|
फाइल फोटो

बैतडी : तीन दिनदेखि अवरुद्ध महाकाली राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुला सडकखण्डअन्तर्गत मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। 

बैतडीको पाटनबाट गएको स्काभेटरले पहिरो पन्छाउने काम भइरहे पनि लगातारको वर्षाका कारण समस्या भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए।  सोमबारदेखि नै डोजरले पहिरो पन्छाइरहे पनि सडकमाथिबाट ठूला चट्टान खसेकाले पन्छाउन समय लागेको उनको भनाइ छ। उनले भने, ‘डोजरले पहिरो पन्छाउन नसकेपछि मंगलबार अपराह्नपछि स्काभेटरको प्रयोग गरिएको छ।’

राजमार्गअवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन तीन दिनदेखि पूर्ण रुपमा बन्द छन्। दार्चुलाबाट काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, बैतडी तथा काठमाडौं, महेन्द्रनगर, धनगढी, बैतडीबाट दार्चुलाका लागि छुटेका सवारी साधन बीच बाटोमै रोकिएका छन्। 

पहिरो पन्छाउने कार्य जारी रहेकाले बुधबार अबेरसम्म राजमार्ग सञ्चालनमा आउने जनाइएको छ। यस क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.