|

सुनसरी:  कोशी तटीय क्षेत्र चतरामा सप्तकोशी नदीमा पानीको बहावले खतराको सीमा पार गरेको छ। बुधबार बिहान ८ बजेको मापन अनुसार चतरास्थित सप्तकोशीमा पानीको बहाव ६.१७ मिटर तहमा पुगेको छ।

सप्तकोशी नदीको चतरा मापन केन्द्रमा यो वर्षकै उच्च बहाव हो।  अबको दुई घण्टामा कोशीको चतराभन्दा तल सप्तरी र सुनसरीमा डुबानको खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ।

चतराबाट पानी बगेर कोशी ब्यारेजसम्म आइपुग्न चार घण्टा लाग्छ। बुधबार बिहानबाट बहाव बढेको रेडक्रसकर्मी रविन घिमिरेले जानकारी दिए। चतरामा मापन हुने बहावले ६ दशमलव ८ को आँकडा छोए पूर्ण रूपमा खतरा मानिन्छ। कोशीमा पानीको बहावमा उतार चढावको क्रम जारी रहे पनि सुनसरी प्रशासनले भने हालसम्म कुनै खतरा नरहेको जनाएको छ।

नदीका सबै स्परहरु सुरक्षित रहेको र वहाव सामान्य अवस्थामा रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए। तीन दिन अघिदेखि पानीको बहवमा उतार चढावक्रम जारी रहेको थियो। कोशी ब्यारेजमा भने बुधबार बिहान आठ बजे गरिएको मापन अनुसार १ लाख ९३ हजार ४१० क्युसेक प्रतिसेकेण्ड पुगेको थियो।

ब्यारेजका २५ ढोका खोलिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ। चतराबाट पानी बगेर कोशी ब्यारेजसम्म आइपुग्न चार घण्टा लाग्ने भएकाले अबको केही घण्टामा ब्यारेजमा पानीको बहाव बढ्ने बाढीविज्ञ विनोद पराजुलीले बताए। पूर्वी क्षेत्रमा केहीदिनयताको वर्षासँगै कोशी नदीमा पानीको बहाव उतार चढावको क्रममा छ।

सप्तकोशी नदीका साहयक नदीहरुमा पनि पानीको बहावमा बृद्धी भएकाले सप्तकोशी नदीमा बहाव बढेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.