|

सिन्धुली : तत्कालीन दुई गाविस सिद्धेश्वर र भिमानको भूगोल र जनसंख्यालाई गाभेर २०५३ सालमा कमलामाई नगरपालिका बनेको हो। नेपालको प्रसिद्ध कमला नदीको उद्गमस्थलमा रहेको प्रसिद्ध तीर्थस्थल कमलामाई देवीको नामलाई आधार मानी कमलामाई नगरपालिकाको नामकरण गरिएको थियो। 

२०७३ सालमा साविकका गाविसहरू भद्रकाली, डाँडीगुराँसे, जलकन्या र रानीवासलाई मिलाएर यो नगरपालिका बनाइयो। हाल यसमा १४ वडा छन्। यस नगरपालिकाको जनसंख्या ६६ हजार ३६१ रहेको छ।  

कमलामाई नगरपालिकामा ऐतिहासिक सिन्धुलीगढी पर्छ। प्रसिद्ध धार्मिकस्थलमा सिद्धगढी, सिद्धबाबा, कालिमास्थान, माइस्थान मन्दिरलगायत यहीँ छन्। 
यस नगरपालिकामा स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुखमा नेकपा एमालेका खड्गबहादुर खत्री र उपप्रमुखमा नेकपा एमालेकै मन्जु देवकोटा निर्वाचित भएका छन्।

२०५३ मा नेकपा एमाले जिल्ला कमिटीको सदस्यबाट राजनीतिमा होमिएका खत्रीले एमालेको कार्यालय सचिव, उपसचिव हुँदै अञ्चल कमिटी सदस्यको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन्। नगरप्रमुख खत्री २०४९ को स्थानीय निर्वाचनमा हाल कमलामाई नगरपालिका (तत्कालीन सिद्धेश्वर गाविस) वडा- ७ को अध्यक्ष निर्वाचित भएका थिए। उनै नगर प्रमुख खड्गबहादुर खत्रीसँग थाहाखबरकर्मी बुद्ध नेपालीले नगरका विकासका कार्य, योजना र समस्याबारे गरेको कुराकानी प्रस्तुत छ। 

निर्वाचित भएपछि अहिले केके काम गर्नुभयो? 

आफू निर्वाचित भएको स्थानीय तहलाई कसरी सफा, सुन्दर राख्ने एउटा महत्त्वपूर्ण विषय हुँदोरहेछ भने अर्को आफू निर्वाचित भएको स्थानीय तहमा रहेका विपद्लाई कसरी व्यवस्थापन गर्ने भन्ने हुँदोरहेछ। यी दुईवटा कुरा महत्त्वपूर्ण हुन् भन्ने मैले ठानेँ र त्यही क्षेत्रमा मैले सबैभन्दा पहिला काम थालेँ। 

मैले यो भनिरहँदा शिक्षा, स्वास्थ्य, बाटो, बिजुली, खानेपानी जस्ता जनताका आधारभुत आवश्यकताहरूलाई पूरा नगर्ने हो त? त्यो होइन। ती चिजहरूलाई पनि हल गर्ने हो तर पहिलो कुरो हामीले मान्छे सदरमुकाम झर्दाखेरि सफा सुन्दरचाहिँ देख्न पाउनुपर्छ भन्ने अभियानलाई सार्थक तुल्याउनका लागि यो एक वर्षको दौरानमा २०७५ लाई सरसफाई वर्ष घोषणा गरेर त्यस मुताविक कमलामाई नगरपालिका अगाडि बढेको छ। 

'नगरवासीको चाहना, उज्यालो नगरपालिका हाम्रो कामना' त्यही नारालाई सार्थक पार्न अहिले दुई करोड रुपैयाँको टेन्डर भइसक्यो। ५० लाख रुपैयाँको ट्रान्समिटर किनिन्छ। अब यही साल अढाई करोड रुपैयाँको काम हुन्छ भने २०७५ नभए ०७६ सम्ममा यो नारा सार्थक बनाउने सोचमा म छु। ​

नगरपालिकामा जनताबाट कस्ता गुनासा आइरहेका छन्? 

जनप्रतिनिधिविहीन अवस्थामा जनताका जल्दाबल्दा र सामान्य काम पनि झन्झन्टिला, अप्ठ्यारा थिए। हामी आएर झन्झन्टिला, अप्ठ्यारा केही कामहरूलाई फुकाएका छौँ। केही सहज बनाएका छौँ। अहिले पनि केही कानुनहरूले बाँधेका अप्ठ्यारा कामहरू जनतालाई झन्झन्टिला छन्। ती झन्झन्टिला कामबाट हामीले मुक्ति दिलाउनुपर्छ। 

सबैभन्दा पहिले जनतालाई चाहिएको भनेको विकास निर्माण नै हो। जनतालाई पारदर्शिता पनि चाहिएको छ, इमान्दारी पनि। जनताका न्यूनतम बाटाघाटा, पुलपुलेसा, सामान्य बिजुली, खानेपानी आदि चिजहरू परिपूर्ति गर्ने कुरामा जनताको चासो छ। 

शहरीकरण हुन्छ भन्ने विश्वासिलो आधार त्यहाँका जनताले खोजेका छन्, के आधार छ शहरीकरण हुन्छ भन्ने? 

त्यसको रिस्क नेपाल सरकारको क्याविनेटले नलिई त्यो काम हुँदैन। त्यो रिस्क क्याविनेटले लिन्छ। क्याविनेटले गरेको निर्णयको कार्यान्वयन गर्न अर्को रिस्क कमलामाई नगरपालिकाले लिन्छ। उहाँहरूको जग्गा शहरीकरण नगरीकन बाटो लानेवित्तिकै छोडिदिन्छ भन्ने कुरामा यहाँहरू विश्वस्त नहुनुहोस्। त्यो जमिनको शहरीकरण गरेर, प्लटिङ गरेर तपाईंहरूलाई उपयुक्त बनाएर मात्रै हामी छाडिदिन्छौँ। 

निर्वाचित भएको पनि एक वर्ष पुग्यो। अहिलेसम्म के कति प्रतिबद्धताहरू पूरा भए त?

अहिले कमलामाई नगरपालिका वडा नं.- ७ बाट सिधै चिस्यान्त भज्याङबाट तीनकन्या निस्किएर खनियाँखर्क झर्ने बाटो निर्माण भएको छ। वर्षामा त्यो बाटो काम नलाग्ला तर त्यो बाटो व्यवस्थित गर्न डिपिआर तयार गर्ने भनेर कमलामाई नगरपालिकाले निर्णय गरेको छ। 

कमलामाई नगरपालिकाकै पहलमा वडा नं.- ८ माइस्थानदेखि सर्लाहीको किसनपुर नगरपालिका निस्किने बाटो बनायौँ। यता, बर्दिबासबाट केही समस्या भयो भने सोझै त्यहाँबाट पनि निस्किन सक्छौँ। 

मैले वृद्ध बाआमाको भत्ता हातहातमा पुर्‍याउँछु भनेको थिएँ। नभन्दै कमलामाई नगरपालिकाका वडाबाटै सबैको भत्ता वितरण भइरहेको छ। वृद्ध बाआमाहरूको आँखाको निःशुल्क उपचार गरिरहेको छ। 

अब शिक्षा प्रणालीलाई कसरी व्यवस्थापन गर्ने, के गर्दा शिक्षा क्षेत्र सुध्रिन्छ भनेर शिक्षकहरूलाई राखेर, व्यवस्थापन समितिका अध्यक्ष, अभिभावकसँग छलफल गर्ने योजनामा छौँ। यसरी काम भइरहेको छ। 

निर्वाचनमा गरेका सबै प्रतिबद्धता पूरा भएका छैनन्, ती  पूरा गर्न केही समस्याहरू छन्? 

सुरुकै अवस्था छ। भर्खर एक वर्ष पूरा भएको छ। मैले प्रतिबद्धताहरू लिपिबद्ध गरेर जनताका सामु लैजान नसकेको हुँला। अब एक वर्ष पछाडि मेरो समीक्षा म आफैँ पनि गर्दै छु। घोषणापत्र हेरेर कति काम पूरा भए कति काम सुरु भए र कति काम पूरा गर्न सकिने रहेछ भनेर हेर्छु। तर मलाई पूरा नहुने भन्नेचाहिँ लाग्दैन। 

ऐतिहासिक सिन्धुलीगढी संरक्षण र व्यवस्थापन गर्ने कुरा तपाईंको घोषणापत्रको मुख्य योजनामा थियो, अहिले के काम भइरहेको छ? 

दुई करोड रुपैयाँ बजेट कमलामाई नगरपालिकाले छुट्यायो। घेराबेराका लागि पोल, तारको टेन्डर भइसक्यो। तारजाली भएपछि सिन्धुलीगढी प्रवेशमा टिकट सिस्टम हुन्छ। अहिले गढीमा गएर तपाईंहरूले हेर्नुभयो भने पिकनिक खान र घुम्न आउने मान्छेको उपस्थिति हेर्ने हो भने निर्वाचित जनप्रतिनिधि हुनु र नहुनुमा कति फरक छ, थाहा हुन्छ।  

नगरपालिकामा केके समस्याहरू देख्नुभएको छ? 

कर्मचारीको व्यवस्थापन हुँदै गएपछि जनताले विस्तारै विस्तारै राहत पाउनेछन् भन्ने मैले महसुस गरेको छु। कमलामाई नगरपालिकामा सबैभन्दा बढी समस्याको विषय फोहोर मैला व्यवस्थापन नै हो। मैले बोलेको थिएँ- एक दिन यो ग्याङ खोलाको पानीलाई नुहाउन, लुगा धुन नभए खान प्रयोग गर्न सकिन्छ भन्ने मेरो विश्वास थियो। ठाउँठाउँमा कुरा गरिरहेको छु। यो ढललाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती छ। 

समस्या समाधान गर्नका लागि के योजना बनाउनुभएको छ? 

दुई-तीनवटा कुरा छन्। पहिलो फोहोरको व्यवस्थापन गर्नुपर्नेछ। दोस्रो, मलाई टाउको दुखेको भनेको सडक छ। तर मलाई मेरो कार्यकालभित्र जनताको घरको बिजुली बत्ती बल्दैन कि भन्ने चिन्ता छैन। मेरो कार्यकालमा कतिवटा बाटो पिच भए, कतिवटा पुल बने, त्यो कुरा महत्त्वपूर्ण छ। जनताले न्यायको प्रत्याभूति गर्न पाए कि पाएनन्, कमलामाई नगरपालिकामा पारदर्शिता भयो कि भएन यी महत्त्वपूर्ण हुन्। नगरपालिकाको विकासका लागि मेरो मात्र होइन, सम्पूर्ण जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। सम्पूर्ण योजना निर्माण र कार्यान्वयन गर्न सम्पूर्ण जनप्रतिनिधिहरू लाग्नुपर्छ। 

नगरपालिकामा नीतिगत तथा व्यावहारिक समस्या के कस्ता छन्? 

हिजो बाटो सार्वजनिक नभएसम्म जनताले घर बनाउन सकेका थिएनन्। नीतिगत रूपमै हिजो सातवटा कन्सल्टेन्सी थिए, तीबाहेकले घरको नक्सा नै बनाउन नपाउने अवस्था थियो। निर्वाचित भएर हामी गयौँ। सार्वजनिक नभएको बाटोमा पनि घर बनाउन दियौँ- नगरपालिकाको मापदण्डअनुसार। सातवटाले मात्र नक्सा बनाउन पाउनेमा अहिले जसले पनि नक्सा बनाउन पाउने भयो। हिजो नगरपालिकामा नगई नक्सा बन्दैनथ्यो। अहिले भूकम्पपीडितको नक्सा वडाबाटै हुने बनायौँ। अझै पनि केही नीतिगत समस्याहरू छन्। हामी निर्वाचित भएर गएपछि त्यसलाई हामी पार गर्दै छौँ। 

गुरुयोजना बनाइसकेपछि कमलामाई नगरपालिका त्यो योजनाअनुसार अगाडि बढ्छ। सिन्धुलीगढीको गुरुयोजना बनाउन गैरआवासीय संघसँग सम्झौता भएको छ। वास्तविक विषयवस्तु छनोट गरेर कमलामाई नगरपालिका अगाडि बढेको छ। 

व्यावहारिक समस्याचाहिँ के हो भन्नु होला भने हामी निर्वाचित जनप्रतिनिधिहरूलाई काम छिटो चाहिएको छ किनकि हामी जनताको प्रत्यक्ष भोटबाट निर्विाचित भएर आएका छौँ। हामी जनताको पक्षमा वकालत गर्छौं। तर हिजोदेखि यो काम गर्दै आउनुभएका कर्मचारी मित्रहरू हुनुहुन्छ। उहाँहरू नीति नियम लगाएर विस्तारै विस्तारै हुन्छ भन्नुहुन्छ। हाम्रो नजरमा तुरुन्त हुनुपर्‍यो। जनताले राहत पाउनुपर्‍यो। 

जनप्रतिनिधि र कर्मचारीबीच समस्या भएको छ। अन्य समस्या पनि छन्, यी समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय सरकारले के गर्नुपर्छ? 

विकास निर्माणको क्रममा केन्दीय तथा प्रदेश सरकारसँग मेरो माग सिन्धुलीगढीलाई व्यवस्थापन गर्नु रहेको छ। कमला खोलाअन्तर्गत वडा ९ र १० मा पक्की पुल बनाउनुपर्नेछ। माझीटारको विद्युत चोकदेखि जिर्गा खोलासम्म बाटो पिच गर्नुपर्ने, चियाबारीदेखि खुर्कोटसम्म सुरुङमार्ग निर्माण गर्नुपर्नेछ। यी चारवटा योजना राष्ट्रिय योजनाका बारेमा केन्द्र र प्रदेशका सांसदसँग कुरा गर्नुपर्नेछ। 

केहीकेही कुराहरूमा अप्ठ्यारो छ। प्रदेशमा पनि त्यो अधिकार छ, स्थानीयमा पनि छ। जस्तो : लालपुर्जा वितरण गर्ने अधिकार स्थानीय सरकारलाई भनेको छ। यता, सुकुम्बासीको व्यवस्थापन गर्ने प्रदेशलाई भनेको छ। जनताका आधारभूत आवश्यकताहरू परिपूर्ति गर्ने कुरामा प्रदेश सरकारले अनुमति दियो भने स्थानीय सरकारलाई सुकुम्बासीको पहिचान गर्ने अधिकार दियो भने वास्तवमा हामीले सुकुम्बासीको समस्या हल गर्न सक्छौँ। केहीकेही नमिलेका र दुईतिर अधिकार दिएर नमिलेका कुराहरू प्रदेश र केन्द्रले कानुनमा प्रस्ट गरिदिन जरुरी छ। हामीले आफ्नो अधिकार र हकको सही रूपमा प्रयोग गर्न पाइयो भने एक वर्ष त गयो, चार वर्ष त बाँकी छ, त्यस अवधिमा केही केही काम राम्रोसँग गर्न सकिन्छ। 

पाँच वर्षे योजनाहरू कसरी बनाइरहनुभएकोे छ? ती योजनाहरू कसरी पूरा गर्नुहुन्छ?

कमलामाई नगरपालिकाले चार वर्षे गुरुयोजना बनाउन लागेको छ। त्यो गुरुयोजना बनाइसकेपछि कमलामाई नगरपालिका त्यो योजनाअनुसार अगाडि बढ्छ। सिन्धुलीगढीको गुरुयोजना बनाउन गैरआवासीय संघसँग सम्झौता भएको छ। वास्तविक विषयवस्तु छनोट गरेर कमलामाई नगरपालिका अगाडि बढेको छ। 

एउटा कृषिको क्षेत्रमा लाग्यो कमलामाई नगरपालिका। नगरपालिकामा अहिले महिनामा कति तरकारी बाहिरबाट भित्रिन्छ, नगरबासीलाई कति तरकारी आवश्यक छ, नगरपालिकामा कति फल्छ र नगरपालिकाले कति बाहिर पठाउँछ? धान, मकै र अन्य तरकारी, फलफूलसहितका विस्तृत डाटा नगरपालिकाले संकलन गर्दै छ। सोहीअनुसार कृषिमा आत्मनिर्भर हुन के गर्दा हुन्छ, त्यो योजना निर्माण हुनेछ।

नगरपालिकाबाट विदेश कति गएका छन्? कति बेरोजगार छन्, कुन तहका कति मान्छे बेरोजगार छन्, डाक्टर, इन्जिनियर कति छन्, स्नातक र त्यसमुनिका योग्यता र क्षमताका कति छन्, सीपमूलक दक्षता भएका कति छन्, कलकारखाना कति छन्? यो डाटा संकलन गर्न सुरु गरेका छौँ। यो आधारमा आगामी वर्षको बजेट विनियोजन गर्ने लक्ष्य छ। केही काम गर्छु भन्ने भावना बोकेको मान्छे हो यो भनेर जसरी जनताले मत हाल्नुभएको छ, त्यो भावनाको उचित सम्मान र कदर गर्दै विकासको गति अगाडि बढाउनेमा मसिनो ढंगबाट योजना बनाउँदै छु। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.