|

एसियन खेलकुद प्रतियोगिता (एसियाड) को पहिलो खेलमा नेपाल जापानसँग १–० ले पराजित भएको छ। जकार्तामा रहेको नेपाली फुटबल टिमले आफ्नो उद्घाटन खेलमा जापानलाई १–० कै अबस्थामा रोक्न सफल भयो।

एसियाको पावरहाउसका रूपमा रहेको तथा यो प्रतियोगिताको उपाधि दाबेदार मानिएको जापानविरुद्ध संयमित प्रदर्शन गर्न नेपाल सफल भयो। नेपालका लागि कप्तान तथा गोलरक्षक किरण चेम्जोङको प्रदर्शन उत्कृष्ट रह्यो।

जापानसँग पराजित भए पनि नेपालको अघिल्लो चरण सम्भावना भने कायमै छ। समूह डीमा रहेको नेपालले प्रतियोगितामा अझै दुई खेल खेल्न बाँकी छ। समूह डीमा नेपालसहित जापान, भियतनाम र पाकिस्तान छन्। जापानले नेपालमाथि पूर्ण दबाबमा राख्दै खेलको सुरुवातमै अग्रता बनाएको थियो। सुरुवातबाटै आक्रामक बनेको जापानले खेलको सातौँ मिनेटमा मिटोमा करोउको गोलमार्फत खेलमा अग्रता बनायो। नेपालमाथि निरन्तर आक्रमणको प्रयास गरे पनि जापान थप गोल गर्न असफल भयो।

जापानले नेपालको पोस्टमा गरेका एक दर्जन प्रहारलाई गोलरक्षक किरण चेम्जोङले असफल बनाएका थिए। पहिलो हाफमा पाँच उत्कृष्ट प्रहार बचाएका चेम्जोङले दोस्रो हाफमा पनि जापानका निरन्तरका आक्रमण विफल पारे । जापानका हाटसुसे रयोले १५ मिनेटभित्रै दुईवटा शक्तिशाली प्रहार नेपालको पोस्टमा गरेका थिए।

नेपालले खेलमा एकमात्र प्रहार १७औँ मिनेटमा गरेको थियो। अभिषेक रिजालले गरेको एक मात्र प्रहारलाई जापानी गोलरक्षकले सहज बचाएका थिए। त्यसपछि नेपालले जापानको पोस्टमा प्रहार गर्न सकेन। नेपाल अधिकांश समय जापानलाई रोक्नमै व्यस्त रह्यो। उत्कृष्ट पास र राम्रो लयका साथ प्रदर्शन गरेको जापानसँग नेपालले जितको अपेक्षा नगरे पनि बराबरीमा रोक्दै इतिहास बनाउने कोसिस थियो। तर, १ गोलमै जापानलाई सीमित गर्नुलाई पनि नेपालको पछिल्लो उपलब्धिका रूपमा हेरिएको छ।

नेपालले जापानसँग अहिलेसम्मकै कम स्कोरको पराजय बेहो¥यो । सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाल पहिलोपटक जापानसँग ५–० ले पराजित भएको थियो। सन् १९९२ मा थाइल्यान्डमा भएको एसियन गेम्समा नेपाल पुनः ५–० ले नै पराजित भएको थियो। पछिल्लोपटक सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाललाई जापानले ४–० ले पराजित गरेको थियो। एसियाडमा समूह डीमा रहेको नेपालले बाँकी खेलमा भियतनाम र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले १६ अगस्टमा भियतनाम र  १९ अगस्टमा पाकिस्तानविरुद्ध खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.