|

भक्तपुर : भक्तपुर नवदुर्गा मन्दिरमा दशैँका लागि खम्ये (राँगो) भित्र्याइएको छ।  महानवमीको राती ब्रह्मायणी मन्दिरमा नवदुर्गा देवगणको सिद्धि प्राप्तिका लागि बलि दिन धार्मिक, साँस्कृतिक र ऐतिहासिक रूपले अत्यन्त महत्त्वपूर्ण मानिने खम्ये (राँगो) भित्र्याइएको हो। खम्ये घण्टाकर्ण चतुर्थीदेखि जनैपूर्णिमाभित्र नवदुर्गा देवगृहमा भित्र्याउने परम्परा रहेको छ।

महिषासुर राक्षसको प्रतीकको रूपमा लिइने खम्ये निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ र कानमा कुनै खोट नभएको, शरीरभरि कुनै घाउचोट नलागेको, शरीरमा सातवटा चक्र भएको, ठूलो र मोटोघाटो हुनुपर्ने देवगण भण्डारी सुरेश वनमालाले जानकारी दिए।

खम्येलाई द्‌योछें (देवगृह)मा भित्र्याउन तलेजु मन्दिरका पदाधिकारी गई खम्येको अवलोकन गरिसकेपछि मात्र सोही स्थानबाट खम्यलाई झिागां र लामखुट्टेले नटोकून् भनी तोरीको तेल लगाएर देवगृहमा ल्याउने परम्परा छ। देवगृहमा भित्र्याएपछि खम्येलाई जसले नवदुर्गा देवगृहको किलामा बाँध्छ सोही व्यक्तिले नै नवमीको दिनमा किलाबाट खोल्ने र आफैँ ब्रह्मायणी पिठमा गई बलि दिइने परम्परासमेत रहेको छ। 

खम्येलाई भित्र्याएपछि महानवमीसम्म भक्तपुर गछेंस्थित नवदुर्गा देवीको द्‌योछें (देवगृह) भित्र राखेर पाल्ने परम्परा रहेको छ। विधिवत रूपमा नवदुर्गा द्‌योछें भित्र्याइएको खम्येलाई महानवमीको साँझ ब्रह्मायणी लैजान मात्र बाहिर निकालिन्छ। सोही दिन खम्येलाई जाँड, रक्सी खुवाउने र शरीरभरि तेल लगाएर अवीर छरेर दौडाएर ब्रह्मायणी पिठ पुर्‍याउने प्रचलन रहेको छ।

महिषासुरको प्रतीक मानिएको खम्येलाई दौडाएर ब्रह्मायणी पुर्‍याउने परम्परालाई स्थानीय भाषामा खम्ये व्वाकेगु जात्रा (राँगो दौडाउने जात्रा)को रूपमा लिइन्छ, जुन विजयादशमीको अवसरमा भक्तपुरमा मनाइने एक महत्त्वपूर्ण जात्रा पनि हो। 

महानवमीको मध्यरातमा त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रूपमा पूर्ण हुने हुँदा त्यस रूपमा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरूप यस दिन खम्ये बलि पूजा गरी जात्रा मनाइँदै आएको इतिहास तथा संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताए।

कालरात्रिका क्रममा बध गरिएका निकुथु र खम्येको मासुका टुक्रा प्रसादका रूपमा घर लगी सुकुटी बनाई धुलो पारेर घ्यूमा मुछी धुप बनाइन्छ र लक्ष्मीपूजाको दिनमा बाल्ने चलन रहेको छ। उक्त धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले बास गर्ने जनविश्वास रहेको छ। 

पछिल्लो समय नवदुर्गालाई खम्ये चढाउनेको संख्या बढ्न थालेको छ। यस वर्ष भक्तपुर नगरपालिका- ३ देगमना निवासी मधुसूदन अवालले एक लाख सात हजार मूल्य बराबरको खम्ये नवदुर्गालाई चढाएका हुन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.