|
प्रधानमन्त्री ओली तीनवर्षपहिले सडक कालोपत्रे गर्ने आश्वासन दिँदै र सडकको वर्तमान अवस्था

गोरखा : गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकसम्म जाने सडक कालोपत्रे हुन्छ भनेर प्रधानमन्त्री केपी ओलीले बारपाकमै पुगेर घोषणा गरेको तीनवर्ष पूरा भएको छ। त्यतिबेला पनि प्रधानमन्त्री रहेका ओली अहिले पनि प्रधानमन्त्री नै छन्।

भूकम्पको पीडामा रहेका बारपाकीलाई सान्त्वना दिन हेलिकोप्टरमार्फत बारपाक पुगेका केपी ओलीले भनेका थिए,‘अब दुई वर्षभित्र कालोपत्रे सडकमा सरर्र गाडी चढेर बारपाक आउने हो।’ त्यही आश्वासनले भूकम्पको पीडालाई केही कम गर्ने माध्यम समेत बनाए। तर, केपी ओलीले बारपाक सडक कालोपत्रे दुई वर्षभित्र हुन्छ भनेर तीन वर्ष अघि घोषणा गर्दा जहाँसम्म कालोपत्रे गरिएको थियो। अहिले पनि त्यहीँसम्म मात्र कालोपत्रे भएको छ। 

‘हामीलाई दुई वर्षभित्र बारपाकमा कालोपत्रे सडक आइपुग्ने बाचा दिएर प्रधानमन्त्री ज्यू हेलिकोप्टरमा उडेर जानु भएको थियो’ बारपाकका जीतबहादुर घलेले भने ‘उनले घोषणा गरेर जानु भयो। यता कामको सिन्को भाँचिएको छैन।’ बारपाकसम्म हिउँदमा मात्रै सवारी आवतजावत हुन्छ। बर्खायाममा भने बालुवा बजारसम्म करिब तीन घण्टा हिँडेर बारपाकीहरू बस चढ्न आउनुपर्छ। 

ओलीको घोषणापछि गोरखादेखि बारपाकसम्मको ४६ किलोमिटर सडक कालोपत्रे गर्न सडक बिभागले ६५ करोड रुपैयाँ बिनियोजन गर्‍यो। ११ किलो छेपेटार बारपाक सडक योजना कार्यालयले चारवटा प्याकेज बनाएर टेण्डर आह्वान पनि गर्‍यो। तर योजना सम्झौता गरेर ठेकेदार भागेको आरोप लगाउँदै सडक योजना कार्यालयका प्रमुख अमृतमणि रिमालले निर्धारित काम हुन नसकेको बताए। 

बारपाक सडकको उक्त खण्डमा तीनवर्ष अघि भएको नौ किलोमिटरलाई नै सडक कार्यालयलाई नै अहिले पनि आफ्नो उपलब्धि मान्दै आएको छ। ‘पहिलो खण्डको आठ किलोमिटर कालोपत्रे गर्न नौकरोड ३७ लाखमा नागार्जुन त्रिशुली जेशीले जिम्मा पाएका थिए’ रिमालले भने,‘२०७२ मंसिरभित्रै काम सम्पन्न गर्ने सम्झौता गरेको कम्पनीले काम नसकेपछि झण्डै डेढवर्ष म्याद थप गरेपछि पनि काम भएन। काम पूरा नगरे पनि कार्यालयले उक्त कम्पनीलाई ७० लाख रुपैयाँ जमानत जफत गर्‍याे।’ 

अर्काे पाँच किलोमिटर सडक कालोपत्रे गर्न कन्काई गोरखा जेभी कम्पनीले ११ करोड ९४ लाख रुपैयाँमा ठेक्का लिएको थियो। कार्यालयले सो काम सम्पन्न गर्नका लागि २०७६ सालको असार सम्मका लागि म्यादथप गरेको छ। तेस्रो खण्डको आठ किलोमिटर खण्ड कालोपत्रे गर्न लोहनी एण्ड ब्रदर्श कम्पनीले १० करोड ७० लाख रुपैयाँ ठेक्का लिएको थियो। २०७४ जेठभित्र सम्पन्न गर्ने गरी सम्झौता गरे पनि सम्पन्न नभएपछि गत जेठ १५ गते सम्मका लागि म्याद थप गरिएको थियो। तर म्याद थप गर्दा पनि जम्मा ३१ प्रतिशत मात्र काम सम्पन्न भएको सडक कार्यालयमा तथ्यांक छ। 

सडक योजना कार्यालयले चौथो खण्डको १६.७ किलोमिटर सडक कालोपत्रे गर्न रसुवा इलाइट सूर्य जेभी कम्पनीलाई ३५ करोड रुपैयाँमा ठेक्का दिएको थियो। गत वर्षकै असार मसान्तमा सक्ने गरी सम्झौता गरेको उक्त कम्पनीले काम नसकेपछि सडक आयोजना कार्यालयले फेरि एक वर्षको म्याद थप गरी दिएको छ। सडक कार्यालयले काम नगर्ने ठेकेदारको नाम पत्रपत्रिकामा प्रकाशन गरेर ताकेता गरे पनि ठेकेदारले अटेर गर्ने गरेको बताएको छ। 

बारपाक जाने सडक खण्डमा आवश्यक सबै पुल भने जापानी सहयोगी नियोग जाइकाले जिम्मा लिएर पनि निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ। यता ठेकेदारलाई काम गर्न ताकेता दिन पत्रपत्रिकामा ठेकेदारको नाम प्रकाशन गरेपछि ठेकेदारहरूले नेताहरूलाई फोन गरेर उल्टै आफूलाई दवाव दिन लगाएको सडक कार्यालयका प्रमुख रिमालले बताए। ‘आएर खुरुखुरु काम गर्नुको सट्टा ठूलाबडा नेतालाई भनेर उल्टो दवाव दिने गरेका छन्’ उनले भने।

यता गत वर्षदेखि नै गाउँमा कालोपत्रे सडक देख्ने सपना देखेका बारपाकीको पीडा भने ज्यूँको त्यूँ छ। सडक राम्रो नहुँदा गाउँमा कोही बिरामी हुँदा जस्तो पीडा बारपाकीले अरु बेला कहिल्यै भोगेका छैनन्। ‘गाउँमा कोही विरामी भयो भने मनमा पिरको आँधी नै चल्छ’ घामरानी घलेले भनिन्, ‘विरामी हुने वित्तिकै स्टेचर खोजेर तीनचार घण्टा हिँडाएर बालुवा झार्नु पर्छ। त्यहाँबाट बल्ल गाडीमा हालेर गोरखा काठमाडौँ लैजान पाउँछ। त्यति बेला सम्म विरामी के हुने हो कसलाई के थाहा ?’

अर्को बारपाक भूकम्पको पुननिर्माणमा पनि व्यस्त छ। ‘गाउँमा घर बनाउने लहर चलेको छ’ जीत घलेले भने,‘सबैले हिउँदमै सामान ल्याएर राख्न सक्दैन। कमसे कम रोड पिच भएको त अहिले पनि सामान ल्याएर घर बनाउँथ्यो।’ बारपाक १५०० घरधुरी भएको नेपालकै ठूलो गाउँ समेत हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.