितिले कम्तीमा एक कार्यकालमा दुई पटक महासमिति बैठक बोलाउनुपर्ने हुन्छ। 

विधानले एक प्रकारको बाटो देखाएको भए पनि कांग्रेस लामो समयदेखि विधानअनुसार चल्न सकेको छैन। २०४६ यताको तीन दशकको अवधिमा ६ पटक मात्र महासमिति बैठक बसेको छ। कांग्रेसको नेतृत्व गर्न आएका धेरै सभापतिले महासमितिलाई महत्व दिँदैनन्। 
यस्तै, वर्षमा एक पटक बस्ने साधारण बैठकबाहेक केन्द्रीय समितिले आवश्यक ठानेमा वा महासमिति सदस्यको ४० प्रतिशतले कारणसहित बैठक माग गरेमा तीन महिनाभित्र बैठक गर्नुपर्ने हुन्छ। 

कांग्रेसको महासमिति अधिकार सम्पन्न समिति हो। कांग्रेसको विधान परिवर्तन गर्नुपरेमा वा कुनै आकस्मिक निर्णय गर्नु परेमा महासमिति बैठक बोलाउनुपर्ने हुन्छ। कांग्रेसको आकस्मिक नेतृत्व परिवर्तन गर्नुपर्ने भएमा पनि यो समितिले परिवर्तन गर्ने अधिकार रहन्छ। 

२०४६ यता कांग्रेसको ६ पटक मात्र महासमिति बैठक बसेको छ। २०४८ मा कृष्णप्रसाद भट्टराई पार्टी सभापति भएपछि उनको कार्यकालमा दुई पटक महासमिति बैठक बसेको थियो। भट्टराईको कार्यकालमा २०४९ साल माघमा र २०५१ साल फागुनमा महासमिति बैठक बसेको थियो। यस्तै गिरिजाप्रसाद कोइराला पार्टी सभापति बनेपछि कांग्रेसको महासमिति बैठक तीन पटक महासमिति बैठक बस्यो। २०५४ साल कातिक, २०६४ साल असोज र २०६६ साल कातिकमा महासमिति बैठक बस्यो। यस्तै, २०६९ सालमा सुशील कोइराला सभापति हुँदा चैतमा महासमिति बैठक बसेको थियो। 

त्यसयता पार्टीको महासमिति बैठक बस्न सकेको छैन। यो ६ वर्षको अवधिमा कम्तीमा चारपटक महासमिति बस्नुपर्ने हो। यहीबीचमा संविधान बनेर पार्टीको विधान पनि संविधानअनुसनार परिवर्तन गर्नुपर्ने बेलामा समेत कांग्रेसको महासमिति बैठक बस्न सकेन। हुन त पार्टीको सात दशक लामो जीवन कालमा पनि जम्मा ९ पटक मात्र महासमिति बसेको छ। पार्टीमा रहेको गुटका कारण तीव्र आलोचना हुने डरले पनि नेतृत्व महासमिति बोलाउन चाहँदैनन्। 

पार्टी नेतृत्व आफू आलोचित हुने डरले महासमित बैठक बोलाउन डराउने पार्टीका पुराना नेता पूर्णनन्द शर्मा बताउँछन्। ‘महासमितिमा नेतृत्वले गरेका गलत कामका बारेमा बहस हुन्छ’, उनले भने, ‘प्राय सबै आलोचनाबाट डराउँछन्। त्यसैले एक वर्षमा बोलाउनुपर्ने महासमिति बैठक बोलाउन डराउछन्।’

छठपछि मात्र महासमिति
पछिल्लो समय कांग्रेसको महासमिति बैठकले निकै चर्चा पाएको छ। संविधान निर्माण भएको तीन वर्ष हुनै लाग्दा पनि कांग्रेसको विधान भने संघीय संरचनाअनुसार हुन नसकेका कारण पार्टीको केन्द्रीय समितिको बैठकले महासमिति बैठक बोलाउने निर्णय गरेको थियो।

सोहीअनुसार भदौमा महासमितिको मिति तय गरियो। पार्टीको विधान परिवर्तानका लागि महासमिति बैठक बोलाइने भएका कारण विधान परिमार्जनका लागि पनि असारमै मस्यौदा समिति गठन गर्ने निर्णय भएको थियो। तर भदौ लाग्नै लाग्दा समेत महासमिति अन्यौलमै छ। मस्यौदा समिति गठनका लागि अहिलेसम्म सभापति शेरबहादुर देउवा उदासिन् देखिन्छन्। 

देउवा पक्षका नेताहरू वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मस्यौदा समितिमा बस्ने सदस्यको नाम नदिएका कारण ढिला भएको बताउँदै आएको छ। तर वरिष्ठ नेता पौडेल समूहले भने दुई हप्ता अघि नै नाम दिइसकेको दाबी गरेको छ। तर देउवाले भने आफ्नो समूहबाट को को सदस्य रहने भन्ने टुंगो लगाउन सकेका छैनन्।
देउवा समूहका एक पार्टी पदाधिकारीकाअनुसार पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहबाट चार जनाको नाम दिइएको छ। जसमा मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, नवीन्द्रराज जोशी र गगन थापाको नाम छ। तर सिटौला समूहका थापाको नाम परिवर्तन गरेर प्रदीप पौडेलको नाम सिफारिस गर्नलाई वरिष्ठ नेता पौडेलले सभापतिलाई आग्रह गरेका छन्। 

थापाले आफू संसदमा काम गर्ने बताउँदै आफ्नो समूहकै पौडेलको नाम सिफारिस गर्न सहमत भएपछि पौडेलको नाम पुनः पठाइएको छ। ९ सदस्यीय मस्यौदा समिति रहने अन्तरिक सहमति भए पनि अहिलेसम्म टुंगो लागेको छैन। जसमा सभापति पक्षले संयोजकसहित पाँच सदस्य राख्ने सहमति भएको छ। सभापति पक्षबाट मस्यौदा समितिको संयोजकमा पूर्णबहादुर खड्का रहने लगभग निश्चित छ। 

यस्तै सभापति पक्षबाट मानबहादुर विश्वकर्माको नाम पनि निश्चित जस्तै छ। प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि जिम्मेवारीविहीन भएको गुनासो गरेपछि नेता रमेश लेखकलाई पनि समितिमा पठाउने देउवाको तयारी छ। यस्तै, महिलामा भने महालक्ष्मी उपाध्य (डिना) वा चित्रलेखा यादवलाई पठाउने भन्ने विषय टुंगिएको छैन। यादवलाई समितिमा पठाउँदा महिला र मधेश दुवैको प्रतिनिधित्व हुने भन्दै नेतृत्वले उनलाई पठाउने तयारी गरेको छ। यस्तै समितिमा ज्ञानेन्द्रबहादुर कार्कीको पनि चर्चा छ। 

भदौ लाग्नैलाग्दा समेत मस्यौदा समिति गठन भइनसकेकाले तिहारअघि महासमिति बैठक बस्ने सम्भावना न्यून रहेका देउवा निकट स्रोतले बताएको छ। ‘अहिलेसम्म मस्यौदा समिति गठन भएको छैन। त्यसलाई काम गर्न पनि समय लाग्छ। अब तिहार र छठअघि महासमितिको सम्भावना छैन’, स्रोतले भन्यो।

यसकारण महासमिति चाहँदैनन् देउवा

पछिल्लो समय मस्यौदा समिति गठन देउवाकै कारण रोकिएको छ। उनी सुरुवाती समयदेखि नै महासमिति बैठक सार्न चाहन्छन्। देउवाले मस्यौदा समिति गठन गर्ने हो भने महासमितिको बैठकको बाटो खुल्छ। तर देउवा महासमिति बैठकका लागि उदासिन देखिन्छन्। पार्टीको १३ औँ महाधिवेशनमा सिटौलाको साथ पाएर बलिया भएका देउवा निर्वाचनपछि आफू निकटकाले साथ छाड्दै गएपछि क्रमश कमजोर बन्दैछन्। 

आफू कजोर भएपछि आलोचित हुने डरले पनि देउवा तत्काल महासमिति बैठक बोलाउन चाहने पक्षमा नरेको उनीइतर स्रोतको आरोप छ। महासमिति ढिलाई गर्दै यसबीचमा देउवा शक्तिशाली बन्नतर्फ लाग्ने स्रोत बताउँछ। 

पछिल्लो समय देउवा र सिटौलाको सम्बन्ध चिसिएको छ। सिटौला वरिष्ठ नेता पौडेल समूहसँग सहकार्य गर्न पुगेका छन् भने उनी तेस्रो धारको नेतृत्व गर्दै आएका छन्। यसबीचमा वरिष्ठ नेता पौडेल र सिटौलाको सम्बन्ध चिस्याउँदै आफू नजिक बनाउने खेल खेल्न पनि उनी महासमिति सार्ने पक्षमा रहेको स्रोतको दाबी छ।
यसअघि सिटौलालाई नजिक्याउन सभापति देउवाले प्रयास गरे। तर नेता सिटौलाले बेवास्ता गरेपछि वरिष्ठ नेता पौडेललाई देउवाले नजिक ल्याउने प्रयास गरे। नेता पौडेलको माग पूरा गर्दै सहकार्य गर्न देउवाले गरेको आग्रहलाई पौडेलले मानेका थिए। तर पौडेल निकटका नेताहरू र भर्खरै सहकार्य गर्न आएका सिटौला समूह असन्तुष्ट देखिएपछि उनी देउवासँग सहकार्य गर्नबाट पछि हटे। 

हुन त पौडेलले सिटौलाला त्यति धेरै विश्वास गर्दैनन्। सिटौलाले १३ औँ महाधिवेशनमा असहयोग गरेपछि पौडेल शशंकित छन्। यो अवस्थाका कारण देउवाले पौडेल र सिटौलाबीच खेल्ने ठाउँ खोजिरहेको स्रोतको दाबी छ। 

देउवाइतर समूहले लगाएको अर्को आरोप हो, उनी आलटाल गरेर आफ्नो कार्यकाल बढाउन चाहन्छन्। विधानअनुसार ४ वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्ने उल्लेख छ। तर पार्टीको विधानअनुसार विविधकारणले चार वर्षमा महाधिवेशन गर्न नसके एक वर्ष समय थप्न मिल्छ। यस्तै संविधानअनुसार फेरि छ महिना समय थप्ने मिल्ने व्यवस्था छ। ‘उहाँले साढे पाँच वर्ष चलाउने योजना बनाउनुभयो’, देउवाइतरका एक नेताले भने, ‘त्यसैले त महासमितिलाई अन्योलमा पार्नुभयो।’

यस्तै, निर्वाचन अघि एक भएको फोरम लोकतान्त्रिकबाट पनि महासमिति र पदाधिकारीमा थप गरेर आफू सशक्त हुने खेलमा देउवा लागेको ती नेताले आरोप लगाए। ‘उहाँ (देउवा) फोरम लोकतान्त्रिकबाट एकता भएर आउनुभएका विजयकुमार गच्छदारलाई उपसभापति बनाउन चाहनुहुन्छ’, ती नेताले थाहाखबरसँग भने, ‘महासमितिमा पनि उहाँका मान्छेलाई ल्याएर आफ्नो गुटमा समावेश गरेर सशक्त बन्ने सभापतिको खेल हो, त्यसका लागि उहाँ वातारवण तयार गर्दे हुनुहुन्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.