|
फोटो : विवेक बस्याल

काठमाडौं : गत शुक्रबार फिल्म ‘गोपी’बाट नायिका वर्षा सिवाकोटी 'आउट' भएको खबर बाहिर आयो। सिवाकोटी आउट भएसँगै फिल्ममा वर्षा राउत 'इन' भएकी थिइन्। अहिले फेरि फिल्मबाट मुख्य कलाकार खगेन्द्र लामिछाने पनि 'आउट' भएका छन्। खगेन्द्रको ठाउँमा नायक विपिन कार्की 'इन' भएका छन्।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मबाट वर्षा सिवाकोटी र खगेन्द्र लामिछाने आउट भएको र वर्षा राउत र विपिन कार्की इन भएको जानकारी दिइएको हो। फिल्मको स्किप्टमा कुरा नमिलेपछि वर्षा र खगेन्द्रले फिल्म छोडेको निर्देशक दीपेन्द्र लामाले बताए। उनले भने, ‘वर्षालाई स्किप्ट चित्त बुझेँन रे त्यसैले फिल्म छोडिन्। तर खगेन्द्रसँग भने हाम्रो सोचाई नमिलेकाले सहमतिमा नै छुट्टिएका हौँ।‘

यदि फिल्ममा खगेन्द्र र वर्षा नहुँदा उनीहरूको विकल्प को भन्ने पहिल्यैदेखि दिमागमा राखिरहेको निर्देशक बताउँछन्। ‘यदि खगेन्द्र र वर्षा भएनन् भने को? भन्ने विषयमा विपिन र वर्षा हुनुहुन्थ्यो त्यहिँ भएर उहाँहरूलाई इन गराएका हौँ।’

विपिन फिल्मको स्किप्ट एकदमै मन परेकाले फिल्ममा काम गर्न लागेको बताउँछन्। भन्छन्, ‘मलाई एक दिनअघि मात्र उहाँहरूले स्किप्ट दिनुभएको हो। मैले रातारात स्किप्ट पढेर 'ओके' गरेको हुँ।‘ त्यस्तै नायिका वर्षा राउतले पनि आफ्नो भूमिका एकदमै मन परेकाले फिल्ममा काम गर्न तयार भएको बताइन्। अब भने फिल्ममा विपिन, वर्षा र सुरक्षा पन्तको मुख्य भूमिका रहने छ। सुरक्षा भने फिल्म घोषणादेखि नै टिममा छिन्।

भदौ १ गतेबाट छायांकनमा जाने भनिएको फिल्म केही दिनपछि सरेको छ। नायक विपिनले केही दिनको लागि वर्कसप गर्नुपर्ने बताउँदै तीन दिन सुटिङपछि सारेका हुन्। अब भने फिल्म भदौ ३ गतेबाट फ्लोरमा जानेछ। श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा आरोही केसीको लगानी रहेको छ। फिल्ममा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने छ।

शैलेन्द्र डि कार्कीले खिच्ने फिल्मलाई निमेष श्रेष्ठले सम्पादनको जिम्मा लिएका छन्। फिल्मलाई आगामी चैत १५ गते रिलिज गर्ने तयारी रहेको कार्यकारी निर्माता श्रीधरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.