|

दैलेख : कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा विशेष रूपमा बसोबास गर्ने र दैलेखलाई अलिक धेरै माया गर्ने फिरन्ते जीवन बिताउँदै आइरहेका लोपोन्मुख राउटे समुदाय र उनीहरूले बोल्ने भाषासमेत लोप हुँदै जाने खतरा बढेको छ। 

राउटे समुदाय आफूलाई जंगलको राजा मान्ने गर्छन्। केटाकेटी अवस्थादेखि नै उनीहरूले खाम्चि भाषा बोल्ने गर्छन्। उनीहरूको भाषा अन्य समुदायले बुझ्दैनन्।
राउटे समुदायले बोल्ने खाम्ची भाषा अहिलेसम्म लिपिबद्ध गरिएको छैन। त्यो भाषा विस्तारै हराउँदै जान थालेको छ। आफ्ना समुदायभित्र मात्रै बोलिने यो भाषा अरूले जान्न उत्सुक हुँदा पनि उनीहरूले सिकाउन नमान्ने भएकाले पनि समुदायको लोपसँगै उनीहरूले बोल्ने भाषासमेत लोप हुन सक्ने अवस्थामा रहेको राउटेका जानकार तथा पत्रकार महासंघ दैलेखका पूर्वअध्यक्ष विष्णु शर्मा बताउँछन्। 

राउटे समुदायहरू पढ्न र लेख्न रुचि राख्दैनन्। त्यसैले पनि उनीहरूको भाषा लिपिबद्ध गर्न समस्या छ। ‘तपाईंहरू अब कहाँ जाने?’ भन्दा मुखिया सूर्यनारायण शाहीले आफ्नै भाषामा जवाफ फर्काए– ‘गुनेकनी मनमनै ख्वाकने?’ उनीहरूको भाषामा गुनेकनीको अर्थ रहेछ जाने स्थान अर्थात् गन्तव्य, मनमनैको अर्थ वनजंगल र ख्वाकनेको घुम्ने। समूहमा रहेकाले राउटेको निश्चित बसाइ, जीवनशैली र रहनसहन नभएकाले खाम्ची लिपिबद्ध हुन नसकेको बताइन्छ। यो भषा उनीहरूले बोल्नका लागि मात्र प्रयोग गर्छन्। लेख्न कसैले पनि नजान्ने भएकाले अक्षरका बारेमा कसैलाई थाहा छैन।

मुखिया सूर्यनारायणले आफूहरूको भाषा बोलीचालीमा सीमित रहेको बताए। ‘पुर्खौंदेखि यही बोलिरहेका छौँ’, उनले भने, ‘बोलीचालीबाटै सन्तानले सिक्ने हुन्।’ गैरराउटेका लागि भाषा बुझ्न जति कठिन छ, उत्तिकै लेख्न पनि। अन्य मानिससँगको घुलमिलका आधारमा राउटेहरूले नेपाली भाषा बुझ्ने र बोल्ने गर्छन्। समुदायका अगुवाहरूबाहेक अरूले नेपाली भाषा बुझ्दैनन्। दिनरात छाप्रोमै बिताउने बालबालिका तथा महिलाहरूले बढीजसो खाम्ची बोल्छन्। पुरुषहरू कन्दमूल खोज्न, सिकार खेल्न, कोसी, मुधुस जस्ता साम्रगी बेचेर अनाज संकलन गर्न जाने भएकाले उनीहरूले नेपाली भाषा बोल्न सिकेको पाइन्छ।

राउटे संस्कृतिका जानकारहरूका अनुसार खाम्चीलाई खाम्सी पनि भन्ने गरिन्छ। यो भाषा तिब्बत बर्मेलीसँग मिल्दोजुल्दो हुन्छ। हाल राउटे समुदाय दैलेखको गुराँस गाउँपालिका नजिकै बस्दै आएका छन्। 

अक्षर नबुझ्ने राउटेलाई परिचयपत्रको नत्थी

सरकारले प्रदान गर्ने भत्तालाई प्रमुख प्राथमिकतामा राउटेले राख्दै आएका छन्। फिरन्ते समुदाय भएकाले उनीहरू जुन स्थानीय सरकारको जंगलमा बसोबास गर्ने गर्छन्, सोही स्थानमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने विगतको प्रचलन रहेको भए पनि पछिल्ला दिनहरूमा आफ्नो नाम र परिचयपत्रको बारेमा थाहा नपाएका राउटे समुदायलाई परिचयपत्र प्रदान गरेर नत्थी लगाएको झैँ भएको छ। भत्ताकै आशले उनीहरूले परिचयपत्र बुझेका छन्। परिवर्तन हुने कुरामा पनि उनीहरूलाई केही सहजता हुने देखिएको छ। एक दिन भत्ता बुझ्दा परिचयपत्र देखाउने अरू समय देखाउनु नपर्ने उनीहरूबताउँछन्। 

जंगलको राजा ठान्ने राउटे समुदायमा केही परवर्तनका संकेतहरू देखिन थालेका छन्। खोला नजिक बस्ने, कुवा वा खोलाको पानी सजिलै प्रयोग गर्ने यो समुदायलाई अहिले शुद्ध खानेपानीको व्यवस्थापन गरिदिएपछि पाइपमा आएको पानी पिउन सुरु गरेका छन्। सरसफाई हुनुपर्छ भन्नेतर्फ ध्यान गएको छ। जडिबुटीकै भर पर्ने यो समुदाय अहिले औषधि सेवन गर्न र घाउचोट लागेको ठाउँमा औषधि गर्न तत्पर देखिएको छ। सबै समानहरू खरिद गरेर बिक्री केन्द्र स्थापना गरिदिएपछि समुदायले निर्माण गर्ने कोसी, मदुस र अन्य सामानहरू बेच्न बजार धाउनुपर्ने समस्या पनि अहिले समाधान भएको छ। गुराँस गाउँपालिका र स्थानीय सामाजिक सेवा केन्द्र सोसेकअन्तर्गत परिवर्तनका लागि पहल थालिएको छ। 

फिरन्ते राउटे समुदायमा रहेका बालबालिकाहरू सधैँजसो जोखिममा हुने र समस्या बढ्दै जान थालेपछि अहिले गाउँपालिका र सामाजिक सेवा केन्द्र सोसेकले उनीहरूको बस्ती नजिकै तीन जना सहजकर्ताहरूको व्यवस्थापन गरेका छन्। स्वास्थ्य कार्याकर्तासँगै एक जना महिला र एक जना पुरुषले समुदायमा आउने ठूला खाले समस्याहरूको बारेमा बाहिरैबाट अध्ययन अवलोकन गर्ने र सोबाट बचाउन सकिने उपायहरूको खोजी गर्ने अनि गाउँपालिका अध्यक्षलाई खबर गर्ने गरेको हीरासिंह थापाले जानकारी दिए।

मद्यपानको सिकार बन्दै राउटे युवा

राउटे समुदायका युवायुवती र बालबालिकाहरू अधिकांश मदिरा सेवन गर्ने गर्छन्। अधिकांश समय समुदायका मानिसहरू मदिरामै लट्ठ हुने भएकाले उनीहरूको परिवर्तनका लागि मदिरा निकै चुनौतीपूर्ण रहेको छ। विशेष गरेर बस्तीमै चामल र अन्नको मदिरा निर्माण गर्ने राउटे समुदायहरू पछिल्ला दिनहरूमा लिची जस्ता अन्य मदिराका कारण कमजोर बन्दै गएको भन्दै गाउँपालिकाले अहिले राउटे समुदायलाई कसैले पनि मदिरा बिक्री नगर्न भन्दै उर्दी जारी गरेको छ। समुदायमा जाने जो कोही व्यक्तिसँग पनि केही रकम माग्ने र उक्त रकमले मदिरा र सुर्तीजन्य वस्तु किनेर खाने बानी परेका छन् राउटेहरू। 

राउटे समुदायको कोही मान्छे मर्नेवित्तिकै ठाउँ छाड्ने परम्परा छ। यो समुदाय अहिले दैलेख जिल्लाको गुराँस गाउँपालिका नजिकैको गोगनपानी जंगलमा बस्दै आएको छ। बस्तीमा प्रदान गरिएको सामान राउटे समुदायले निकै सस्तोमा बिक्री गर्ने र मदिरा सेवन गर्ने प्रचलन बढेपछि गाउँपालिकालाई राउटे बस्ती नजिकका व्यापारीहरूलाई उनीहरूले बिक्री गर्ने कोसी, मदुसबाहेक अन्य सामान किनेमा पाँच हजार रुपैयाँसम्म जरिवाना लगाउने तयारी गरेको गाउँपालिका अध्यक्ष खेमराज वलीले जानकारी दिए। 

मदिरा सेवनलाई जथाभावी रूपमा प्रयोग गर्ने समुदायका युवती, बालबालिका र वृद्धहरूमा चुनौती कायमै रहेपछि बाहिरको मदिराभन्दा घरमै निर्माण गरेको मदिरा र जाँडसम्म खान पाउने गरी काम सुरु गरिएको छ। गुराँस गाउँपालिका वरपर मात्र बसोबास गरून् भन्ने उद्देश्यले उनीहरूले निर्माण गरेका सामग्रीहरू एकमुष्ठ खरिद गरिदिने र बिक्री केन्द्रमार्फत् बिक्रि गर्न सुरु गरिएको छ। बस्ती यताउता जाँदा सोध्ने काम गर्नुपर्ने कुरामा राउटे चनाखो देखिएका छन्। गुराँस गाउँपालिकाले राउटे समुदायलाई परिचयपत्र प्रदान गरेर स्थायी बासिन्दा बनाउने अभियान थाले पनि अहिले राउटे समुदायवीच विवाद चुलिएको छ। 

स्थायी बसोबास, खेतीपाती, लेखपढलाई महाशत्रु ठान्ने राउटे समुदायले विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले प्रदान गरेका सामग्रीसमेत बेचेर मदिराजन्य पदार्थ सेवन गर्ने गरेका छन् भने एकै ठाउँमा बस्न मान्दैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.